मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

विद्यालयलाई ‘डिजिटल’ बनाउन कुश्मा नगरपालिकाका १३ विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम

फाल्गुन १७, २०८०

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयहरूलाई ‘डिजिटल’ बनाउँदै लैजाने योजना अनुसार विभिन्न १३ वटा विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु गरेको छ।
विद्यालयका हरेक क्रियाकलापहरूलाई ‘डिजिटल’ रूपमा व्यवस्थापन गर्नको लागि ‘कोड लजिक टेक्नोलोजिज’ ले तयार पारेको ‘स्मार्ट स्कुल’ ‘एप्लीकेशन’ को प्रयोगलाई विस्तार गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले बताए। गत आर्थिक वर्षमा परीक्षणको रूपमा शिवालय माध्यमिक विद्यालय कुश्मा र पाङधैरेनी माध्यमिक विद्यालय पाङमा कार्यक्रम लागू गरिएकोमा यस वर्ष थप ११ विद्यालयमा कार्यक्रम लगेर १३ विद्यालयलाई ‘डिजिटल’ माध्यममा लैजान प्रयास भइरहेको हो।
यस वर्ष नारायण माध्यमिक विद्यालय कुश्मा, शिवालय माध्यमिक विद्यालय कुश्मा, सार्वजनिक माध्यमिक विद्यालय कटुवाचौपारी, जनक माध्यमिक विद्यालय थुम, काफलचौर माध्यमिक विद्यालय दुर्लुङ, नुवार सुवेदीथर माध्यमिक विद्यालय पाङ, कालिका माध्यमिक विद्यालय खुर्कोट, मंगलोदय माध्यमिक विद्यालय चुवा, जनता सुदर्शन माध्यमिक विद्यालय ठूलीपोखरी, पञ्चाकोशी माध्यमिक विद्यालय आर्थर र विश्वज्योती माध्यमिक विद्यालय शिल्मीमा कार्यक्रम थप गरिएका हुन्।
झन्डै पाँच लाख रुपैयाँको लागतमा ११ वटा विद्यालयमा लागू गरिएको विद्यालय ‘सफ्टवेयर’ लाई विद्यालयहरूले प्रभावकारी रूपमा प्रयोग गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाएमा आगामी वर्षहरूमा निरन्तरताका लागि आवश्यक पर्ने बजेटमा सघाउन सकिने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वर गिरी बताउँछन्। परीक्षणको रूपमा लागू गरिएका विद्यालयहरूबाट सकारात्मक प्रतिक्रिया आएको र ती विद्यालयमा काम गर्न समेत सहज भएपछि अन्य विद्यालयहरूको माग अनुसार यस वर्ष धेरै विद्यालयमा योजना लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए।
‘पहिले नगरपालिका सभाले शिक्षाका लागि एक करोड ४० लाख दियो, पछि ७० लाख दियो, अहिले ३० लाख दिएको छ। यसबाट खेलकुददेखि विद्यालयमा सहयोगसम्मका कार्यक्रमहरू गर्नुपर्छ। रकम अभाव भएकै कारण चाहेर पनि अरू विद्यालयमा यस वर्ष सहयोग गर्न सकिएन’, उनले भने, ‘यो सफ्टवेयर प्रयोग गरेका विद्यालयबाट लेखा प्रणाली व्यवस्थापनदेखि परीक्षा सञ्चालनसम्मका सबै कामहरू निकै सहज तरीकाले भएपछि अन्य विद्यालयलाई पनि यो फाइदा पुगोस् भनेर लागिएको छ।’
नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीका अनुसार करिब पाँच लाख रुपैयाँको लागतमा नयाँ विद्यालयहरूमा ‘सफ्टवेयर’ राखिएको हो। यसबाट विद्यार्थीको व्यवस्थापन तथा तथ्याङ्क, शिक्षक तथा कर्मचारीहरूको तथ्याङ्क, परीक्षा सञ्चालन, लेखा प्रणालीको व्यवस्थापन, विद्यालयमा रहेका पूर्वाधारहरूको एकीकृत तथ्याङ्क, भर्चुअल रूपमा सञ्चालन गरिने कक्षा लगायतका विशेषताहरू रहेकाले विद्यालयले यसबाट धेरै फाइदा लिन सक्ने उनको भनाई छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive