बुध, असार ४, २०८२
Wed, June 18, 2025

तेस्रो राष्ट्रिय मगर महोत्सव : बिहीबार श्याम र सिम्रनका सांगितिक प्रस्तुती रहने

फाल्गुन १७, २०८०

पर्वत : पर्वतको बडागाउँमा जारी तेस्रो राष्ट्रिय मगर महोत्सवमा बिहीबार लोक तथा दोहोरी गायक श्याम रानादेखि सुगम संगितमा रुचाइएकी बागलुङकी कलाकार सिम्रन परियार लगायतले सांगितिक प्रस्तुतीहरु राख्दै छन्।
बुधबार समीक्षा अधिकारी लगायतका कलाकारहरुले स्टेज तताएको महोत्सवमा बिहीबार लोक तथा दोहोरी तर्फ जमेका कलाकाहरुको रमाईलो लाईभ दोहोरी सहतिका सांगितिक प्रस्तुतीहरु रहने छन्। बिहीबार नै पार्वती जि.सी र कमला गैरेले पनि आफ्ना प्रस्तुतीहरु राख्दै छन्।
४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना भएको हो। फागुन १५ गतेदेखि सुरु भएको महोत्सव बिहीबार तेस्रो दिनमा चलिरहेको छ।
विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै आइरहेको पुन युवा क्लबको आयोजनामा मेलालाई महोत्सवमा परिणत गर्दै यस पटक फागुन १५ गतेदेखि २६ गतेसम्म तेस्रो संस्करणको आयोजना गरिएको हो। क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक कृष्ण बहादुर पुनका अनुसार ‘कला, संस्कृतिको संवर्द्धनमा ऐक्यबद्धताः खेल, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो।
महोत्सवका मुख्य उद्देश्य मगर सहित अन्य जातीजातीहरुको संस्कृति र परम्परा झल्किने पौराणिक र परम्परागत सामग्रीहरू राखिएको मगर सङ्ग्रहालय स्थापना गर्नु रहेको छ। यस अघिका पहिलो र दोस्रो मगर महोत्सवमा पनि सोही उद्देश्य राखिएको थियो। तर ती महोत्सवबाट बचत भएको रकमले मात्रै सङ्ग्रहालय स्थापना गर्न नपुग्ने तथा सङ्ग्रहालयसम्म पुग्ने बाटोको निकासका लागि पनि थप रकम आवश्यक पर्ने भएपछि तेस्रो मगर महोत्सवले पनि सङ्ग्रहालयलाई नै प्राथमिकतामा राखेको छ।
यस्तै पर्वतको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनमा सहयोग पु¥याउने, खेलकुद, कला तथा संस्कृतिको विकासमा टेवा पु¥याउने, कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्ने र मगर समुदायको पुरानो संस्कृतिको संरक्षण तथा संवर्द्धनमा मद्दत गर्नु पनि महोत्सवका उद्देश्य छन्।
यस संस्करणको आकर्षणका रूपमा पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, पालिका स्तरीय महिला भलिबल प्रतियोगिता, पालिका स्तरीय प्रौढ भलिबल प्रतियोगिता, पुर्ख्यौली नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, लोक भजन चुड्का प्रतियोगिता, कृषि प्रदर्शनी, बाल उद्यान, शैक्षिक प्रदर्शनी, स्थानीय खानाका परिकार, विश्वकै दोस्रो अग्लो बन्जी जम्प, केबलकार, झोलुङ्गे पुल, गुफाहरू सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक साङ्गीतिक प्रस्तुति लगायत राखिएका छन्।
पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहले पुरस्कार स्वरूप क्रमशः दुई लाख दुई हजार दुई सय २२, एक लाख एक हजार एक सय ११ र ५० हजार एक सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्। पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा पहिलो र दोस्रो हुनेले क्रमशः ५५ हजार पाँच सय ५५ र ३३ हजार तीन सय ३३ रुपैयाँ तथा पालिका स्तरीय प्रौढ भलिबल प्रतियोगितामा पहिलो र दोस्रो हुनेले क्रमशः ७७ हजार सात सय ७७ र ४४ हजार चार सय ४४ रुपैयाँ नगद पाउने छन्।
यस्तै पुर्ख्यौली नृत्य पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ, रत्यौली गीत प्रतियोगिता र लोक भजन चुड्का प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः समान २० हजार, १५ हजार र आठ हजार रुपैयाँ पाउने छन्।
करिब दुई सय वटा व्यावसायिक स्टलहरू रहने महोत्सवको यो संस्करणमा करिब ७२ लाख रुपैयाँ आम्दानी हुँदा ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न १८ वटा उपसमितिहरू निर्माण गरिएका छन्। पुन क्लबको आयोजनामा यसअघि ३७ औँ मगर एकता दिवसको अवसरमा २०७५ सालमा, ३९ औँ दिवसमा २०७७ सालमा महोत्सवको आयोजना भएको थियो।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive