शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

पर्वतका स्थानीय तहमा आधारभूत तहको परीक्षा पनि एसइईकै मोडलमा

चैत्र १७, २०८०

पर्वत : संविधानमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिइएको छ। विद्यालय संरचना अनुसार कक्षा १२ सम्मलाई माध्यमिक तह भनिन्छ। तर कक्षा १० अन्त्यमा लिइने एसइई परीक्षा र कक्षा १२ को अन्त्यमा लिइने परीक्षाको प्रश्न पत्र निर्माण तथा परीक्षा सञ्चालनको काम केन्द्रीकृत रूपमा नै भइरहेका छन्।
केन्द्रबाट सञ्चालन भइरहेका परीक्षामा अतिथिको भूमिकामा रहेका स्थानीय तहहरूले कक्षा ८ को अन्त्यमा लिइने आधारभूत तहको परीक्षालाई भने परिष्कृत गराउँदै लैजाने अभ्यास गरिरहेका छन्। आधारभूत तहको अन्तिम परीक्षालाई एकीकृत रूपमा सञ्चालन गर्दा आफ्नो स्थानीय तहमा रहेका विद्यालयहरूको शैक्षिक अवस्था थाहा हुने र स्थानीय तहको असल अभ्यासका रूपमा पनि देखिने भएकाले स्थानीय तहहरूले आठ कक्षाको अन्त्यमा लिइने बीएलइ (बेसिक लेभल इक्जामिनेसन) मा मिहिनेत गरिरहेका छन्।
जिल्लाको जलजला गाउँपालिकाले चालू शैक्षिक सत्रदेखि विद्यालय तहका कक्षा एकदेखि नौ सम्मको परीक्षामा जिल्लाकै उदाहरणीय बनाएको छ। त्रैमासिक परीक्षाहरूलाई समेत पालिका स्तरमा सञ्चालन गरेको जलजलाले सबै कक्षाको वार्षिक परीक्षाका लागि केन्द्रहरू नै तोकेर चलायो। उत्तर पुस्तिका गाउँपालिकाको केन्द्रमा नै लगेर विषय शिक्षकहरू बोलाएर परीक्षणको काम भइरहेको छ। एक शिक्षकले अध्यापन गरेका उत्तर पुस्तिका अर्को शिक्षकबाट परीक्षण गर्दा शिक्षक, विद्यार्थी, विद्यालय र समुदायमा रहेका समस्याहरू पत्ता लाग्ने भएकाले परीक्षालाई एसइईकै मोडलमा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए।
‘यसरी परीक्षा चलाउँदा विद्यार्थीको वास्तविक क्षमता पहिचान हुन्छ। प्राप्त नतिजाको विश्लेषण गर्दा शिक्षण सिकाइको कुन पक्षमा सुधार गर्नुपर्ने हो त्यो कुरा पत्ता लाग्छ। नतिजा विश्लेषणपछि थप कार्यक्रम सार्वजनिक गर्ने हो’, उनले भने, ‘कक्षा आठको परीक्षा मात्रैलाई पनि पालिका स्तरमा चलाउँदा समस्या र गुनासो आउने ठाउँमा हामीले बाल कक्षा देखि नौ कक्षा सम्मकै परीक्षा राष्ट्रिय परीक्षा बोर्डकै शैलीमा चलायौँ। यो एक वर्षको अथक प्रयासपछि हामी सिकाइको अवस्थामा विश्लेषण गर्ने छौँ। सोही अनुसारको नयाँ व्यवस्थापन सहित नयाँ शैक्षिक सत्र सुरु गर्ने हो।’
जिल्लाको कुश्मा नगरपालिकाले पनि कक्षा आठको परीक्षामा राष्ट्रिय परीक्षा बोर्डकै शैलीमा सञ्चालन गरेको छ। विज्ञ समूह बनाएर निर्माण गरिएका प्रश्न पत्र सिलबन्दी गरेर परीक्षा केन्द्रहरूमा पठाएको कुश्माले उत्तर पुस्तिकाहरू नगरपालिकाको शिक्षा शाखामा नै ल्याएर परीक्षण गरेको छ। विषयगत रूपमा १० जना शिक्षकहरू राखेर उनीहरूबाट परीक्षण र सम्परीक्षणको काम सकेर अहिले प्राप्ताङ्कलाई इमिसमा राख्ने काम चलिरहेको शिक्षा अधिकृत दीपक सुवेदीले बताए।
‘हाम्रा विद्यालयहरूको अवस्था के रहेछ भन्ने बारेमा यसले स्पष्ट पारेको छ। विगतमा पनि प्रश्न पत्र त नगरपालिकाले नै तयार पार्दै आएको हो। यस पटक भने उत्तर पुस्तिका नै नगरपालिकामा ल्याएर परीक्षण गरिएको छ’। उनले भने, ‘यसले कुन विद्यालयको अवस्था के रहेछ भनेर प्रस्ट्याएको छ। अब ती विद्यालयको सुधारका लागि के गर्न सकिन्छ भन्ने कुराको योजना बनाएर नयाँ शैक्षिक सत्रमा विद्यालयहरूलाई कार्ययोजना तय गर्न लगाउने हो।’
जिल्लाको दक्षिणमा रहेको पैयुँ गाउँपालिकाले पनि निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा आठको परीक्षालाई चार वटा माध्यमिक विद्यालयमा केन्द्र तोकेर परीक्षा सञ्चालन ग¥यो। गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीका अनुसार स्थानीय तहले प्रत्येक परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष र एक जना निरीक्षक खटाएर परीक्षा चलाएको थियो। गुणस्तरीय शिक्षाको प्रत्याभूति गरी शिक्षामा गुणस्तर कायम गर्नको लागि आठ कक्षाको परीक्षालाई एसइई कै मोडलमा चलाइएको उनको भनाइ छ। परीक्षाका तथ्यहरूको विश्लेषण गरी शैक्षिक सुधारको योजना तयार पार्नका लागि यो विधि पनि उपयुक्त हुने ठकुरीले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive