पर्वत : सर्वसम्मत हुन नसकेपछि अन्ततः निर्वाचनमा पुगेको नपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्ष गोविन्द पहाडी निर्वाचित भएका छन् ।
आफ्ना प्रतिद्धन्द्धी पदमपाणी शर्मालाई एक सय २१ मतको अन्तरले पराजित गरेका हुन्। पहाडीको पक्षमा दुई सय ४८ मत आउँदा शर्मालाई एक सय २७ मत प्राप्त भएका छन् । अध्यक्ष सहित पाँच सदस्यी पदाधिकारीमा नै पहाडी पक्षका उम्मेदवारहरुले जीत हात पारेका छन् ।
उपाध्यक्षमा विमल लामिछानेले प्रतिस्पर्धी मिन प्रसाद श्रेष्ठलाई ६९ मतले पराजित गरेका छन्। लामिछानेको पक्षमा दुई १७ मत आउँदा श्रेष्ठको पक्षमा एक सय ४८ मत परेका छन् । सचिवमा सुवासचन्द्र पौडेलले शिव प्रसाद पौडेललाई १६ मतले पराजित गरेका छन् । सुवासको पक्षमा एक सय ८८ मत आउँदा शिवलाई एक सय ७२ मत आएका छन् । यस्तै उपसचिव पदमा चण्डी प्रसाद भुर्तेलले जीवन विक्रम उचैलाई १६ मतले नै पराजित गरेका छन्। भुर्तेलले एक सय ८८ मत पाउँदा उचैले एक सय ७२ मत पाएका छन् ।
यस्तै महिला उपसचिवमा विन्दु अधिकारीले सरिता भण्डारीलाई ७१ मतको अन्तरमा पराजित गरेका छन्। अधिकारीले दुई सय १६ मत पाउँदा भण्डारीले एक सय ४५ मत पाएका छन् ।
एमाले पर्वतको १० औँ अधिवेशन गत मङ्गलवारदेखि सुरु भएको थियो । सुरुबाट नै सहमतिका लागि नेताहरूबिच कुरा हुँदै आएको भए पनि नवौँ महाधिवेशनमा जस्तो सर्वसम्मतको सम्भावना देखिएको थिएन । मुख्य गरी वर्तमान कानुन न्याय तथा संसदीय मामिला मन्त्री. पदम गिरी र राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना गरेर एमाले पर्वतमा दुई ‘प्यानल’ देखिएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) पर्वतको अवस्था पनि प्रदेश राजधानी समेत रहेको कास्की जिल्लाकै जस्तो रह्यो । गण्डकी प्रदेशमा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी समेत रहेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको प्यानलबिच कुरा नमिल्दा अधिवेशन चुनावमा पुगेको थियो । पि.एस. (पृथ्वी सुब्बा) र अधिकारी गुटले कास्कीमा जस्तो प्रभाव पारेको थियो पर्वतमा पनि त्यस्तै परिणाम आएको छ । दुवै शक्ति गण्डकी प्रदेशबाट भएकोले उनीहरूबिच आफ्नो पकड कायम गर्ने होडबाजी चल्दै आइरहेको छ ।
मन्त्री गिरीको प्यानल प्रदेशमा खगराज अधिकारी पक्षमा झुकाव राख्छ भने तिमिल्सिना पक्षले पृथ्वी सुब्बाको समूहमा झुकाव राख्छ ।
नवौँ महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष बनेका राजु प्रसाद पौडेलले फेरि पनि आफू नै अध्यक्षमा दोहोरिन खोजेका थिए । उनकै पक्षधर मानिने उपाध्यक्ष पदमपाणी शर्माले पनि अध्यक्षमा दाबी गरे। तर ‘प्यानल’ नै बनाएर चुनावमा जानुपर्ने अवस्था आएपछि पौडेल ‘ब्याक’ हुँदै शर्माले आफ्नो गुटको उम्मेदवारको रुपमा अगाडि सारे ।
नवौँ महाधिवेशनबाट सचिव बनेका गोविन्द पहाडीले पनि अध्यक्षमा लड्ने मनस्थिति बनाएका थिए । राजुप्रसाद पौडेलले पदमा दोहोरिन खोजेपछि त्यो गर्न नहुने पक्षमा मन्त्री गिरीको ‘प्यानल’ थियो । गिरीको पक्षबाट पहाडी पनि ‘ब्याक’ नहुने भएपछि अधिवेशन अन्ततः निर्वाचनमा धकेलिएको थियो ।
बिहिबार, अशोज १७, २०८१
Thursday, October 3, 2024