पर्वत : नेपाल शिक्षक सङ्घका सङ्घीय अध्यक्ष सोमनाथ गिरीले वर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठ जन्मनुभन्दा पहिले नै जन्मिएका संस्थाहरूमाथि मन्त्री सुमनाले नै धावा बोल्न नहुने बताएका छन् ।
सङ्घको ३५ औँ स्थापना दिवसको अवसर पारेर जिल्ला कार्यसमिति पर्वतको आयोजनामा शनिवार भएको ‘स्मारिका विमोचन तथा निवृत्त शिक्षक सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले गरिरहेका कतिपय क्रियाकलापका कारण शिक्षकहरूमा त्रास पैदा भएको भन्दै उनले त्रास मान्नुपर्ने अवस्था भने नरहेको उल्लेख गरे ।
‘सुमना जन्मनुभन्दा पहिल्यै जन्मिएर शिक्षा मात्रै होइन सामाजिक परिवर्तनका लागि पनि काम गरेका सङ्घ संस्थामाथि किन धावा बोल्ने ? अर्को कुरा उहाँको एउटा सूचनामा नै डराउनुपर्दैन’, अध्यक्ष गिरीले भने, ‘कति शिक्षकहरू सहिद हुनुभएको छ । उहाँहरूले घाँटीमा खुकुरी राखेर जीवनदान माग्न लगाउँदा पनि प्रजातन्त्रको पक्षमा बोल्न छाड्नुभएन । घाँटीमा खुकुरी राख्दा नडराएका शिक्षक सूचनासँग डराइहाल्नु पर्दैन ।’
वर्षौँ अगाडिदेखि सङ्गठित भएर शिक्षा क्षेत्रको पक्षमा मात्रै नभएर नेपालका ठुला क्रान्तिहरूमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शिक्षकका पेसागत सङ्घ÷सङ्गठनमाथि कसैले अनावश्यक धावा बोल्न आवश्यक नरहेको अध्यक्ष गिरीको भनाइ छ । अहिले मन्त्रीले दलीय आबद्धतामा रहेका शिक्षकहरूलाई कारबाही गर्ने कुरा सुमनाले बोलिरहेको भए पनि त्यो व्यवस्था भने यस अगाडि नै दलहरूले नै सहमतिमा निर्माण गरिसकेको उनले बताए ।
‘शिक्षक साथीहरूले कुरा बुझ्न पनि आवश्यक छ भने यो नियम अहिले सुमनाले बनाउनुभएको पनि होइन फेरि । राजनीतिक दलहरू सबैको सहमतिमा राजनीतिक दल सञ्चालन ऐन, २०७२ निर्माण भएको छ,’ अध्यक्ष गिरीले भने, ‘त्यसमै राजनीतिक दलहरूले शिक्षक तथा कर्मचारीहरूले कुनै दलको सदस्यता लिन नपाउने भनेर सहमति गरेका छन् ।’
शिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षकहरुले राजनीतिक दलको सदस्यता लिएको भएमा उनीहरूलाई कारबाही गरिने बताउँदै आएकी छिन् । उनको निर्देशन अनुसार अहिले शिक्षा विकास तथा समन्वय इकाईमार्फत स्थानीय तहहरूमा पत्र पठाएर राजनीतिक दलमा आबद्ध भएका शिक्षकहरूको सूची माग्ने काम चलिरहेको छ । स्थानीय तहले विवरण नपठाए पनि दलमा आबद्ध भएका शिक्षकहरू रहेको भएमा केन्द्रमा नै सिधै जानकारी दिन सकिने मन्त्री श्रेष्ठले बताएकी छिन् । तर शिक्षक तथा निजामती कर्मचारीहरूले भने शिक्षक आफ्नो पेसागत सङ्गठनमा रहन पाउने बताउँदै आएका छन् ।
कार्यक्रममा बोलेका शिक्षक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछानेले सङ्घले प्रदेशका शिक्षकहरूको लागि तालिम र शिक्षण सिकाइमा सहज हुने गरी विभिन्न तयारीहरू गरिरहेको बताए । शिक्षकहरूको हक अधिकारका लागि लड्ने भनेर स्थापना भएको शिक्षक महासङ्घकै अधिवेशन सात वर्षसम्म हुन नसक्नुले नराम्रो उदाहरण दिएको उनको भनाइ छ ।
कार्यक्रममा शिक्षक सङ्घका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो । सोही अवसरमा गत एक वर्षको अवधिमा पर्वतका विभिन्न स्थानीय तहहरूबाट सेवाबाट अवकाश लिएका तथा शिक्षक सङ्घमा आबद्ध भएका २६ जना शिक्षकहरूलाई बाँकी समयको कुशलताको कामना गर्दै सम्मान गरिएको छ । सोही अवसरमा शिक्षक सङ्घ पर्वतले पहिलो पटक तयार पारेको स्मारिका ‘शिक्षक सौरभ’ को पनि विमोचन गरिएको छ ।
यस्तै, नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले शिक्षा मन्त्री श्रेष्ठले ‘थाल ठटाएर हात्ती तर्साउने’ काम गरिरहेको बताउँदै राम्रा कामका लागि भने सबैको सहयोग आवश्यक हुने बताए ।
गृह मन्त्रालयको मुख्य व्यक्तिसँगै दोहोरो नागरिकता र दोहोरो राहदानी हुनु तथा उही व्यक्ति सहकारी ठगी प्रकरणमा मुछिँदा मन्त्रालय तथा नेपाली राजनीतिबारे नराम्रो खबर अन्तर्राष्ट्रिय जगतमा पुगेको उनको भनाइ छ । नेपालमा लोकतन्त्र ल्याउनका लागि खटेका शिक्षकहरूलाई एउटा मन्त्रीले मनलाग्दी शैलीमा पेल्न खोज्नु दुःखद भएको भन्दै सभापति जोशीले मन्त्रीको कार्यशैलीमा विरोध जनाए । शिक्षकले नै ल्याएको लोकतन्त्रमा शिक्षककै बोल्ने अधिकारलाई हनन गर्न नहुने भन्दै सभापति जोशीले शिक्षकले विद्यालयमा दिइरहेको गुणस्तरका बारेमा जानकार रहनुपर्ने भनाइ राखे ।
कार्यक्रममा बोलेका शिक्षक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, सङ्घका केन्द्रीय सदस्य रुद्र सुवेदी, सङ्घ पर्वतका संस्थापक अध्यक्ष वसन्तबहादुर सि.के., प्रदेशका उपमहासचिव विष्णुप्रसाद शर्मा, कास्कीका अध्यक्ष राजु क्षेत्री लगायतले पनि बोलेका थिए । कार्यक्रममा शिक्षक सङ्घका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।
सोही अवसरमा गत एक वर्षको अवधिमा पर्वतका विभिन्न स्थानीय तहहरूबाट सेवाबाट अवकाश लिएका तथा शिक्षक सङ्घमा आबद्ध भएका २६ जना शिक्षकहरूलाई बाँकी समयको कुशलताको कामना गर्दै सम्मान गरिएको छ ।
सोही अवसरमा शिक्षक सङ्घ पर्वतले पहिलो पटक तयार पारेको स्मारिका ‘शिक्षक सौरभ’ को पनि विमोचन गरिएको छ । उक्त स्मारिका झलक पौडेल र घनश्याम पौडेलको भाषा सम्पादन, पार्वती उपाध्याय, शिलादेवी भुसाल, पूर्णकुमार श्रेष्ठ र खेमराज भुसालको सम्पादन र सुभन्तनाथ सुवेदीको प्रधान सम्पादकीयमा तयार पारिएको हो । पुराना तथ्याङ्कहरू खोजेर स्मारिका प्रकाशन गर्नु कठिन काम भए पनि सबैको साथ र सहयोगले पहिलो अङ्क निकाल्न सक्नु खुसीको कुरा भएको प्रधान सम्पादक सुवेदीले बताए । यसको प्रकाशनले सरोकारवाला सबैलाई नेपाल शिक्षक सङ्घको ऐतिहासिक पृष्ठभूमि, शैक्षिक सूचनाहरू, स्थापना कालदेखि हालसम्मका गतिविधि तथा शिक्षकहरूको भावना समेट्न प्रयास गरिएको उनको भनाइ छ ।