बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

स्थानीय स्रोतको प्रयोगबाट नागरिकलाई आत्मनिर्भर बनाउने प्रयासमा पैयूँ

पर्वत : जिल्लाको पैयूँ गाउँपालिका–४ हातेमालो चोकमा बस्दै आएकी सिर्जना शाही मल्लले पछिल्ला केही दिनयता बाँसबाट बनाइने मुढा, पङ्खा, किताब र जुत्ता राख्ने ¥याक लगायतका सामग्रीहरू बनाउन सिकेकी छिन् । आफ्नो घर वरपर प्रशस्त मात्रामा पाइने बाँसलाई सदुपयोग गरेर आम्दानी बढाउन सकिने सम्भावना देखेपछि उनले आफ्ना साथीहरूलाई व्यावसायिक रूपमा बाँसका सामग्री निर्माणमा लाग्न सहकार्य गर्दै छिन् ।

सिर्जना जस्तै अन्य १५/२० जना बाँसका सामग्री निर्माण गर्नको लागि सिकाइमा नै व्यस्त छन् । गाउँपालिकाले लघु उद्यमलाई प्रोत्साहन गर्दै उद्यमीहरूको सङ्ख्यामा वृद्धि गरेर गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउन बाँसका सामग्री निर्माण र सेनेटरी प्याड बनाउने तालिम चलाइरहेको छ । ‘गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम’ अन्तर्गत वडा नं. ४ हुवासमा सेनेटरी प्याड निर्माण र वडा नं. ५ चिसापानीमा बाँसका सामग्री निर्माण तालिम चलिरहेको छ ।

स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनलाई उपयोग गरेर स्थानीयलाई रोजगारी प्रदान गर्नु, आत्मनिर्भर बनाउनु, व्यावसायिक रूपमा काम गर्ने उद्यमी निर्माण गर्नु, उनीहरूलाई आत्मनिर्भर बनाउनु गाउँपालिकाको जिम्मेवारी भएकोले स्थानीय स्रोतको उपयोग हुने गरी तालिम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताए । बसाइसराइका कारण बाँझो बनेको जग्गामा बाँसका गाँजहरू बढिरहेको तर गाउँ घरमा आवश्यक बाँसका सामग्री बजारबाट खरिद गर्नुपर्ने अवस्थाको अन्त्यका लागि पनि तालिम महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

तालिममा सहभागी भएकाहरूले व्यावसायिक रूपमा उत्पादन गर्न सुरु गरेपछि ती सामग्रीहरू गाउँपालिकाले खरिद गरेर बजारमा पठाउने दीर्घकालीन सोच बनाएको भन्दै उनले गाउँको आम्दानी गाउँमै राख्नको लागि तालिम महत्त्वपूर्ण हुने बताए । गाउँपालिकाले बर्सेनि करिब छ लाख मूल्य बराबरका सेनेटरी प्याड खरिद गरेर विद्यालयहरूमा बाँडिरहेको भन्दै उनले अब स्थानीयले उत्पादन गरेको प्याड नै गाउँपालिकाले खरिद गरेर विद्यालयमा दिन सकिने अधिकृत रिमालको भनाइ छ ।

‘बाँसको सामग्रीहरूले पनि यहीँ बजार पाउँछ । उहाँहरूले व्यावसायिक रूपमा उत्पादन गरेमा गाउँपालिकाले नै खरिद गरेर बजारमा बिक्री गरिदिन्छ । हामीले उद्यमी घर निर्माणको तयारी गरिरहेका छौँ। त्यहीँ आएर बसेर पनि उत्पादन गर्न सक्नुहुन्छ’, उनी भन्छन्, ‘लघु उद्यमीहरूको सङ्ख्या बढेर आम्दानी भएमा गाउँलेहरूको जीवनयापन सहज हुन्छ भनेर यो काम गरिरहेका छौँ ।’

बाँसका सामग्री निर्माण सिकाई मा सक्रियताका साथ लागिरहेका स्थानीय खेमानन्द न्यौपानेले बाँस घारी लघु उद्यमी समूह नै निर्माण गरेर आफूहरूले सिकिरहेको र अब यसलाई नै व्यवस्थाका रूपमा अगाडि बढाउने योजना रहेको बताए । तर नेपालका उत्पादनले बजार नपाएको समस्यामा आफूहरू पनि परिने हो की भन्ने चिन्ता रहेकोले गाउँपालिकालाई यसको बजारीकरणमा भूमिका निर्वाह गर्न भनिएको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले अहिलेको तालिमबाट सिकेका कुरालाई निरन्तर रूपमा उत्पादन गर्दै जाने हो भने स्थानीयले उत्पादन गरेका सामग्रीको बजारीकरणको जिम्मा गाउँपालिकाले नै लिने बताउँछन् । सेनेटरी प्याड निर्माण गर्नु संवेदनशील कुरा भएकोले राम्रोसँग सिकेर त्यो उपयोगी भयो भन्ने कुराको यकिन भएमा स्थानीयले उत्पादन गरेका प्याड गाउँपालिकाले नै खरिद गर्ने योजना बनाएको पनि अध्यक्ष मल्लले बताए । अहिले गाउँपालिकाले तालिमका क्रममा निर्माण गरेको जस्तै सेनेटरी प्याड २÷३ वर्ष अगाडि नै जापानबाट आएको भनेर विद्यालयहरूले बताएकोले आफूहरूको उत्पादन राम्रो भएको देखिएको उनको भनाइ छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive