मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

मालिकाको दरवाङमा नेपाली सेनाले चलायो स्वास्थ्य र कृषि शिविर

जेष्ठ २७, २०८१

पर्वत : नेपाली सेनाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिकामा आयोजित स्वास्थ्य तथा कृषि शिविरबाट साढे छ सय जना भन्दा बढी नागरिकले सेवा लिएका छन्।
मालिका गाउँपालिका–६ दरवाङ स्थित जनप्रिय माध्यमिक विद्यालयमा शनिवार राखिएको शिविरबाट मेडिकलतर्फ दुई सय ६९ जना महिला, ८४ जना पुरुष र ५४ जना बालबालिका गरी चार सय सात जनाको स्वास्थ्य जाँच गरिएको छ। आयुर्वेदतर्फ ९९ जना महिला र ४४ जना पुरुष गरी एक सय ४५ जनाले सेवा लिएका छन्।
यस्तै भेटेरिनरीतर्फ ८६ जना र कृषितर्फ २४ जना सेवाग्राही सहित कुल छ सय ६० जनाले शिविरबाट सेवा लिएका नेपाली सेनाको नं २३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जगत् बहादुर पौडेलले बताए। सामान्यतः मेडिकलतर्फका शिविरहरू आयोजना हुने गरेकोमा यस पटक भने शिविरमा स्वास्थ्य परीक्षणका लागि आउनेहरूको लागि कृषि तथा भेटेरिनरी सेवा पनि प्रवाह गरिएको हो। स्वास्थ्य परीक्षणका लागि आउने सेवाग्राहीलाई शिविरबाटै कृषि सम्बन्धी परामर्श, जैविक विषादी नियन्त्रणका उपाय सम्बन्धी सेवा दिँदा एकै ठाउँबाट विविध सेवा पाइने भएकोले कृषिलाई पनि जोडिएको हो।
शिविरमा स्वास्थ्य सेवा अन्तर्गत जनरल ओ.पी.डी, हाड जोर्नी, मनोरोग, दन्त रोग, आँखा, ल्याब, युएसडी, सेवा प्रदान गर्नुका साथै भेटेरिनरीतर्फ परामर्श सहित आवश्यक औषधिहरू पनि वितरण गरिएको थियो।
नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा श्री नं २३ बाहिनी अड्डाको नेतृत्व तथा सैनिक अस्पताल पोखरा, शत्रु भञ्जन गुल्म र नं २३ फि.ए. गुल्मद्वारा शिविरको सञ्चालन गरिएको हो। जसमा बेनी अस्पताल, स्वास्थ्य कार्यालय म्याग्दी, आयुर्वेदिक स्वास्थ्य केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, नेपाल रेडक्रस सोसाइटी, मालिका गाउँपालिकाको स्वास्थ्य शाखा दरवाङ्ग केन्द्र र गाउँपालिका कार्यालयले सहकार्य गरेका थिए।
स्वास्थ्य शिविरको उद्घाटनमा पुगेका नेपाली सेनाको पश्चिम पृतना हेड क्वार्टरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले नेपाली सेनाले सैनिक र समुदायबिचको सम्बन्ध विस्तार अन्तर्गत स्वास्थ्य तथा कृषि शिविर आयोजना गरिएको बताए। नेपाली सेनाले नागरिकका लागि गर्दै आएका विभिन्न कार्यक्रमहरू जस्तै स्वास्थ्य शिविर पनि महत्त्वपूर्ण कार्यक्रम भएको बताए।
शिविरमा नम्बर २३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जगत् बहादुर पौडेल, मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्वुजा, उपाध्यक्ष लक्ष्मी देवी घर्ती मगर, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायत जनप्रतिनिधि, आम नागरिक र सरोकारवालाहरूको सहभागिता थियो।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive