पर्वत : जिल्लाको जलजला गाउँपालिकाले १७ औँ गाउँ सभाबाट आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गाउँपालिकाका अध्यक्ष राजु आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा दिगो विकासको राष्ट्रिय लक्ष्यहरूको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माण गरिने लक्ष्य रहेको उल्लेख छ । स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी, जलवायु उत्थानशील तथा स्थानीय आर्थिक विकासको माध्यमबाट आर्थिक–सामाजिक रूपान्तरण गर्ने गाउँपालिकाको योजना छ ।
समृद्ध र समतामूलक जलजला गाउँपालिका तथा सुखी जलजलावासी बनाउने दिगो लक्ष्य हासिल गर्न सार्वजनिक क्षेत्र, निजी क्षेत्र र नागरिक समुदायको साझेदारीपूर्ण सम्बन्धको विकास गरिने नीति जलजलाले लिएको छ । गाउँपालिकालाई स्वच्छ, सुन्दर, सभ्य र हराभरायूक्त सक्षम गाउँपालिकाको पहिचान कायम राख्न, धार्मिक सांस्कृतिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न, उत्पादनमूलक तथा स्वरोजगार उन्मुख समावेशी तथा लक्षित गर्ने लगायतका नीतिहरू समावेश छन् ।
शिक्षातर्फ स्थानीय पाठ्यक्रमलाई समसामयिक परिमार्जन गर्दै आधारभूत तहसम्मका स्थानीय पाठ्यपुस्तक निर्माण तथा छपाई गर्ने, माध्यमिक विद्यालयहरूलाई ‘लिडर’ विद्यालय बनाइने, ती विद्यालयमा महिनाको एउटा शुक्रवार ‘बुक फ्री डे’ गराइ जीवनोपयोगी ज्ञान सिपको कार्यक्रम सञ्चालन गर्ने, माध्यमिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । ‘गाउँपालिका अध्यक्षसँग विद्यार्थी कार्यक्रम’, प्राविधिक कृषि विषय अध्ययन गर्न चाहने प्रत्येक वडाका एक–एक जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति दिने, संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूलाई श्रम ऐन अनुसार न्यूनतम पारिश्रमिक उपलब्ध गराउने नीति पनि गाउँपालिकाले लिएको छ ।
जलजला गाउँपालिकालाई खुल्ला बहुसाँस्कृतिक सङ्ग्रहालयको रूपमा विकास गर्दै मारुनी, सोरठी यानीमाया, भजन कीर्तन र लोकबाजाको संरक्षण गर्ने, वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई प्रोत्साहनमुखी कार्यक्रममा आबद्ध गर्ने, युवालाई “विदेश हैन बिजनेस” भन्ने भावना सहित स्वरोजगारोन्मुख गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘दलित, गरिब, विपन्नको सहाराः शिक्षित, सबल गाउँपालिका बनाउने हाम्रो अभिभारा’ भन्ने नारा सहित सचेतनामूलक तथा सशक्तीकरणका कार्यक्रम सञ्चालन, दलित समुदायका लागि लक्षित कार्यक्रम, पञ्चे बाजाको व्यवसायीकरण, पाँच लाख सम्म लगानी भएका व्यवसायमा विपन्न तथा दलित समुदायलाई विशेष छुट, ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घर दैलोमा नै निःशुल्क स्वास्थ्य जाँच, पाठेघर, स्तन क्यान्सरको निःशुल्क परीक्षण, सार्वजनिक स्थलमा धूम्रपान (हुक्का सेवन), मद्यपान, सुर्तिसेवन निषेध गर्ने नीति पनि गाउँपालिकाले लिएको छ ।
गर्भवतीको स्वास्थ्य जाँचका लागि ग्रामीण अल्ट्रासाउन्ड सेवा विस्तार, शीत भण्डार गृह निर्माण, किवी, सुन्तला, कागती, ओखर, केरा, टिमुर, च्याउ, अल्लो खेती, घाँसे बाली, मौरी पालनलाई प्रोत्साहन, बाँझो जग्गाको उपयोग, आलु खेतीको उन्नत बिउ उत्पादन, ‘गरा गरा सिँचाइ हराभरा गाउँ’ भन्ने नारा सहित सिँचाइको सुनिश्चितता, गाई गोरु पाल्ने कृषकलाई प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालन हुने अध्यक्ष आचार्यले बताएका छन् ।
यस्तै पशुमा कृत्रिम गर्भाधानमार्फत नस्ल सुधार गर्ने, तरकारी, बिउ तथा अन्नबालीहरूको पकेट क्षेत्र निर्माण, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, गाउँपालिकाको गौरवको आयोजनाको रूपमा सुरु गरिएका रिङ रोड सडक पूर्वाधारलाई प्राथमिकता दिइने, राजश्व तिर्न वडा कार्यालयबाट अनलाइनमार्फत कुर भुक्तानी, सबै पसलहरूमा मूल्य सूचि राख्ने भनिएको छ । कालीगण्डकी नदीको नदीजन्य पदार्थको परिचालन तथा व्यवस्थापनमा सर्वोच्च अदालतको अन्तरिम अदालतको कारण रोक लागेको अवस्थामा कानुनी तवरबाट निकास खोजी गाउँपालिकाको क्षेत्राधिकारको प्रयोग गरी धार्मिक र पर्यावरणीय महत्त्व बोकेको पवित्र कालिगण्डकी नदीको संरक्षण तथा नदीजन्य पदार्थहरूको उचित व्यवस्थापन गरी आन्तरिक आम्दानी वृद्धिका लागि पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।