बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

डेंगी नियन्त्रण अभियान अन्तर्गत पर्वतमा पानी पोख्ने अभियान चलाइँदै

पर्वत : वर्षा याम सुरु भएसँगै लामखुट्टेको प्रकोप बढ्दा डेंगीको जोखिम पनि बढ्ने भएकोले पर्वतमा पानी पोख्ने अभियान चलाइने भएको छ।
गर्मी मौसम तथा बर्षायामसँगै लामखुट्टेको प्रकोप बढ्दै गइरहेको र यसले गत वर्ष जस्तै पर्वतमा पनि डेंगीको सङ्क्रमण गराउन सक्ने भएकोले यही असारको १२ र १३ गते जम्मा भएर बसेको वा राखिएको पानी पोख्ने अभियान सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले उक्त दिन बिहान र बेलुकाको समयमा जिल्लामा रहेको सबै सरकारी तथा गैह्र सरकारी निकाय, स्थानीय तहका सबै वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्क सप, कवाडी सङ्कलन केन्द्र, नागरिकका घर तथा पसल सहितमा समुदायमा रहेका पानी जम्ने खाल्डाखुल्डी, ताल, पोखरी, झाडी सबै ठाउँमा सरसफाइको अभियान चलाउन लागिएको हो।
गत वर्ष जिल्लाका कुल दुई सय २५ जनामा डेंगी सङ्क्रमण भएको भन्दै उनले डेंगी लाग्नुको कारण र यसको नियन्त्रणमा नागरिकले अवलम्बन गर्न सक्ने कामको बारेमा सचेतना फैलाउनको लागि यो अभियान सुरु गर्न लागिएको उनको भनाइ छ। घर आसपासमा रहेको फोहोर, झाडी, नहल्लिने गरेर जमेको पानी, लगायतका कारण लामखुट्टेले फूल पारेर बच्चा सङ्ख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगीको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले अभियानमार्फत जिल्लाभर नै सरसफाइको सन्देश दिन खोजिएको कार्यालय प्रमुख शर्माले बताए।
पर्वत अस्पतालका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मण उपाध्यायले उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने, वाकवाकी लाग्ने वा वान्ता हुने लगायतका लक्षणहरू देखिएमा डेंगी भएको हुन सक्ने भएकाले नागरिकले समयमा नै स्वास्थ्य परीक्षण गराउन सुझाए। एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी हुने भएकोले दिउसोमा भन्दा बिहान र साँझको समयमा झनै सचेत हुनुपर्ने उनको भनाइ छ।
लामखुट्टेको टोकाइबाट बच्नको लागि आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउने लगायतका विधिहरू अवलम्बन गर्नुपर्ने चिकित्सहरुको सुझाव छ।
यस्तै पानी राख्ने भाँडाहरू जस्तै ट्याङ्की, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्ने,   पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्ने, काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने, घर÷विद्यालयका अँध्यारा कुना–काप्चा (पर्दा पछाडि, खाटमुनि, शौचालय भित्र, डेस्क÷बेन्च मुनि) जस्ता ठाउँहरूमा किटनाशक औषधि छर्किने, कम्तीमा हप्ताको एक पटक एयर कुलर, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएको प्लेटहरू राम्ररी सफा गर्ने विधिले लामखुट्टे नियन्त्रण गर्न सकिन्छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive