मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

दलगत लडाइँ त्यागेर सहमतिमा समावेशी समिति बनाउने तयारीमा पर्वतका पत्रकार

पर्वत : नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनको सन्दर्भमा पर्वतका पत्रकारहरूले दलगत लडाइँ त्यागेर सर्वसम्मतिमा समावेशी कार्यसमिति निर्माणको तयारी थालेका छन् ।
पत्रकार विस्थापित हुँदै गएको तथा व्यावसायिक पत्रकारिताको अभाव हुँदै जाँदा पत्रकारिता र सञ्चार माध्यमहरू नै धराशायी बन्दै गइरहेको बेलामा राजनीतिक रूपमा चुनाव होमिँदा यसको सन्देश राम्रो नहुने र निर्वाचनबाट कार्यसमिति चुनिँदा कोही प्रतिपक्ष जस्तै भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि सहमतिको अधिवेशन बनाउन क्रियाशील पत्रकारहरूले प्रयास थालेका हुन् ।
नेपाल प्रेस युनियन पर्वतले नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनको सन्दर्भमा आयोजना गरेको ‘पत्रकार सम्बद्ध सङ्घ संस्थाहरूबिच छलफल तथा अन्तरक्रिया’ कार्यक्रम बोलेका पत्रकाहरुले सबैले निर्वाचनमा नजाने बताएका छन् । महासङ्घको केन्द्र र प्रदेश तहमा राजनीतिक वा वर्तमान सत्तारुढ गठबन्धन अनुसारको ‘प्यानल’ बन्ने अवस्था आए पनि पर्वतका लागि भने त्यो राम्रो नहुने उनीहरूले बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ पर्वतका पूर्व अध्यक्ष तथा प्रेस युनियन पर्वतका संस्थापक ओमप्रसाद घायलले पत्रकारहरूका सङ्घ÷सङ्गठनबिच आपसी सद्भाव कायम गर्न तथा समाजले पत्रकारलाई विश्वास गर्ने वातावरण निर्माण गर्नको लागि पनि दलगत रूपमा नभई सक्रियताका आधारमा अधिवेशनबाट कार्यसमिति निर्माण हुनुपर्ने धारणा राखे । ‘पत्रकारिता र संस्थाप्रति नै समाजले प्रश्न उठाइरहेको बेलामा हामीहरू नै दलगत रूपमा विभाजित भएर लड्नु हुँदैन । यहाँका कति साथीहरू पेसाबाट विस्थापित हुनुभयो,’ उनले भने, ‘अब कोही महासङ्घमा रहने, कोही बाहिर बस्ने, कोहीले सहयोग माग्ने, कोहीले असहयोग गर्ने काम गर्दा समग्र पत्रकारिता नै धमिलिने अवस्था आएको छ ।’
प्रेस चौतारी नेपाल, पर्वतका अध्यक्ष कृष्ण अखेलीले पनि पर्वतका पत्रकारहरूले थालेको अभियानमा प्रदेश र सङ्घको राजनीति जोडिन नहुने बताए । पर्वतको माटोका लागि आवश्यक नेतृत्व पर्वतकै पत्रकारहरूले स्वायत्त रूपमा छनोट गरेमा पर्वतको पत्रकारितामा न्याय हुने उनको भनाई छ । ‘चौतारी, युनियन, सेन्टर लगायतमा सङ्घ र प्रदेशबाट आ–आफ्ना ह्विपहरू आउलान् । तर सबै ह्विपहरू यहाँको पत्रकारिताको मिल्ने हुँदैनन्,’ अखेली भन्छन्, ‘यहाँका साथीहरूको अवस्था के छ ? यहाँका सञ्चार माध्यहरूको हालत के छ भन्ने कुरा यहीँका साथीहरुहरुलाई थाहा छ । यहाँका समस्या समाधान गर्न दलबाट भाग लगाएर आएको होइन की सबैको मानेको साझा नेतृत्व चाहिन्छ ।’
पर्वतबाट पत्रकारिता गर्दै आइरहेका नेपाल समाजवादी प्रेस सङ्गठन गण्डकीका संयोजक गणेश पौडेलले सानो जिल्लामा थोरै पत्रकार रहेकाले विगतमा पनि सहमतिमै कार्यसमिति टुङ्ग्याउने प्रयास हुँदै आएकोमा सबै पटक सफल नभएको बताए । तर पछिल्लो समय सञ्चार माध्यम बन्द हुने र पत्रकारहरू विस्थापित हुने क्रम चलिरहेको बेलामा मतदानबाट अधिवेशन गर्न राम्रो नहुने उनको भनाइ छ ।
नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीले सहमतिमा नेतृत्व टुङ्ग्याउनको लागि आफूहरू अरूलाई नेतृत्व दिन र आवश्यक परे नेतृत्व लिनका लागि तयार रहेको बताउँदै पत्रकारका सङ्घ÷सङ्गठनबिचको लडाइँ त्यागेर भाइचाराको रूपमा अधिवेशन सक्नुपर्ने बताए । पछिल्लो नामावलीमा आए अनुसार जिल्लामा ५६ जना पत्रकारहरू रहेका र यही सङ्ख्यामा पनि चुनाव गर्दा पराजित भएकाहरू बाहिर बस्दा सन्देश पनि नराम्रो हुने अधिकारी बताउँछन् ।
पर्वतका पत्रकारहरूले थालेको यो प्रयास देशका अन्य जिल्लाका पत्रकारहरूले पनि अभियानका रूपमा चलाउने हो भने नेपालको पत्रकारितामाथि नागरिकले हेर्ने नजर नै बेग्लै बन्न सक्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्यद्धय माया अधिकारी र साजन परियार, प्रेस चौतारीका केन्द्रिय सदस्य गणेश गिरी, गणेश पौडेल र लक्ष्मण सापकोटा, प्रेस सेन्टरका गण्डकी प्रदेश सदस्य प्रनिश गिरी, समाजवादी प्रेस सङ्गठन गण्डकी प्रदेशका संयोजक गणेश पौडेल, नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिकी उपाध्यक्ष संगीता के.सी, सदस्यहरु देवराज पुरी, प्रेस सेन्टरका अध्यक्ष निर्मल पौडेल, समाजवादी प्रेस सङ्गठन पर्वतका अध्यक्ष लक्ष्मण बि.सी लगायतले बोल्नुभएको थियो । प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुमनजंग थापाले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive