पर्वत : नेपाली सेनाको आयोजनामा साबिकको धौलागिरिका चार जिल्लाहरूलाई लक्षित गरेर गण्डकी प्रदेश स्तरीय संयुक्त बृहत् विपद् प्रतिकार्य नमुना अभ्यास सञ्चालन हुने भएको छ।
विशेषतः पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा हुन सक्ने विभिन्न विपद्मा उद्धार, राहत वितरण र पुनः स्थापनको लागि विपद् पूर्वको नमुना अभ्यास गर्न लागिएको नेपाली सेनाको बागलुङमा रहेको नं. २३ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी जगत बहादुर पौडेलले बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा हुने गरी तयारी भइरहेको अभ्यासमा फरक–फरक १० वटा घटनाहरूमा स्थानीय स्रोत र साधनको प्रयोग गरेर उद्धार, ¥याफ्टबाट उद्धार, पहिरो/खोँचमा उद्धार, गोताखोरको प्रयोग, बिजुलीको पोलमा इलेक्ट्रिक सर्ट सर्किट भई आगलागी हुँदा तत्काल आगलागी नियन्त्रण, रिभर क्रसिङ ड्रिल, सडक दुर्घटना, हाई लाइन रेस्क्यु, विपद् व्यवस्थापन र प्राथमिक उपचारको डेमो तथा राहत वितरण, अस्थायी शिविर, पुनर्वास, सामान्यिकरणबारे नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबाट पनि संयुक्त रूपमा डेमो प्रस्तुत गर्ने तयारी छ।
पर्वतको मोदी गाउँपालिका–२ स्थित मोदी खोलाको किनार नजिकैको क्षेत्रमा हुने अभ्यासमा बागलुङको नं. २३ वाहिनी अड्डा तथा अन्तर्गतका श्रीमेहर गण घोडाबाँधे, नारायणदल गण जोमसोम, नयाँ रणभिम गुल्म पर्वत, शत्रु भञ्जन गुल्म म्याग्दी, जिल्ला प्रहरी कार्यालय पर्वत, नं. २५ चण्डिका गण सशस्त्र प्रहरी बल पर्वत, लगायतले विपद्सँग प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैह्र सरकारी निकायहरूको प्रत्यक्ष सहभागितामा अभ्यास गर्न लागेका हुन्।
सोमबारदेखि सुरु हुन लागेको अभ्यासमा २१ गतेसम्म नेपाली सेना सहितका सुरक्षाकर्मीको सहभागितामा प्रतिकार्य अभ्यास जारी रहने र २२ गते ‘प्रदेशस्तरीय संयुक्त बृहत् विपद् प्रतिकार्य नमुना अभ्यास–२०८१’ सञ्चालन गर्ने तयारी छ। विपद्को बेलामा सम्भावित क्षति न्यूनीकरण गर्न प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग समन्वय गरी पूर्व तयारी तथा प्रतिकार्य सञ्चालन गर्ने, मनसुनको दौरान आईपर्न सक्ने आकस्मिक बाढी, डुबान, पहिरोबाट आईपर्न सक्ने सम्भावित विपद्हरूलाई मध्यनजर गरेर यो कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमको पूर्व तयारी स्वरूप सम्बन्धित निकायका सम्बन्धित व्यक्तिहरूसँग आवश्यक समन्वय गर्न नं. २३ वाहिनी अड्डामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वाहिनीपति सहायक रथी पौडेल, सहायक वाहिनीपति महा सेनानी शीतल बहादुर बानियाँ, श्रीमेहर गणका गणपति प्रमुख सेनानी धन राना मगर, बागलुङ र पर्वतका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, स्थानीय तहका प्रतिनिधिहरू, निर्माण व्यवसायी तथा क्रसर उद्योगका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थितिमा छलफल भएको हो।
सो अवसरमा बोल्दै वाहिनीपति पौडेलले विपद् बेलामा ‘फर्स्ट रेस्पोन्टर’ र ‘कि रेस्पोन्डर’ ले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा बताए। नमुना अभ्यासमा साँच्चिकै विपद् भएकै जस्तै कथामा आधारित रहेर ‘डेमो’ प्रस्तुत हुने र त्यसमा धेरै नागरिकको सहभागिता हुनुपर्ने उनको भनाइ छ। कुनै पनि विपद्को बेलामा उद्धारको सुरुवात गर्ने स्थानीय नागरिक नै भएकाले उनीहरूमा उद्धारबारेको ज्ञान हुनुपर्ने र त्यो ज्ञान नमुना अभ्यासबाट पाउन सकिने सहायक रथी पौडेलले बताए।
बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024