बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

प्रविधिमैत्री कृषिमा कृषकको आकर्षण

संजय रेग्मी
असार २४, २०७८
पर्वत : गत वर्ष र चालु वर्षमा कोरोना कहरका कारण देशका धेरै विद्यालयहरूले जबरजस्ती भए पनि प्रविधिमा हात हालेका छन् । विदेशमा विद्यार्थी विद्यालयमा नै नगई घरमै बसेर पढेको सुन्दा अनौठो लाग्ने हामी पनि अब अरू कसैको लागि अनौठो हुनुपरेको छ । भौतिक रूपमा विद्यालय उपस्थित हुन नसकेपछि अनलाइन कक्षा सञ्चालनको सामग्री डिजाइन देखि तिनीहरूको प्रभावकारी सञ्चालनमा शिक्षक र बिद्यार्थीहरु तल्लीन हुन परिरहेको छ ।
कोरोनाका कारण शिक्षा क्षेत्र जबरजस्ती भए पनि प्रविधिमैत्री बनिरहेको बेलामा कृषि क्षेत्र भने समयको मागसँगै प्रविधिमा

आधारित बन्दै गएको छ । “तीन गोरुको हल पक्का” भनेको जस्तै घर–घरमा हल गोरु पालिएका हुन्थे। तर आजभोलि गोरु देख्न नै मुस्किल हुन थालेको छ । खेतबारी जोत्नका लागि मिनी टिलर गाउँ–गाउँमा लगिएसँगै परम्परागत रूपमा गोरुले जोतिने गरेको जमिन ट्र्याक्टरले जोत्न थालिएको छ । योसँगै जिल्लाका धेरै ठाउँका कृषकहरू प्रविधिमैत्री कृषिमा आकर्षित हुँदै गएको पाइएको छ ।

मिनी टिलरले थोरै समयमा नै धेरै खेतबारी जोत्ने र माटो पनि धूलो बन्ने भएका कारण मिनी टिलरको प्रयोग बढेको कृषकहरू बताउँछन् । जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाका कृषक डिल्लु सापकोटाले छोटो समयमा धेरै काम गर्न सकिने भएका कारण मिनी टिलर ल्याएको बताए ।

‘मेलो त एकै दिनमा कति हो कति हुन्छ । हिउँदमा त खासै समस्या हुँदैन, तर बर्खामा बाउसे धेरै चाहिन्छन् । किसानलाई नै फाइदा नै हुने रहेछ । बरु डिजेल पेट्रोलको मूल्य बढ्दै जाँदा समस्या भएको छ ।’ उनले भने, ‘यसले जोतेकोमा डल्ला आउँदैन । माटो मसिनो र होला बन्दा उत्पादन पनि बढ्छ ।’

जिल्लामा कृषि ज्ञान केन्द्र, सहित स्थानीय तहहरूले पनि मिनी टिलर हरेक वर्ष अनुदानमा दिँदै आएका छन् । कतिपय कृषकहरू आफैले लगानी गरेर पनि मिनी टिलर किन्ने गरेका छन् । कृषि ज्ञान केन्द्र पर्वतकी कार्यालय प्रमुख मनिता थापाले पर्वतमा मिनी लिटरको माग निकै बढ्दै गएको बताइन । ‘पर्वतमा करिब २५ सय जति होलान मिनी टिलर जस्तो लागेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बजेट धेरै हुँदा धेरै बाँडिएको हो। अहिले त्यो बजेट कम हुँदै गएको छ । स्थानीय तहले बाँड्ने क्रम बढेको छ ।’ उनले भनिन्, ‘अहिले पनि मिनी लिटरको माग गरिएका थुप्रै निवेदनहरू कार्यालयमा छन् । हरेक वर्ष यान्त्रिक हलो किन्ने र गोरु बेच्ने क्रम बढ्दै गइरहेको छ ।’

मिनी टिलर नभएका र गोरु पाल्दै आएकाहरूले समेत छिमेकीको ट्र्याक्टरबाट खेतबारी जोत्न थालेपछि गाउँमा गोरुको अभाव हुँदै जान थालेको र दाँइ राख्ने बेलामा समस्या हुने अवस्था आएको कृषकहरूको भनाई छ । जिल्लामा मिनी टिलरले जोतेको एक घण्टाको सात सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म लिने गरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive