बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

पर्वत कारागारका २५ प्रतिशत कैदी वन्दीमा उच्च रक्तचाप, ३८ प्रतिशत मधुमेहको जोखिममा

पर्वत : पर्वत कारागारमा रहेका कैदी बन्दीहरूमा उच्च रक्तचाप सहित मधुमेहको जोखिम बढेको पाइएको छ।

स्वास्थ्य कार्यालय पर्वतले पर्वत अस्पतालसँगको सहकार्यमा कारागारमा रहेका कैदी वन्दीहरूको स्वास्थ्य परीक्षणपछिको ‘रिपोर्ट’ मा २५ प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ भने ३८ प्रतिशत मधुमेहको जोखिममा रहेको उल्लेख छ।

कारागारमा रहेका ९२ जना कैदी वन्दी तथा ११ जना कर्मचारीहरू गरी कुल एक सय तीन जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। ९२ जना कैदी बन्दीमध्ये ८९ जना पुरुष र तीन जना महिला रहेका छन्। जनस्वास्थ्य अधिकृत अञ्जली पि.सी.का अनुसार रक्तचापको परीक्षण गर्दा ६० जनामा सामान्य, २३ जनामा उच्च रक्तचाप र नौ जना उच्च रक्तचापको जोखिममा रहेको पाइएको छ। यो अनुसार हेर्दा २५ प्रतिशतमा उच्च रक्तचाप देखिएको हो। यस्तै ९० जनाको कोलेस्ट्रोल सामान्य हुँदा दुई जनामा भने उच्च देखिएको छ।

मधुमेहको जाँच गर्दा चार प्रतिशत भन्दा धेरैमा मधुमेह र ३८ प्रतिशत मधुमेहको जोखिममा रहेको देखिएको छ। ५३ जनाको अवस्था सामान्य, ३५ जना मधुमेहको जोखिममा रहेका छन्। यस्तै ‘सिरम क्रिएटिनिन’ को परीक्षणमा ९० जनाको अवस्था सामान्य र एक जना जोखिममा रहेको परीक्षणको क्रममा देखिएको छ।
शरीर पिण्ड सूचकाङ्क (बीएमआइ) परीक्षणको क्रममा तीन जनाको कम तौल, ५१ जनाको सामान्य तौल, ३५ जनाको उच्च तौल र ती जनामा मोटोपनको समस्या देखिएको जनस्वास्थ्य अधिकृत पि.सी.ले बताइन्।

पिसाब ‘प्रोटिन’ जाँच गर्दा ९० जनाको अवस्था सामान्य र दुई जना जोखिममा रहेको पाइएको छ। एचआइभी परीक्षण गर्दा उनीहरू कोहीमा पनि एचआइभी देखिएको छैन। स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार पर्वत अस्पतालका चिकित्सक, ‘ल्याब’ स्वास्थ्यकर्मी, ‘प्यारामेडिक’, ‘नर्स’ सहित स्वास्थ्य कार्यालयको समूह मिलेर कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरेका हुन्।

बेला बेलामा कारागारमा रहेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गर्दा उनीहरूको स्वास्थ्य अवस्था र आउन सक्ने जोखिमको बारेमा थाहा हुने भएकोले कार्यालय स्वास्थ्य परीक्षण गरेको शर्माले बताए।

‘बाहिर रहेका व्यक्तिहरूले आफै सचेत भएर बेला बेलामा स्वास्थ्य परीक्षण गर्ने भए पनि भित्रको अवस्था त्यस्तो नहुन सक्छ। सामान्य स्वास्थ्य परीक्षण हुने भए पनि बेला बेलामा ल्याब टेस्ट नभएको हुन सक्छ। यसरी परीक्षण गर्दा स्वास्थ्यमा आउन सक्ने जोखिमको बारेमा थाहा हुन्छ’, उनले भने, ‘जस्तो की अहिलेको रिपोर्टले त्यहाँका कैदी वन्दीहरूको उच्च रक्तचाप र मधुमेह नियन्त्रणको लागि के गर्न सकिन्छ भन्ने कुरा सोच्न बाध्य बनाएको छ। खानपिनदेखि शारीरिक अभ्यासको व्यवस्थापनको कुराहरूको लागि योजना बनाउने आधार यसले दिएको छ।’

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले स्वास्थ्य जोखिमको बारेमा थाहा पाएपछि समयमा नै ध्यान दिने हो भने ती रोगबाट सुरक्षित रहन सकिने बताए। मधुमेह वा उच्च रक्तचाप भइसकेका व्यक्तिहरूले पनि अबकै दिनबाट खानपान, चिन्ता वा तनाव र शारीरिक कसरतको व्यवस्थापन गर्ने हो भने भविष्यमा आउन सक्ने जटिल जोखिमबाट सुरक्षित रहन सकिने उनको भनाइ छ।

व्यायाम गर्दा शरीरमा रक्त प्रवाह राम्रो हुन्छ र रगतमा चिनीको मात्रा पनि नियन्त्रण हुने भएकोले उच्च रक्तचाप र मधुमेह दुवैको लागि व्यायाम गर्ने अवसरहरू धेरै दिँदा उनीहरूको स्वास्थ्य राम्रो हुने डा. बास्तोलाले बताए। गुलियो कम खाने, फाइबरयुक्त खाना, ताजा फलफूल, हरिया सागसब्जी लगायतको सेवनले पनि यी नियन्त्रणमा भूमिका खेल्ने भएकाले त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव छ।

आफूले बन्दी जीवन जिइरहेको भन्ने बारेमा चिन्ता गरेका कारण पनि कतिपयमा उच्च रक्तचापको अवस्था आएको हुन सक्ने भन्दै डा. बास्तोलाले तनावले  अक्सिटोसिन र सेरोटिन दुवैले नशाको कार्यक्षमतामा असर गर्ने बताए। तनावको बेलामा ‘एड्रिनलिन’ ‘लिक’ हुने र त्यो अवस्थामा मधुमेहको जोखिम बढ्ने तथा प्रशस्त मात्रामा पिइने पानीले रगतमा भएको ‘सुगर’ एकत्रित गर्दा  मुटु रोग र मधुमेह नहुने पनि डा. बास्तोलाले बताएका छन्।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive