पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले हालसम्मकै उच्च राजश्व सङ्कलन गरेको छ ।
ट्राफिक नियमको उल्लङ्घन गरेका सवारी साधनमाथि कारबाही गर्दा आर्थिक वर्ष २०७९÷०८० मा करिब ९५ लाख रुपैयाँ उठाएको पर्वत ट्राफिकले गत आर्थिक वर्ष २०८०÷०८१ मा हालसम्मकै उच्च एक करोड एक लाख १७ हजार रुपैयाँ सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाका अनुसार एक वर्षको अवधिमा कुल १२ हजार दुई सय ६५ वटा सवारीहरूमाथि गरिएको कारबाहीबाट उक्त राजश्व उठेको हो । सबैभन्दा बढी गत जेठ महिनामा मात्रै एक सय चार ट्रक/ट्रिपर, ६३ वटा बस, छ सय १३ वटा कार तथा जिप, ८२ वटा ट्र्याक्टर, चार सय ४६ वटा मोटरसाइकल र १२ वटा अन्य सवारीहरू कारबाहीमा पर्दा १२ लाख ९२ हजार रुपैयाँ उठेको छ ।
सबैभन्दा कम भने पुस महिनामा पाँच लाख ४६ हजार रुपैयाँ राजश्व उठेको छ । उक्त महिनामा ४३ वटा ट्रक÷ट्रिपर, ३० वटा बस, तीन सय ४१ वटा वटा कार तथा जिप, २६ वटा ट्र्याक्टर, दुई सय १५ वटा मोटरसाइकल र छ वटा अन्य सवारीहरू कारबाहीमा परेका छन् ।
यस्तै गत आर्थिक वर्षको पहिलो महिना साउनमा नौ सय ५० सवारीबाट सात लाख ३२ हजार पाँच सय, भदौमा सात सय सवारीबाट चार लाख ६९ हजार पाँच सय, असोजमा एक हजार चार सय सवारीबाट १० लाख ४७ हजार, कार्त्तितकमा एक हजार पाँच सय सवारीबाट ११ लाख २६ हजार, मङ्सिरमा एक हजार चार सय ५० सवारीबाट नौ लाख ३५ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको छ ।
माघमा सात सय ५६ कारबाहीबाट छ लाख ३४ हजार, फागुनमा आठ सय ११ सवारीबाट सात लाख ४३ हजार पाँच सय, चैतमा नौ सय २९ सवारीबाट आठ लाख ७४ हजार, वैशाखमा नौ सय ४३ सवारीबाट नौ लाख ५५ हजार र असारमा आठ सय ४५ सवारीबाट आठ लाख ११ हजार रुपैयाँ सङ्कलन भएको ट्राफिक प्रहरी प्रमुख ओझाले जानकारी दिए ।
एक वर्षको अवधिमा नौ सय ३८ वटा ट्रक÷ट्रिपर, छ सय ९३ वटा बस, छ हजार सात सय ३२ वटा कार तथा जिप, चार सय ७६ वटा ट्र्याक्टर, तीन हजार तीन सय ५२ वटा मोटरसाइकल र ७४ वटा अन्य सवारीहरू कारबाहीमा परेका छन् । तिनीहरूबाट क्रमशः छ लाख ३९ हजार, चार लाख ८१ हजार पाँच सय, पाँच लाख ८४ हजार पाँच सय, तीन लाख ३३ हजार पाँच सय, २७ लाख ७४ हजार पाँच सय र ४८ हजार रुपैयाँ राजश्व उठेको छ ।
ट्राफिक प्रहरी प्रमुख ओझाले सडक तथा सवारीका नियमहरू उल्लङ्घन गरेका जो कोहीलाई पनि कारबाहीको दायरमा ल्याउँदा राजश्व सङ्कलन बढ्नुका साथै दुर्घटना न्यूनीकरणमा पनि सहयोग पुगेको बताए । पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा केन्द्रित भएर भइरहेका अनुगमनहरूबाट पनि राजश्व सङ्कलनमा महत्त्वपूर्ण योगदान पुगेको प्रहरी नायव निरीक्षक ओझा बताउँछन् ।
ट्राफिक प्रहरीको उपस्थिति रहेको ठाउँमा पुग्दा सवारी चालकहरूले ट्राफिक नियमको पालना गर्ने भए पनि प्रहरीको दृष्टिबाट उम्किएपछि नियम उल्लङ्घन गर्ने गरेको पाइएपछि पर्वत ट्राफिक ग्रामीण क्षेत्रमा बाक्लिएको थियो । ट्राफिक प्रहरी युनिटहरू नभएको स्थानहरूमा चालक तथा यात्रुहरूको लापरबाही, ट्राफिक शिक्षाको कमी, सवारी चालक अनुमति पत्र प्राप्त नगरेकाहरूले पनि सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेलमेट नलगाई सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु राख्ने, छतमा तथा झुन्डिएर यात्रा गर्ने लगायतका लापरबाही नियन्त्रणमा लिनका लागि सदरमुकामबाट टाढा रहेका विभिन्न स्थान तहहरूमा पुगेर ट्राफिक प्रहरीले सवारी र चालकहरूको जाँच गरिरहेको र यसैको नतिजा स्वरूप हालसम्मकै उच्च राजश्व सङ्कलन भएको प्रहरी नायव निरीक्षक ओझाको भनाइ छ ।