पर्वत : पर्वतको जनसङ्ख्या र कार्यरत स्वास्थ्यकर्मीहरूको अनुपात हेर्दा एक जना स्वास्थ्यकर्मीले तीन सय ८७ जनालाई स्वास्थ्य सेवा दिनुपर्ने देखिएको छ ।
वि.सं. २०७८ सालमा भएको जनसङ्ख्यालाई आधार मानेर स्वास्थ्यकर्मीहरूको अनुपात निकालिएको र सन्तुलनमा भने नरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले बताएका छन् । जिल्लाका सात वटा स्थानीय तहहरूमा नागरिक र स्वास्थ्यकर्मीहरूको अनुपात एउटै खालको छैन ।
सबैभन्दा बढी कुश्मा नगरपालिकामा एक जना स्वास्थ्यकर्मीको भागमा पाँच सय ६० जना पर्दा सबैभन्दा कम महाशिला गाउँपालिकामा भने एक जनाको भागमा एक सय ९७ जना मात्रै रहेका छन् । जिल्लाको कुल जनसङ्ख्या एक लाख ३० हजार एक सय ५१ रहेको छ भने उनीहरूका लागि तीन सय ३६ जना स्वास्थ्यकर्मीहरू छन् ।
मोदी गाउँपालिकामा ५५ जनाले १८ हजार सात सय ९४ जनालाई, जलजला गाउँपालिकामा ४५ जनाले २१ हजार एक सय १९ जनालाई, फलेवास नगरपालिकामा ४५ जनाले २० हजार चार सय ६८ जनालाई, बिहादी गाउँपालिकामा ३५ जनाले १० हजार आठ सय २८ जनालाई र पैयुँ गाउँपालिकामा ४५ जनाले १२ हजार सात सय २५ जनालाई सेवा दिनुपरेको स्वास्थ्य कार्यालय पर्वतको तथ्याङ्क छ ।
मोदीका १७ वटा, जलजलाका १६ वटा, कुश्माका १७ वटा, फलेवास र महाशिलाका १२÷१२ वटा, बिहादीका सात वटा र पैयुँका १० वटा गरी ९१ वटा स्वास्थ्य संस्थाहरूमा ती स्वास्थ्यकर्मीहरू कार्यरत छन् । कार्यालय प्रमुख शर्माका अनुसार जिल्लामा ५० वटा स्वास्थ्य चौकी, तीन वटा अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, छ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र तीन वटा सामाजिक स्वास्थ्य इकाईबाट स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।
स्थानीय तहमा रहेको स्वास्थ्यकर्मीहरूको दरबन्दी र जनसङ्ख्या अनुपात हेर्दा धेरै माथि र धेरै तल देखिएको तर यो मिलानको अधिकार आफूहरूसँग नरहेको स्वास्थ्य कार्यालय प्रमुख शर्माले बताए । राज्यबाट तोकिएर आएका दरबन्दी र कतिपय स्थानीय तह आफैले सिर्जना गरेका दरबन्दीका कारण अनुपातको दर समान नभएको उनको भनाइ छ । जिल्लाको अवस्थाका बारेमा आफूहरूले सम्बन्धित निकायमा प्रतिवेदन र सुझाव पठाउने गरेको भए पनि अनुपात मिलाउनको लागि भनेर कुनै काम नभएको शर्माले बताए ।
‘जिल्लाको अवस्थाका बारेमा हामीले अध्ययन गर्ने, सुझाव दिने काम गर्ने हो । पहिलेको स्वास्थ्य कार्यालयको जस्तो शक्ति अहिलेको स्वास्थ्य कार्यालयमा नभएकोले दरबन्दी मिलाउने काम हामीबाट हुँदैन । फेरि कतिपय स्वास्थ्यकर्मीहरू स्थानीय तहहरूले नै दरबन्दी खडा गरेर राख्नुभएको छ’, उनले भने, ‘जिल्लाका स्थानीय तहहरूबिच स्वास्थ्य संस्था खोल्ने होडबाजी चलेको जस्तो देखिएको छ । जनसङ्ख्या नै न्यून भएको ठाउँमा भौतिक संरचना र स्वास्थ्यकर्मी राख्ने तर सेवा प्रवाह गर्नै नपर्ने अवस्था आउने देखिएको छ ।’
जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जि.सी.ले सरोकारवाला निकायहरू बसेर दरबन्दीको अनुपात मिलाउन र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रयास गरिने बताए । स्थानीय तहका प्रमुखहरू सहित जिल्लामा रहेका समन्वयकारी निकायहरूबिचको सहकार्यबाट स्वास्थ्य संस्था खोल्ने प्रतिस्पर्धाको अन्त्य गर्न आह्वान गरिने र स्वास्थ्यकर्मी र उनीहरूले हेर्नुपर्ने जनसङ्ख्याको अनुपात मिलाउन पनि आफूहरूले पहल गर्ने उनको भनाइ छ ।