बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

नागपञ्चमीपछि ‘लाखे’ नचाइरहेका कुश्माको नेवार समुदाय

पर्वत : वर्षौँ अगाडिसम्म ‘तीज’ र ‘लाखे नाच’ एक अर्काका पर्यायवाची जस्तै थिए। ‘तीज’ आयो भनेपछि ‘लाखे’ हेर्न पाइने भयो भन्ने खुसी त्यो बेलाका बालबालिकाहरूमा देखिन्थ्यो। बसाईँसराईँले गाउँ रित्ता बन्दै गएपछि गाउँ–गाउँबाट लाखे पनि लोप भएका छन्। प्रायः नेवार र दलित समुदायबाट लाखे नाच प्रदर्शन हुने गरेको थियो। त्यो लाखे हेर्नका लागि सात गाउँका मानिसहरू एकै ठाउँमा भेला हुन्थे, खेलकुद प्रतियोगिताहरू आयोजना पनि त्यही ठाउँमा हुन्थे।
गाउँबाट ‘लाखे नाच’ हराउँदै गएको बेलामा आधुनिक जीवनशैली र पश्चिमा संस्कृतिको प्रभावका कारण बजार क्षेत्रबाट पनि लाखे नाच लोप हुँदै जाने हो की भन्ने पिर छ। प्रौढ पुस्ताले यो नाच देखाउँदै आएको भए पनि अबको पुस्ताले के गर्ला? भन्ने चिन्ता छ।

नेपालका मौलिक कला, संस्कृति र पहिचान झल्काउने परम्परागत नृत्य, गीत, सङ्गीत लगायतका चलन हराउँदै जान थालेको बेलामा पर्वत सदरमुकाम कुश्मा बजारको नेवार समुदायले अहिलेसम्म पनि ‘लाखे नाच’ को रक्षा भने गरिरहेको छ। शुक्रवार सोमबार दिउँसो सदरमुकाम कुश्मा बजारमा नाचको सुरु गरेपछि साँझसम्म लाखेसँगै नाच्दै हिँड्नेहरूको सङ्ख्या बढेको देखिन्थ्यो। भूत भनी व्याख्या गरेकै स्वरूपमा देखा पर्ने लाखेको नजिकै पुगेका बालबालिकाहरू ‘चे लाखे भूत’ भन्दै जिस्काउँदा लाखेले पनि दौडिएर उनीहरूलाई जिस्क्याइरहेका थिए।

नागको पूजा सम्पन्न गरेपछि कुश्माका नेवार समुदायले बजार परिक्रम गर्दै ‘लाखे नाच’ देखाए। नेपालका मौलिक नाचहरूमध्येको एउटा ‘लाखे नाच’ हरेक वर्ष प्रदर्शन गर्दै आएका उनीहरूले यस वर्ष पनि प्रदर्शन गर्न सुरु गरेका छन्। लाखे नाच्न जान्ने र युवा पुस्ताले यसको महत्त्व नदिँदा हराउँदै जान थालेको छ। तर यसको संरक्षणको महत्त्व बुझेकाले कुश्मा नगरपालिका–५ मा रहेको नेवाः सांस्कृतिक समूहले यसको संरक्षण गर्दै आइरहेको छ। कुश्मा नगरपालिका सहित जिल्लाको फलेवास नगरपालिका सहित अन्य स्थानीय तहमा बसोबास गर्दै आइरहेका नेवार समुदायले पनि नागको पूजा गरेपछि शुक्रवारदेखि नै लाखे नचाउन सुरु गरेका छन्। नाग पञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म हरेक दिन सदरमुकाम कुस्मा बजारमा ‘लाखे नाच’ देखाउन सुरु गरिएको हो।

सदरमुकाममा बसोबास गर्दै आएका नेवारहरूले जन्माष्टमीसम्म पाँच प्रकारका नाचहरू देखाउने गरेका छन्। स्थानीय राम श्रेष्ठका अनुसार नाग पञ्चमीको दिनदेखि सुरु भएको ‘लाखे नाच’ कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ। जनपूर्णिमासम्म ‘लाखे नाच’ तथा त्यसपछि रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा र हनुमान नाच प्रदर्शन गरिने उनले बताए।

नेवार समुदायमा रहेको किंवदन्ती अनुसार भूतप्रेतहरू मानिसमा लागेर सताउने भएकाले उनीहरूले मानिसलाई दुःख नदिउन् भन्नका लागि ‘लाखे नाच’ को प्रचलन सुरु भएको थियो। लाखे भूतकै अवतारमा आएको देख्दा भूतले मानव जातिले आफूलाई समर्थन गरेको बुझ्दा मानिसलाई दुःख नदिने विश्वास रहेको श्रेष्ठ बताउँछन्। अर्कोतर्फ जेठ, असार र साउन महिनामा धान र कोदोको रोपाई तथा गोडमेलमा व्यस्त भएकाहरूले भदौमा आइपुग्दा काम सक्छन्। तर उनीहरूको थकान भने मेटिएको हुँदैन। यही कारण लाखे नाचको मनोरञ्जनबाट उनीहरूको थकान मेटाउनको लागि पनि यो नाचको महत्त्व रहेको उनको भनाइ छ।

बजारमा हरेक दिन ‘लाखे नाच’ प्रदर्शन गर्दा खर्च हुने भएकोले कोष मार्फत लाखे नचाउने गरिएको छ। धेरै वर्षअघि स्थापना भएको कोषमा केही रकम रहेको छ भने र त्यसैबाट जात्रा र नाचका लागि खर्च हुने गरेको छ। उक्त कोषबाट ‘लाखे नाच’ मात्र होइन नेवार समुदायभित्रका कोही पनि व्यक्तिलाई अप्ठ्यारो परेको बेलामा आर्थिक सहयोग पनि गर्ने गरिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive