हामी नेपाली हाम्रो मौलिक संस्कृतिमा धनी छौ ।नेपाली संस्कृति धनी बन्नुमा हाम्रा मौलिक चाडपर्वको ठुलो भूमिका रहेको छ ।हामीले मनाउँदै आएका चाडपर्वहरु हाम्रो दैनिक जनजीवन संग सम्बन्धित रहेका छन् । यी चाडपर्वहरु कुनै नारी संग सम्बन्धित छन् भने कतिपय पर्वहरु पुरुष संग सम्बन्धित छन् ।
तर अधिकांस पर्व नारी–पुरुष दुवैले मान्ने सामाजिक पर्व छन् । यिनै अनेक पर्वहरु मध्ये प्रत्येक वर्ष भाद्र शुल्क तृतीयाका दिन मनाइने तीज स्त्री जातिका लागि महत्वपूर्ण चाड मानिन्छ । तीज हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । यो पर्व भाद्र शुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ । भाद्र शुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमवार परेमा तीजको महत्व बढ्छ । यी तीन चीजबाट जन्मिएको हुनाले त्रीज भन्ने संस्कृत शब्दबाट तीज शब्दको प्रयोग भएको देखिन्छ धार्मिक तथा संस्कृति दृष्टिले पनि नित्य कर्म सकेर निराहार भई शिवजीको आराधना गर्नाले जन्म जन्मान्तरको पाप नाश हुने, परापूर्वकालमा पार्वतीले श्री महादेवलाई पती वरण गराउन र भाग्यको वृद्धि , सन्तानको कल्याणका साथै इह लोकदेखि परलोकसम्म कल्याणकारी मानिने यो पर्व सामाजिक सन्दर्भका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ ।
तीजको सामाजिक पक्ष
तीजमा माइती घर पुग्नु चेलीका लागि महत्वपुर्ण अवसर हुन्छ तीज पर्व भन्नासाथ हामी चेली माइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन्। दर खान्छन आफ्ना साथीभाई तथा दौतारिहरु संग नाचगान गर्छन ।
दर के हो ?
तीजको अधिल्लो दिनलाई दर खाने दिनले चिनिन्छ ।दरमा मीठा–मीठा तागत दिने खालका भोजन तयार गरेर खाइन्छ । खासगरी विवाह गरेर माइती घर छोडेर घरमा पठाएका चेलीलाई दाजुभाइ वा बुबाले छोरीका सासुससूरासँग अनुमति मागी लिन जाने चलन रहेको छ । माइती घर आएपछि तीजको दर खाने दिनमा मात्र माइतीले छोरी चेलीलाई दूधबाट बनेका स्वादिष्ट परिकार खुवाउने हुँदा यसको पौराणिक महत्व रहेको छ ।
यसर्थ तीजको अघिल्लो दिन दर खाने चलन रहेको छ ।दर खानु भनेको भोलिपल्ट व्रत बस्नेका लागि दरिलो खाद्यवस्तु समावेश भएका विभिन्न प्रकारका खाद्यान्नका परिकार खाएको खण्डमा व्रत वस्न सक्ने हुन्छन् भन्ने उदेश्यले तयार पारिएको खाद्य बस्तु हो । यसमा खासगरी दूधबाट बनेका परिकार खीर, सेल रोटी, दूध, दही र घिउमा पकाएको भात, स्थानीय उत्पादन आलु, तामा घिरौला चिचिँन्ड़ोको तरकारी साँझमा छोरी चेलीसँगै बसेर स्वादले खाने, केही घण्टा सुतेर १२ बजे आसपासमा राति खीर वा यस्तै स्थानीय परिवेश अनुसार उपलब्ध स्वादिष्ट भोजन खाएर सुत्ने सनातन देखिको चलनलाई दर खाने भनिन्छ ।
तीजका गीत खासगरी दुई प्रकारका छन्। एउटा महिलाका मनोवेदना र चाहनासँग सम्बन्धित छ भने अर्को शिव पार्वतीको आराधना गर्ने भजनसँग सम्बन्धित छ। पहिला पहिला छोरीहरूको रजस्वला नभई विवाह गरिदिने र टाढा माइती हुने अनि सधैँ माइत जान नपाइने कारण तीजका गीतमा महिलाले सासू, जेठानी वा पतिबाट पाएका वेदना वा भोगाइ पोखिने गरेको पाइन्छ । तीजमा माइत जान नपाउने चेलीले गीतको माध्यमबाट यसरी आफ्ना बह पोख्छन् ।
“तीजमा माइत नपठाउने कति कर्रो घर पनि
रुँदै रुँदै खाए आमा राति दरपनि ”
“लेक फुल्यो लालीगुराँस, बेसी फुल्यो टुनी बरिलै
जम्नै किन हेपिएको, यो छोरीको जुनी बरि लै”
“बाबाका दैला मुनि सूर्यमुखी फूल फुल्यो
टिपिन मैले शीत छ भनेर
माइती छनजेल एक छिन कपाल कोरिन
बाबाको काम बित्छ भनेर”
तीजको धार्मिक पक्ष
शास्त्रीय विधान अनुसार तीज पर्वका दिनमा नारीहरूले पानीसमेत नखाई उपवास बस्छन् । यस दिन कुनै नारीले पानी खाएमा उसले आफ्नो पतिको रगत पिएको बराबर पाप लाग्छ भन्ने कुरा धार्मिक किंवदन्ती रहेको पाइन्छ । तसर्थ उक्त अवसरमा पानीसमेत नखाई उपवास बस्ने पनि प्रचलन छ । प्राचीन समयमा पार्वतीले शिव वर पाऊँ भनी तीजको व्रत गरेको हुनाले नै पार्वतीले शिव वर पाएकी हुन भन्ने धार्मिक शास्त्रमा उल्लेख छ । तर आजकाल विवाह पूर्वका कन्या केटीहरु समेत हरितालिका व्रत बस्छन्, किनकि पार्वतीले शिव वर पाएजस्तो आफूले पनि चिताएको वर या राम्रो सुयोग्य वरको कामनाका साथ उपवास बस्ने प्रचलन छ ।
यो पर्वमा महिलाहरूले निर्जल, निराहार उपवास बस्ने चलन हुन्छ । श्रीमान भक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमानको दीर्घायु, सुस्वास्थ्य र प्रगति हुने मान्यतामा आधारित छ ।
“बिनती गर्दछौं महादेव हामि
जुग जुग जिउन् शिरका स्वामी”
यस पर्वका दिन बिहान महादेवको पूजा–आजा गरी नजिकको शिव मन्दिरमा गएर पूजा–अर्चना गरेर सम्पन्न गरिन्छ । यस दिनमा प्रत्येक विवाहित, नारीहरूले आ–आफ्नो पुरुषको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछन् भने अविवाहित स्त्रीहरूले राम्रो पति पाइयोस् भन्ने कामनाका साथ यो व्रत बस्ने गर्दछन् । सकेमा त पुरुषहरुले पनि यो व्रत बस्न नहुने त होइन । यसबाट धार्मिक तथा शारिरिक स्वास्थ्यको लागि पनि लाभदायक नै हुन्छ ।
विवाह गरेर आफ्नो घरमा गएको चेलीहरूले घरमा सबैको बुहातन, अपमान सहनुपथ्यो । यो क्रम अहिले पूरै सकिएको छ भन्न सकिन्न । यस्ता किसिमका विगतका तीता मनको दुःख पीडालाई पोख्ने माध्यम यस अवसरमा मिल्छ ।
“आगनीमा काउली लायो कदमको छायाँले
सातै नदी तरी आए आमा हजुरकै मायाले”
यस पर्वमा महिलाहरुले आफ्नो जन्मघर छोडी कर्म घर जाँदा, बस्दा भोग्नुपरेका दुःख वेदनाहरूलाई लयात्मक ढंगबाट गीतको माध्यामबाट व्यक्त गरी रमाइलो गर्ने गर्दछन् । नारीहरूलाई आफ्नो माइती प्रतिको माया, मोह र स्नेह ज्यादै नै गहिरो रहेको छ भन्ने कुरा पनि यस पर्वबाट स्पष्ट हुन्छ । आफ्नो माइती घरमा संगै खेलेर बसेका संगिनीसँग भेटघाट गरी विगतका मीठा–नमिठा भोगाइलाई गीतको रुपमा व्यक्त गर्दछन् ।
“बाबाको दैला मुनी सुन्तलाको बिरुवा
सिमसिमे पानीमा सारम बरिलै
तिम्रो र हाम्रो ज्यादै पिरिम बस्यो
धीरे धीरे माया मारम बरिलै”
धेरै दिन सम्म छुटिएर रहेका साथी–सँगिनी, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीको मिलन हुने दिन हो तीज । अनि राम्रो मीठो खाने र वर्ष दिनको मनको बह पोख्ने दिन पनि हो । त्यसैले यो दिनलाई नारीहरूको दुःख पोख्ने दिनको रुपमा चिनिन्छ ।आजकल सामाजिक विकृति र समस्याहरू लाई तीज गीत को रुपमा प्रस्तुत गर्ने गरेको पाइन्छ ।
“शिक्षक पाइलट डाक्टरको जिम्मेवारी माथमा
देशको सेवा गर्ने वेला भिसा हातमा ।
तल्लो बाटो अमेरिका जाने युवा लस्कर
दिनदिनै चम्किदैछन मानव तस्कर ।
सरकारले हेरिरहन्छ रमिते झै बनेर
जनताले मन बुझाउने को छ भनेर”
यस प्रकार तीज गीतको माध्यमबाट समाजका तत्कालिन मुद्दाहरु उठान गरि सम्बन्धित निकायको ध्यान आकर्षण गर्ने गरेको पनि पाइन्छ ।
“चिटिक्कै भा छुरे यो रातो सारीले
चुरा र पोते विन्दिया लाको सुहाउछ नारीले ”
तीजमा महिलाहरूले प्रयोग गर्ने गहना र पहिरनको छुट्टै महत्व रहेको पाइन्छ । धार्मिक सँस्कार युक्त तीज सर्व मान्यतामा आधारित छ । सो दिन महिलाहरूले लगाउने रातो साडीले सुख, समृद्धि र साहसको प्रतीकको रुपमा मानिन्छ । रातो रंगले माया सँगै अलौकिक शक्ति प्रदान गर्ने विश्वास पनि गरिन्छ । पहिरिएको पोतेले शान्ति र आनन्दलाई इंगित गर्दछ भने रातो टीकालाई सौभाग्यको रुपमा हेरिन्छ । स्वच्छ हृदय भएर ब्रत बस्नाले मनोकांक्षा पुरा हुने धार्मिक विश्वासमा तीज आधारित छ
अन्ततः विगतका दिनमा यो पर्व धार्मिक, सामाजिक एवं सांस्कृतिक पर्वको रुपमा मात्र थियो भने हाल आएर धन गहना प्रदर्शन गर्ने अवसरको रुपमा विकसित हुन थालेको देखिन्छ । नेपाली ग्रामीण जीवनका नारीहरूको जीवन सिंगो अभिव्यक्ति बोक्ने यो पर्वलाई विकृत बन्न दिनु हुदैन । देश, विदेश जहाँ भए पनि समग्रमा नेपालीहरु को प्रिय पर्व हो तीज । यसमा सम्पूर्ण नारीहरूले आ–आफ्नो शास्त्रीय र परम्पराको विधान अनुरुप पर्व मनाउनु आजको आवश्यकता हो । यसरी परम्परागत रुपमा चल्दै आएको हाम्रो धार्मिक र सामाजिक पर्व तीजलाई आगामी भावी पुस्ताहरूमा समेत सहि तरिकाबाट हस्तान्तरण गर्नुपर्ने हाम्रो जिम्मेवारी हो ।
खेमराज शर्मा चापागाईं, कुश्मा ६, पर्वत