पर्वत : शनिवार कुश्मा र आसपासका क्षेत्रमा रहेका वधशाला तथा मासु पसलहरूमा गरिएको अनुगमनलाई दोस्रो दिन आइतबार पनि निरन्तरता दिइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत शनिवार कुश्मा र अर्मादीमा रहेका वधशाला तथा मासु पसलहरूमा छड्के अनुगमन गरिएको हो । चाडबाडको बेलामा हुन सक्ने कालो बजारी, मनपरी मूल्य निर्धारण, अखाद्य बस्तुको व्यापार लगायतका गैह्र कानुनी कामहरू भएका भए नियन्त्रण गर्नका लागि अनुगमन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख डा. ऋषभ गुरागाईँले बताउनुभयो ।
आइतबारको अनुगमनको क्रममा सबैभन्दा बढी समस्या ब्रोइलरको मासुको मूल्य निर्धारणमा रहेको पाइएको छ । बजारकै एक ठाउँको पसलले खुद्रा मूल्यमा प्रति किलो ब्रोइलरको मासु बिक्री गरेको बेलामा केही टाढा रहेको अर्को पसलले प्रति किलो चार सय ४० रुपैयाँमा बिक्री गरेको पाइएको छ । एक किलो मासुमा नै ८० रुपैयाँको फरक परेपछि अनुगमन टोलीले यसलाई गम्भीर रूपमा लिएको छ । कुश्मामा मासुको आपूर्ति गर्ने डिलरहरू ३÷४ मात्रै रहेको र उनीहरूले खुद्रा पसलमा दिने मूल्य करिब समान खालको भए पनि खुद्रा बिक्रेताहरूले भने आफूखुसी मासुको मूल्य राखेको छ ।
यसको नियन्त्रणको लागि सोमबार जिल्ला प्रशासन कार्यालय पर्वतमा अनुगमन टोली सहित डिलरका प्रतिनिधि र अन्य सरोकारवालाहरूको बिचमा छलफल राखिएको छ । अनुगमनमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले यसको समाधान जसरी पनि गर्नुपर्ने बताउँदै बजारमा मूल्यको अवस्था ठिक नभएको बताउनुभयो ।
अनुगमन टोली आइतबार नै राँगा र भैँसीको वधशालामा समेत छड्के अनुगमन गरेर बिना दर्ता चलेका तथा मापदण्ड पूरा नभएकाहरूलाई अबदेखि उक्त स्थानबाट कारोबार गर्न निषेध गरेको छ । वध गर्नुपर्ने भएमा अनुमति प्राप्त र मापदण्ड पूरा गरेका वधशालामा मात्रै वध गर्न निर्देशन दिइएको छ ।
अनुगमनको क्रममा मूल्य सूचि नभएको, बिल प्रयोग नभएको, धेरै दिनदेखि राखेको मासु बिग्रिने अवस्थामा पुगेको, पसलमा बोर्ड नराखिएको, अचानो फोहोर भएको, कुखुरा पाल्ने ठाउँ र वधशाला सिधै जोडिएको लगायतका समस्याहरू रहेको पाइएको छ । समस्या देखिएका ठाउँहरूमा सात दिनभित्र निर्देशन दिइएअनुसारको सुधार गर्न ताकेता गरिएको छ ।
अनुगमनमा कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख डा. ऋषभ गुरागाईँ, पशु विकास अधिकृत पुष्पराज बास्तोला, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, कृषि प्रसार अधिकृत प्रेम प्रसाद आचार्य, नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापा, उपभोक्ता महासङ्घका अध्यक्ष सरिता भण्डारी, उद्योग वाणिज्य सङ्घ पर्वतका प्रतिनिधि भीमबहादुर नेपाली, पर्यटन तथा घरेलु उद्योग कार्यालयका अधिकृत नारायणदत्त पाध्या लगायत सहभागी हुनुभएको थियो।
चाडबाडको बेलामा मासु तथा मासुजन्य पदार्थको आपूर्ति बढ्ने र त्यही मौका पारेर उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपले असर गर्ने खालका कारोबारहरू हुन सक्ने भएकाले अनुगमन बाक्लो पारिएको पशु विकास अधिकृत बास्तोलाले बताए । अनुगमनको क्रममा आर्थिक मन्दी प्रभाव लगायतका कारण मागमा कमी हुँदा कतिपय व्यवसायीहरू विस्थापित भएको, अनुदान दिएर निर्माण गरिएका वधशाला बन्द भएको लगायतका अवस्थाहरू पनि देखिएको छ ।