बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

कुश्मा बागलुङ बैकल्पिक सडक नहुँदा नागरिकलाई सास्ती

पर्वत : पर्वतको कुश्मा नगरपालिका–५, मेलमिलाप चोकमा व्यवसाय गर्दै आएका ठाकुर भुसालकी श्रीमती यशोदा आचार्य भुसाल छिमेकी जिल्ला बागलुङ सदरमुकाममा रहेको एउटा वित्तीय संस्थामा काम गर्छिन्।

 

 

कोरोना कहरका कारण सार्वजनिक सवारी नपाएको बेला पनि उनलाई आन्तरिक रूपमा काम गर्न कार्यालय जानुपर्छ। उनका श्रीमान् ठाकुर श्रीमतीलाई छोड्न प्रायः बागलुङ आउजाउ गरिरहन्छन्।

तीन दिनअघि उनी सधैँ झैँ बागलुङ गए। जाँदै गर्दा बाटो ठीकै थियो। तर, फर्किने बेला त पहिरो खसेर बाटो नै बन्द! नजिकको साथी कोही बिरामी रहेको कारण उनलाई कुश्मा नआई पनि भएको थिएन, तर, आउने बाटो पनि छैन। पर्वतका पत्रकार, प्रहरी र साथीलाई बाटो खुल्यो कि नाइँ भन्दै दिनभर मोबाइलमै झुलेर उनको समय बित्यो।

असार मसान्त अर्थात् खाता बन्द गर्ने बेलाका रूपमा चिनिएको नयाँ आर्थिक वर्ष शुरूवातमा कार्यालयमा हरेक कर्मचारीलाई भ्याई नभ्याई हुन्छ। गुराँस लाइफ इन्स्योरेन्सका धौलागिरी हेर्ने विष्णुप्रसाद तिवारी पनि हतार हतार बागलुङ जाँदै थिए। तर, जब उनी कुश्मा नगरपालिकाको नयाँ पुलमा पुगे पहाड जत्रा ढुङ्गा सडकमा खसेर बाटो अवरुद्ध भएको देख्दा आश्चर्य सहित दुःखी हुँदै पर्वतै फर्किए।

भुसाल र तिवारी त उदाहरणका एक/दुई पात्र मात्र हुन जसले कुश्मा–बागलुङ सडक खण्ड बन्द हुँदा पिडा भोग्छन्। बागलुङबाट कुश्मा भन्दा पनि कुश्माबाट बागलुङ गएर सरकारी तथा निजी जागिर गर्नेहरूको सङ्ख्या धेरै छ।

समयमै कार्यालय नपुगे हाकिमले रातो लगाइदिने डर, अर्कोतर्फ पहिरो र बाढीमा आफैँ बग्ने खतरा पनि। बागलुङ–पर्वत आउजाउ गर्ने उनीहरूलाई अहिले एउटै पछुतो छ की खोला, खोल्सा र भिर पार गर्दै बागलुङ पुग्ने सडकको विकल्पमा अर्को सडक छैन।

सडक खण्डका ठाउँ–ठाउँमा सानादेखि ठूला खहरे/खोल्सा छन्, जहाँ हिउँदमा पानीको थोपा देख्न पाइँदैन। तर, बर्खामा मोटरसाइकल र मान्छे नै बगाउने गर्छ। कहीँ भीरबाट पहिरो खसेर घण्टौँसम्म यातायात सञ्चालनमा अवरोध आउँछ।

यस्तै समस्या खेपिरहेका र अन्य कामका लागि पनि उक्त सडकमा आउजाउ गर्ने धेरैलाई हालको मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा मालढुंगा खण्डको विकल्प भइदिए हुँदो हो भन्ने लाग्छ। वैकल्पिक सडकको लागि पटक–टक कुरा उठ्ने गरेको भए पनि त्यसको प्रगति भने देखिँदैन, जुन नभई भएको छैन। यो समस्या समाधानको लागि जनताले आवाज उठाउँदै आए, नेताहरूले हुन्छ भनी नै रहे। यसको बारेमा संसदमा समेत व्याख्या हुँदा राज्यको आँखा भने पुगेको छैन।

२०७४ सालको सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका पूर्व सांसद अर्जुनप्रसाद जोशीले चुनावी घोषणापत्रमा नै विकल्पको रूपमा घुम्ती–खनियाघाट (वा मालढुंगा) बोलेको भए पनि उनले चुनाव हारे। अब भने आफूले डीपीआरको लागि प्रस्ताव टेबल गरेकोले विकल्प पाइने उनको भनाइ छ।

‘पोखरा–बागलुङको सडक बढेर कर्णालीसम्म पुग्ने र कोरलासम्म जाने भयो। गाडीको चाप बढ्दै गएको छ। म सांसद छँदा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की हुनुहुन्थ्यो, त्यो बेलामा पार्लियामेन्टमा बोलेको थिए र डबल लेनको सडक माग गरेँ,’ पूर्व सांसद जोशीले भने, ‘सामान्य दुर्घटना र बाढीका कारण पनि २/४ दिनसम्म पनि सडकमा आवागमन देखियो। ०७४ को चुनावमा नै मैले चुनावी घोषणापत्रमा मैले वैकल्पिक राजमार्गको रूपमा राखेको थिएँ। घुम्तीदेखि लाम्पाटासम्म त काम भएको छ, अब त्यसमा थप हुनुपर्छ। मालढुंगासम्म समस्या आएमा केही पनि हुँदैन।’

वैकल्पिक बाटोलाई अहिले चलिरहेको मध्यपहाडी लोकमार्ग भन्दा माथि रहेको बस्तीबाटै लैजान सकेमा जिल्लाको उत्तरी क्षेत्रले पनि सडक पाउनुका साथै कृषि र औद्योगिक विकास पनि हुने उनको भनाइ छ। आफूले ०७४ को चुनाव हारेपछि वैकल्पिक सडकको मुद्दा ओझेलमा परेको बताउँदै जोशीले आफूले डीपीआरको लागि प्रस्ताव टेबल गरेको र त्यो पास भएमा समस्या नआउने बताउँछन्।

निवर्तमान सङ्घीय सांसद पदम गिरीले पनि आफ्नो ठुलो इच्छा कुश्मा–बागलुङ सडकको वैकल्पिक सडकको निर्माण गर्नु रहेको बताए। आफूले नेपाल सरकारसँग यसको महत्त्वको बारेमा कुरा गरेको बताउँदै उनले वैकल्पिक सडकको रूपमा घुम्ती–लाम्पाटा–खुर्कोट–पाङ हुँदै खनियाघाटको विकल्प नरहेको र काम पनि भइरहेको उनको भनाइ छ।

‘कुश्मा–बागलुङ सडकको विकल्प नभई भएको थिएन। यसका मैले नेपाल सरकारसँग कुरा गरेपछि बजेट विनियोजन भएको थियो। गएका दुई आर्थिक वर्षबाट काम भई रहको छ,’ गिरी भन्छन्, ‘त्यो कामलाई पूर्णता दिएर अगाडि जान म लागि परेको छु। एक आर्थिक वर्षमा ५० लाख आएको हो क्यारे! अर्कोमा पनि किस्तामा आएको छ बजेट।’

पूर्व सांसदहरूको सपनामा वैकल्पिक सडक घुमिरहेको भए पनि वैकल्पिक सडक नभएकै कारण नागरिकले दुःख भोगिरहनु परेको छ। सडक निर्माणको काम धेरै पहिलेबाट शुरू भइरहेको र त्यसलाई वैकल्पिक सडकका रूपमा लिने भनिएको भए पनि सडक निर्माणले तीव्रता नपाएको खुर्कोटबासीको भनाइ छ।

घुम्तीबाट सडकको काम केही वर्ष पहिले नै शुरू भएको भए पनि लामो समयसम्म काम त्यसै रह्यो। सम्बन्धित निकायमा बारम्बार डेलिगेसन गएपछि काम शुरू भएको भए पनि काम भने जे जति मात्रामा हुनुपर्ने त्यो नभएको स्थानीयको गुनासो छ।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive