मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

बाढीले पाइपलाइन बगाउँदा कुश्मामा पानीको हाहाकार

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा पछिल्ला चार दिनयता पिउने पानीको चरम अभाव भएको छ। वर्षासँगै बढेको बाढी र पहिरोले खानेपानीका पाइप तथा मुहानमा क्षति पुर्‍याएपछि पानीको हाहाकार भएको हो। असार २२ गते राति कुश्मा नगरपालिका–८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले कुश्मामा पानीको आपूर्ति गर्न बिछ्याइएको पाइप क्षतविक्षत बनाएपछि सदरमुकाममा पानीको अभाव भएको हो।

मोदी गाउँपालिकामा रहेको पाती खोलाको मुहानबाट ल्याइएको उक्त पाइपलाइन कुश्मामा पानीको आपूर्ति गर्ने मुख्य योजना हो। बाढीले क्षति पुर्‍याएको योजना वर्षाकै कारण मर्मत गर्न नसकिँदा पानीको चरम संकट भएको हो। उक्त पाइपलाइनबाट प्रतिसेकेण्ड १८ लिटरसम्म पानी आउने गरेको थियो।

कुश्मामा पानीको आपूर्ति गर्दै आएको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले भीरमा राखेर ल्याइएको पाइपमा बाढीले क्षति पु¥याएको र वर्षाका कारण मर्मत गर्न नसकिएको बताए।

‘पानीको चरम अभाव भएको छ। हामीले चाहेर पनि आपूर्ति गर्न सकिरहेका छैनौँ। सुन्दरे खोलाले भीरमा रहेको पाइप दुईतिर हुने गरी भाँचिदिएको छ’ उनले भने, ‘वर्षा हुँदा साथ सुन्दरे खोलामा बाढी आइहाल्छ, त्यो बेलामा मर्मतको लागि जाने कुरै भएन। भीर चिप्लो छ। घाम नलागेसम्म मर्मतको लागि जाँदा दुर्घटनाको जोखिम छ।’

कुश्मामा पानीको आपूर्ति गर्ने अर्को मुहान कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको क्यादी खोला हो। यो आयोजनामा पनि बाढी र पहिरोले पटक–पटक क्षति पुर्याउने गरेको छ। खोलामा बाढी आउँदा साथ मुहान पुरिने गर्दछ।

संस्थाका प्रबन्धक राजेन्द्र रोकाका अनुसार पानी आपूर्तिको लागि राखिएका चार ठूला ट्याङ्कीमा क्यादी खोला र पाती खोला दुवै तर्फको मुहानबाट दैनिक २६ लाख लिटर पानी आउने गरेको छ। त्यसमध्येको करिब २० लाख लिटर खपत हुने गरेको छ। बजारमा संस्थामार्फत दुई हजार पाँच सय ६१ ओटा धारा जडान गरिएका छन्।

असारे हिलो जस्तो धमिलो पानी

पाती खोलाबाट आउने पानीमा खासै समस्या हुँदैन। तर खुर्कोटको क्यादी खोलाको मुहानबाट ल्याइएको पानीमा हरेक वर्ष समस्या हुने गरेको छ। खोला आसपासमा खेत रोपाइँ हुने भएका कारण खेतका गराबाट धमिलो पानी खोलामा जान्छ, त्यही पानी पाइपमा बग्दै कुश्मा आइपुग्छ।

यही कारण यति बेला कुश्मा बजारमा जसोतसो पाइने एक गाग्री पानीको रङ रोपाइँ भएका गराको पानी जस्तै जस्तै छ। एक त धारामा पानी नआउने र आएको बेलामा पनि प्रयोग गर्नै नमिल्ने खालको धमिलो पानी आउँदा दैनिकीमा समस्या भएको मेलमिलाप चोकका उपभोक्ता विष्णु श्रेष्ठले बताए।

‘हामीले त जारको पानी किनेर खाएका छौँ। लगभग सय रुपैयाँमा एक जार पानी किनेर त्यही पानीले ट्वाइलेट सफा गर्नेदेखि कपडा पनि धुनु परेको छ। एक त धारामा पानी आउँदैन, आए त्यस्तो धमिलो पानीको के काम ?’ उनले भने, ‘आज चार दिन भयो जारको पानी किन्दै खाएका छौँ।

मान्छेलाई जारको पानी किनेर खान पनि त कठिन छ।’ सबैले जारको पानी किन्न नसक्ने र बजारमा जारको पानीको समेत अभाव हुँदै गएपछि बिहान र बेलुकाको समयमा कुश्माबाट करिब आधा घण्टाको पैदल यात्रा गर्दै वडा नं ७ खरेहामा राहेका पानीका मुहानमा पानी खोज्दै हिँडिरहेका धेरै भेटिन्छन्।

बजारमा समस्या पर्दा प्रायः खरेहामा रहेको धारोको पानी बोकेर नै ल्याउनुपर्ने अवस्था छ। संस्थाका प्रबन्धक रोकाले क्यादी खोलाबाट आएको पानी मात्र बजारमा पठाइएको र त्यो मुहानबाट नै यस्तै समस्या भइरहेको बताए।

धमिलो पानी बजारमा पठाउन आफूलाई रहर नभई बाध्यता भएको उनको भनाई छ। ‘पानी धमिलो आएको छ। त्यो पानी गुणस्तरको होइन, हामीले बजारमा नपठाउनुपर्ने हो। तर त्यही धमिलो पानी पनि नपठाउने हो भने त पानी बिना मर्नुपर्ने अवस्था आउँछ।

बरु घरमा कुनै उपायले प्रशोधन गरेर खानुहोला नागरिकले भन्ने लागेर नै पठाइएको छ’ उनले भने, ‘दुई ठाउँमा प्रशोधन केन्द्र राखिएको छ। धमिलो आएको बेलामा आयात नै बन्द गर्न हुन्थ्यो, तर कुन बेला धमिलो आइदिन्छ पत्तै हुँदैन। फिल्टर र ट्याङ्की सफा गरेर पानी हाल्यो, उताबाट धमिलो पानी आउँछ। उस्तै बनाइहाल्छ।’ धारामा आएको पानी हेर्दा धमिलो देखिए पनि ब्याक्टेरिया मार्नको लागि क्लोरिन हालेर पठाएका कारण पानीले असर नगर्ने उनको भनाई छ।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive