असार २९, २०७८
पर्वत : विभिन्न सामाजिक तथा धार्मिक उत्सव र जन्मोत्सवमा साथीभाइ जम्मा पारेर रमझमका साथ मनाउने चलन कम हुँदै गएको छ। सामाजिक सेवामा हात हालेका पाका तथा युवा पुस्ताका व्यक्तिले त्यस्ता अवसरमा सामाजिक काममा आर्थिक सहयोग गर्ने चलन बढिरहेको छ।
यही परिवेशमा जिल्लको कुश्मा नगरपालिका–१ पाङका एक व्यक्तिले आफ्नो छोराको व्रतबन्धमा लाग्ने खर्चमा कटौती गरेर नजिकै रहेको विद्यालयमा निजी स्रोतमा शिक्षक राख्नको लागि अक्षयकोषको स्थापना गरेका छन्। पाङको ज्योतिष थर निवासी रामचन्द्र रिजालले छोरा वशुनन्दनको व्रतबन्धको खर्च कटाएर स्थानीय पाङ धैरेनी माविलाई ५० हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।
गाउँघरमा सबै बालबालिकाहरू निजी विद्यालयमा जान नसक्ने र सामुदायिक विद्यालयमा शैक्षिक सुधार नगरे सम्म विद्यालय शिक्षा राम्रो नहुने भएकाले व्रतबन्धको फजुल खर्च कटाएर विद्यालयलाई सहयोग गरेको बशुनन्दनका ठुलो बुवा पदपमाणी रिजालले बताए। बशुनन्दनका बुवा रामचन्द्र पोर्चुगलमा कार्यरत छन्। ‘पाङधैरेनी मा.बिमा अहिले शैक्षिक र भौतिक सुधारका लागि धेरै राम्रा प्रयासहरू भइरहेका छन्। गाउँलाई राम्रो बनाउन गाउँकै विद्यालयमा सुधार गर्नुपर्छ, विद्यालयले पनि राम्रो गरिरहेको छ’ पदमपाणीले भने, ‘गाउँका बाबु नानीले गुणस्तरीय शिक्षा पाउन सकुन् भनेर व्रतबन्धको फजुल खर्च कटाएर अक्षयकोष बनाउन सहयोग गरेका हौँ। पोर्चुगलबाट भाइले पनि केही सामाजिक सेवा हुने खालको काम गर्ने भनेको थियो।’
उनले कोभिडको समय भएकाले इष्टमित्र, आफन्तजन बोलाउने र भोजभतेर लगाउने सम्भावना पनि नभएको अवस्थामा खर्च कटाएर विद्यार्थीको शैक्षिक सुधारका लागि सहयोग गर्न पाएको खुसी लागेको बताउँदै विद्यालयमा भइरहेको सुधारका लागि सहयोग गर्न सबैलाई आह्वान पनि गरेका छन्।
विद्यालयका शिक्षक जयराम सुवेदीका अनुसार पाङ धैरेनी माविले विगत एक वर्ष देखि विवाह, व्रतबन्ध, चौरासी पूजा, पास्नी र अन्य पारिवारिक तथा सामाजिक कामका क्रममा गरिएको सहयोगबाट अक्षयकोष स्थापना गरेको छ। अक्षयकोषमा अहिले सम्म छ लाख भन्दा बढी रकम सङ्कलन भइसकेको छ। अक्षयकोषबाट प्राप्त ब्याजबाट विद्यालयले निजी स्रोतमा शिक्षक राखेर अङ्ग्रेजी तथा मन्टेश्वरी माध्यमबाट पठनपाठन गरिरहेको छ। अक्षयकोषलाई कम्तीमा २० लाख पु¥याउने लक्ष्य राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वस्थानी रिजाल बताउँछिन्। ‘बाबुनानीहरुले सुलभ र गुणस्तरीय शिक्षा पाउन भन्ने उद्देश्यले शैक्षिक तथा भौतिक सुधारका लागि दिनरात नभनी काम गरिरहेका छौँ, त्यसलाई सबैले हौसला प्रदान गरिरहनुभएको छ।’ उनले भनिन, ‘निजी स्रोतमा शिक्षक नराखी भएको छैन, त्यसका लागि अझै धेरै सहयोगी मनको खाँचो छ। अक्षयकोषमा जम्मा हुँदै रकमको ब्याजबाट कम्तीमा एक जना प्राइभेट टिचर राख्ने हो।’
विद्यालयले शैक्षिक सुधार थालेपछि निजी विद्यालयमा गएका विद्यार्थी फर्कन थालेका छन् भने अहिले भवन, कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला, खेलमैदान, जस्ता पूर्वाधार निर्माणका काम भइरहेका छन्। पछिल्ला दिनमा यो विद्यालयले कुस्मा नगरपालिकामा अग्रणी रूपमा शैक्षिक सुधार गरिरहेको अभिभावकहरूले बताउँदै आएका छन्।
विद्यालयमा निजी शिक्षक राख्न व्रतबन्धको खर्च कटाएर अक्षयकोष स्थापना
