बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

दरबन्दी कम भए पनि टीमवर्कमा काम गर्छौँ : पर्वतका डिएसपी बूढाथोकी

साउन १, २०७८
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वको प्रमुखको रुपमा प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले गत असार १६ गतेबाट हाजिर भएका छन्। यस अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा दरबन्दी रहेका बुढाथोकी प्रहरीमा राम्रो छवि बनाएका व्यक्ति हुन्। पर्वत जिल्लाको प्रहरी प्रमुखको रुपमा आएपछि पर्वत प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि गर्ने प्रयासको बारेमा न्यूज दृष्टिले उनीसँग कुराकानी गरेको छ। प्रस्तुत छ डिएसपी बुढाथोकीसँग गरिएको कुराकानीको सम्पादित अंश।

पर्वत आएको दुई सातामा तपाईँलाई यहाँका चुनौती के–के हुन भन्ने लागेको छ?
यहाँको बारेमा बुझ्दै छु। त्यही पनि म आउँदासाथ बाढीले मान्छे सहितको गाडी बगायो। मध्यपहाडी लोकमार्ग पटक पटक अबरुद्ध हुँदै आएको छ। यो बर्खाको बेलामा पहिलो चुनौती त यही नै देखेको छु। अर्को कुरा सानो जिल्ला भएकाले पनि होला अन्य ठाउँमा जस्तो निकै निर्मम र ठूला अपराधका घट्ना कम रहेछन्। साना अपराधमा पनि हामीले नजर राखेका छौँ, जति भइरहेका छन तिनलाई न्यूनीकरण गर्ने प्रयास गरिरहेका छौँ।

प्रहरी प्रमुख फेरिँदा सुरक्षा रणनीति फेरिने होला, यहाँको लागि तपाईँको बिशेष कार्ययोजना के हो?
सुरक्षा रणनीतिमा त्यस्तो चेन्ज भन्ने त खासै हुँदैन। प्रहरी भएपछि हामीहरुको मिसन एकै छ की समाजमा शान्ति र अमनचयन कायम गर्नु। अनुसन्धानबाट वास्तविकता पत्ता लगाउनु। पर्वतमा नदीजन्य पदार्थको अबैध उत्खनन्को पनि इस्यु यहाँ छ। अबैध रुपमा उत्खनन् हुन नदिन २४ सै घण्टा प्रहरी गाडी बेसमा राखिएको छ। नियन्त्रणमा लिएका मसिन, ट्रिपरलाई कारबाहीको लागि जिल्ला समन्वय समितिमा पठाएका छौँ। अहिले प्राकृतिक विपद्को समय रहेकाले त्यससँग जुध्न हरपल तयारी अवस्थामा बसिरहेका छौँ।

प्रहरीको दरबन्दीले सबै ठाउँमा बाक्लो उपस्थित छ त?
एक त हामीसँग दरबन्दी नै कम छ, भएका दरबन्दीमा पनि सबै जनशक्ति छैनन्। तर हामी जति छौँ, त्यो टीम टीमवर्कमा रहेर काम गर्छ। १० घण्टा काम गर्नुपर्ने छ भने १४ घण्टा गरेर भए पनि कहीँ कतै प्रहरीको अभाव हुन दिने छैनौँ। सबै ठाउँमा प्रहरीको उपस्थिति हुन्छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि नागरिकलाई जागरुक बनाएको छ। घटना लुकाउन नहुने रहेछ आँखा खोलिदिएको छ। कोरोना जोखिमको अन्त्य भएपछि यो कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने हाम्रो लक्ष्य छ। ग्रामिण क्षेत्रमा रहेका जति पनि प्रहरी यूनिटहरु छन तिनीहरु सक्रिय र अलर्ट अवस्थामा रहन्छन्।

दरबन्दी अभावका कारण ट्राफिक व्यवस्थापनमा परेको समस्यालाई कसरी टार्ने?
मैले अगाडि नै भनेको जस्तै थोरै जनशक्ति भए पनि धेरै समय खटेर काम गरिहरनुपरेको छ। ट्राफिक व्यवस्थापनमा पनि हामी त्यही गर्छौँ। सवारी र सडक बढ्ने क्रम जारी रहेको बेलामा यो पनि एउटा चुनौतीका रुपमा रहेको छ। अहिले लकडाउनको बेलामा सवारी दुर्घटनामा कमी आएको भए पनि पहिरोका कारण सडकमा दौडिन परेको छ। जति समस्या रहे पनि त्यसको समाधानको लागि हामी निरन्तर लागिरहने छौँ।

यसअगाडिबाट चल्दै आएका कार्यक्रमहरुलाई कसरी निरन्तरता दिुनुहुन्छ?
अगाडि भए पनि पछाडि भए पनि ती सबै कार्यक्रमहरु प्रहरीले नै चलाएका हुन्। मान्छे फेरिँदैमा अभियानै र योजना नै फेरबदल भैहाल्ने भन्ने हुँदैन्। बिगतबाट चल्दे आएको घरेलु तथा अबैध मदीराको नियन्त्रणको काम हुने नै छ। यसबाहेक केही थप काम पनि हुने छन्। सामाजिक अपराध न्यूनीकरणको लागि सादा पोसाकका प्रहरीको उपस्थितिलाई अझै बलियो बनाइने छ। जघन्य अपराध गरेपछि अदालत सजाय सुनाएर पनि फरार रहेकाहरुको खोजी गरेर अदालतमा बुझाउने काममा हामी लाग्नेछौँ। महिला तथा बालबालिकाका केसलाई झनै गहिराईमा हेर्ने छौँ। सुरुमै गम्भीर रुपमा नजाने हो भने एउटा घट्नाले अन्य धेरै घटनाहरु जन्माउन सक्छ। लागू औषध, घरेलु हिँसा, लगायतका बिषयमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने छौँ। यो जिल्लामा आत्महत्याको बारेमा पनि अलि बढी नै चेतना बिस्तार गर्नुपर्ने अवस्था देखिएको छ। केही दिन अगाडि मात्रै ११ वर्षिया बच्चको आत्महत्याको केस थियो।

(दोलाखाको मेलुङ गाउँपालिका घर भएका डिएसपी बूढाथोकी २०६४ सालमा प्रहरीको असई पदबाट सेवामा प्रवेश गरेका हुन्। २०६७ सालमा इन्सपेक्टरमा नाम निकालेका उनी २०७७ सालमा डिएसपीमा बढुवा भएका हुन्।)

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive