मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

पर्वतमै पढ्न पाइने भयो स्‍नातकोत्तर तह

पर्वत : पर्वत जिल्लमै स्नातकोत्तर तह पढ्न पाइने भएको छ। गुप्तेश्वर बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको अध्यापन सुरु गर्ने भएसँगै स्नातकोत्तर गर्नका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता नपर्ने भएको हो।

सदरमुकाम कुश्मामा रहेको क्याम्पसले व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको पढाई सुरु गर्नको लागि हालै मात्र त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले बताए।

त्रिभुवन विश्वविद्यालयका सहायक डिन दिनेश मणि घिमिरेद्वारा जारी विज्ञप्तिमा त्रिवि कार्यकारी परिषद्को गत असार २८ को बैठकबाट व्यवस्थापन सङ्कायअन्तर्गत त्रिविबाट सम्बन्धन प्राप्त गरी सामुदायिक क्याम्पसका रूपमा सञ्चालनमा रहेका देशका २३ वटा क्याम्पस तथा कलेजलाई एम.बी.एस को कक्षा सञ्चालन गर्न अनुमति दिइएको उल्लेख छ। यसका लागि गुप्तेश्वर क्याम्पसले धरौटी स्वरूप दुई लाख ५० हजार रुपैयाँ त्रिविलाई बुझाएको छ।

अध्यक्ष कर्माचार्यले सेमेस्टर प्रणालीमा पढाई हुने र कार्यगत मान्छेहरूलाई समेत लक्षित गरी कक्षा चलाइएकोले साँझको समयमा कक्षा सञ्चालनको तयारी भइरहेको बताए। सदरमुकामका विभिन्न वित्तीय संस्थामा काम गर्दै आएका कर्मचारीहरूले स्नातक गरेर जागिरमा लागेपछि स्नातकोत्तर पढ्न जान समय नपाएकाले त्यस्ता व्यक्तिलाई समेत एमबीएसको लक्ष्यमा राखिएको उनको भनाई छ।

‘यहीँ कुश्माका विभिन्न बैङ्कमा काम गर्ने साथीहरूले पनि मास्टर्स गर्ने मौका पाउनुभएको छैन। ब्याचलरमा रहँदै जागिरमा लाग्नुभो, अब पढ्न जान समय मिल्दैन। अनि पर्वतकै क्याम्पसबाट रेगुलर पढिरहेका बिद्यार्थीहरु त छँदै छन्’ कर्माचार्यले भने, ‘बैङ्कमा काम गर्ने साथीहरू समेत पढ्न आउने भएकाले सोही अनुसारको भौतिक पूर्वाधार तयार हुन्छ। हाकिम साप पढ्न आउनुहोला। लौ बेन्चमै बसौँ त कसरी भन्नु? अलिक स्ट्यान्डर्ड लेभलमा चलाउँछौँ हामी।’

ती कक्षाहरूमा इलेकट्रोनिक बोर्ड, ओभर हेड प्रोजेक्टरसहित, कम्प्युटर, आधुनिक पुस्तकालय लगायतको सुविधा राख्ने र त्रिविको कार्यक्रम अनुसार अबको एक महिनापछि भर्ना कार्यक्रम सुरु गरिने क्याम्पस प्रमुख सुवास पन्तले बताए। पुस्तकालय व्यवस्थापनका लागि प्रदेश सरकारबाट १० लाख रुपैयाँ विनियोजन भएको तथा क्याम्पस रहेको कुश्मा नगरपालिकामा समेत यसमा सघाउनको लागि सक्दो बजेटको कुरा भइरहेको उनको भनाइ छ।

यस्तै, रोजगारीको सिलसिलामा विदेशमा रहेकाहरूसँग पनि सहयोग मागेर पनि स्नातकोत्तर तह सञ्चालनको सुरुवाती व्यवस्थापन मिलाइने पन्तले बताए। सुरुमा कम्तीमा पनि पाँच करोडको अक्षयकोष निर्माण गर्ने र पहिलो ब्याचमा कम्तीमा पनि ५० जना विद्यार्थी भर्ना गर्ने गरी प्रयास थालिएको क्याम्पस प्रशासन बताउँछ।

स्नातकोत्तर तह अध्ययनको लागि पोखरा र काठमाडौं नै जानुपर्ने बाध्यताको माझमा सदरमुकाममै कुश्मामा उच्च तहको शिक्षा पाउँदा आफूहरूलाई हौसला मिलेको कुश्माकै एक युवा अर्जुन पौडेल ‘निर्जन’ बताउँछन्। दिनभर आफ्नो पेसा व्यवसाय गरेर साँझको समयमा नजिकै डिग्री पढ्न पाउनु सबैको लागि सुखद पक्ष रहेको उनको भनाई छ।

थाहा खबरबाट साभार गरिएको

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive