संजय रेग्मी
साउन १४, २०७८
पर्वत : पर्वतको मोदी गाउँपालिका स्थित बाजुङको लाम्पाट घर भई २०५५ सालदेखि पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकी शान्ता कुमारी थापाको गत वर्ष असार २६ गते मिर्गौलाको डायलिसिस गर्दागर्दै छाउनी अस्पताल काठमाण्डौँमा मृत्यु भयो । उच्च रक्तचापको पिडा भोग्दै आएकी उनको मिर्गौला समेत फेल भएको पाइपछि करिब एक वर्षसम्म पोखरा र काठमाण्डौँका विभिन्न अस्पतालमा डुलाइयो ।
जति नै प्रयास गरे पनि परिवारले उनलाई बचाउन सकेन । ५१ वर्षको उमेरमा मिर्गौला फेल भएर श्रीमतीको मृत्यु हुँदा श्रीमान् रामबहादुर थापा विक्षिप्त थिए । शान्ताको काठमाण्डौमा डायलिसिस चलिरहेको बेलामा उनले गृह जिल्ला पर्वतको पर्वत अस्पतालमा मिर्गौलाको डायलिसिस सुरु गर्न लागिएको कुरा समाचारबाट थाहा पाए । रामबहादुरलाई लागेको थियो अब जिल्लाकै अस्पतालमा डायलिसिस गराउन पाइने भयो ।
२०७७ साउन २५ मा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पर्वत अस्पतालमा निःशुल्क डायलिसिस सेवाको उद्घाटन गरे । श्रीमतीलाई जिल्लाकै अस्पतालमा ल्याएर उपचार गराउने रामबहादुरको सपना भने पूरा हुन पाए । डायलिसिसका उपकरण जडान र सेवामा रहने स्वास्थ्यकर्मीलाई तयार पारिसक्दा साउन महिना गुज्रनै लागेको थियो। जबकि शान्ताको मृत्यु असारमा नै भयो ।
रामबहादुरलाई लागिरहेको थियो की आफ्नी श्रीमतीको डायलिसिस जिल्लामा नै गराउन नपाए पनि जिल्लाका अरू बिरामीले भने जिल्लामा नै सेवा पाउन सकुन् । डायलिसिसकै लागि पोखरा र काठमाण्डौँ जान बाध्य भएका पर्वतेहरूको सुलभ दरमा त्यो गृह जिल्लामा नै सेवा पाउने कुरामा सहकार्य गर्न मन थापालाई लागेको थियो ।
बुधवार शान्ताको मृत्यु भएको तिथि परेको छ। त्यही सन्दर्भमा श्रीमान्, छोराबुहारीहरू सन्तोष र पूर्णिमा तथा छोरीहरू सरिता र जेनिसाको सल्लाहमा शान्ताको दिवङ्गत आत्मालाई शान्ति दिने उपायको रूपमा पर्वत अस्पतालमा रहेको डायलिसिस सेवालाई थोरै भए पनि आर्थिक सहयोग गर्ने निर्णय भयो । बुधवार रामबहादुरले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीलाई २१ हजार एक सय ११ रुपैयाँ शान्ताको नाममा हस्तान्तरण गरे । अस्पताललाई सहयोग गर्दा उनी भावुक देखिन्थे । उनले आफूलाई नेपाली सेनाको निवृत्तिभरणको रूपमा आउने एक महिनाको रकम हस्तान्तरण गरेका हुन् ।
‘जति उपचार गर्दा पनि शान्तालाई कम भएन, काठमाण्डौमा प्राण गयो । सामान्य आर्थिक अवस्थाको मान्छेलाई डायलिसिसको लागि बाहिर लाँदा घर बासै हिँड्ने अवस्था छ । तर जिल्लाको अस्पतालले निःशुल्क डायलिसिस गराइरहेको छ । यो हामी सबैका लागि कति खुसीको कुरा हो’ रामबहादुरले भने, ‘श्रीमती मिर्गौलाकै कारण गुमाउनुपरेपछि उनकै सम्झनामा थोरै भए पनि रकम सहयोग गरेको हुँ । यहाँका बिरामीले डायलिसिस पाउँदा स्वर्गमा उनको मन हलुङ्गो होस् ।’
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडीका अनुसार जिल्लामा एक वर्षको अवधिमा करिब ३० जना सेवाग्राहीले डायलिसिसको सेवा निरन्तर रूपमा लिँदै आएका छन् । पछिल्लो समय विभिन्न उत्सव तथा वर्षगाँठमा रमाइलो र भोजका लागि खर्च गर्नु भन्दा अस्पतालमा सहयोग गरे धेरैको ज्यान बाँच्न सक्ने र गरिब तथा असहायले पनि सेवा पाउने भन्दै दान गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।