शुक्र, माघ ९, २०८२
Fri, January 23, 2026

मोदी गाउँपालिकाद्धारा दलितलाई बाजादेखि सिलाई मसिनसम्म पूर्ण अनुदान

साउन २०, २०७८

संजय रेग्मी
साउन १९, २०७८
पर्वत : दलित सशक्तीकरणको लागि विभिन्न क्रियाकलापहरू गर्दै आइरहेको पर्वतको मोदी गाउँपालिकाले गाउँघरमा रहेका पञ्चेबाजा लोप हुन लागेको भन्दै बाजागाजा वितरण गरेको छ।
विभिन्न कारणले गाउँ गाउँमा रहेका पञ्चेबाजाका टोलीहरू विस्थापित हुँदै गइरहेको अवस्थामा उनीहरूको संरक्षण गरी प्रवर्द्धनमा सघाउने गरी विभिन्न ठाउँका पाँच समूहलाई बाजा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताए।
छ लाख ७१ हजारको लागतमा खरिद गरिएका बाजाहरू गाउँपालिकाका विभिन्न स्थानमा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो। बाजुङकोट भूमे बाजा समूह बाजुङ, गौरी गाउँ नौमती बाजा समूह बाजुङ, देउपुर देउराली कोट कालिका बाजा समूह देउराली, लोक तथा पञ्चेबाजा संरक्षण समिति र भुकताङ्ले पञ्चेबाजा समूह भूकलाई बाजा उपलब्ध गराइएको हो।
‘दलित सशक्तीकरण अन्तर्गत हामीले विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ। केही दिन अगाडि मात्रै पनि धेरै परिवारको लागि आधुनिक आरन वितरण गरेका थियौँ। हाम्रो चाहना छ की गाउँ गाउँमा रहेका हाम्रा मौलिक र परम्परागत बाजाहरूको संरक्षण हुनुपर्छ’ प्रवक्ता लामिछानेले भने, ‘पहिले छ्यापछ्याप्ती बाजा बजाउने मान्छे पाइन्थे, अहिले खै? आर्थिक अवस्था कमजोर रहेको दलित समुदाय आफैले बाजा किन्न पनि कठिन छ। यही कारण गाउँपालिकाले यसलाई महत्त्व दिएको हो।’
कतिपय विवाह तथा रमाइला उत्सवमा बाजा बजाउँदा हुने कुटपिट र झगडा, बाजा बजाएर आएको पैसाले खान नपुग्नु, सधैँ भरी बजाउने अवसर नआउनु, दलित समुदायको पछिल्लो पुस्ता निजामति, निजी वा वैदेशिक रोजगारीमा जानु, दोस्रो पुस्तालाई पाको पुस्ताले सिकाउने चाहना नराख्नु लगायतका कारण पञ्चेबाजामा लोकप्रिय मानिएको पर्वत जिल्लमै बाजा बजाउने समूह पाउन मुस्किल छ। तर अब पनि बाजाको संरक्षणमा नलागे गाउँमा बज्ने गरेका मौलिक र परम्परावादी बाजाको धुन सुन्न नपाइने तथा पाको पुस्ताले पनि आम्दानी गर्न सकोस् भन्ने उद्देश्यले समूह मार्फत बाजा उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्री बताउँछन्।
‘नयाँ आधुनिक बाजाको धुन सहित बजारमा त बाजा पाइएलान् तर सयौँ वर्ष पुराना हाम्रा मौलिक बाजालाई लोप हुन दिनु भनेको हाम्रो संस्कार नै लोप हुनु हो’ उनले भने, ‘पछिल्लो पुस्तालाई पनि सिकाउनुहोस्, पाको पुस्ता पनि खाली हात बस्नुभन्दा परेको ठाउँमा बाजा बजाएर आम्दानी गर्न सक्नुहोस् भनेर हामीले यो काम गरेका हौँ।’
बाजुङकोट भूमे बाजा समूहका अध्यक्ष मनबहादुर दर्जीले वर्षौँ पहिले खरिद गरेका बाजालाई मर्मत गरेर चलाउने गरिएको र अहिले बाजारमा तीनको दर महँगो पर्ने भएका कारण धेरै बाजा समूह आफैले बाजा किन्न नसक्ने अवस्थामा रहेको बताउँछन्। व्यावसायिक रूपमा बाजा बजाउन सक्ने अवस्था आफूहरूमा रहेको भए पनि सधैँ काम नपाइने कारण अन्य पेसा वा वैदेशिक रोजगारीमा जानुको विकल्प नरहेको उनको भनाई छ।
गाउँपालिकाले दलित सशक्तीकरण कार्यक्रम अन्तर्गत नै चार लाख २८ हजार रुपैयाँको लागतमा सिलाई कटाइमा प्रयोग हुने विभिन्न सामग्री पनि दलित समुदायलाई हस्तान्तरण गरेको छ। जसमा १३ जनालाई खुट्टे सिलाई मसिन, चार जनालाई जुक्की मसिन, दुई जनालाई हेवी आइरन, एक जनालाई छाला जुत्ता मसिन, एक जनालाई दुई वटा  छाला जुत्ता फर्मा र पाँच जनालाई इन्टरलक मसिन दिइएको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive