पर्वत : बुधवार आएको बाढीमा परेर घाइते भएकाहरूको उपचारमा आवश्यक रगतको अभाव हुन नदिन पर्वतमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ पर्वत गुप्तेश्वरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्वतको प्राविधिक सहयोगमा बिहीबार आकस्मिक रक्तदान कार्यक्रम गरिएको हो। बाढीका कारण घाइते भएकाहरूको उपचारमा रगतको आवश्यकता पर्न सक्ने भएकाले आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष डम्बर गिरीले बताए। उनका अनुसार लायन्स अन्तर्राष्ट्रिय, लायन्स मल्टीपल तथा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आईको आह्वानअनुसार देशभरका लायन्स क्लबहरूले बाढी तथा विपद्मा परेकाहरूको उद्धार र राहतमा सहयोग पु¥याउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्।
कार्यक्रममा सुरक्षाकर्मी, शिक्षक, कर्मचारी, सामाजिक अभियन्ता तथा सर्वसाधारण गरी ५० जनाले रक्तदान गरेका छन्। पर्वतमा सङ्कलित रगत आवश्यकताअनुसार कास्की रेडक्रस शाखामा पठाइने छ। लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आईका चिफ अर्जुन पौडेल ‘निर्जन’ले विपद्का बेला उद्धारलाई पहिलो र राहतलाई दोस्रो प्राथमिकतामा राखेर काम गर्न लायन्स क्लबहरू परिचालित भएको बताए। उनका अनुसार बाढीबाट प्रभावितको उपचार तथा राहतका लागि रक्तदानसँगै आर्थिक सहयोग सङ्कलन अभियानसमेत सुरु गर्न लागिएको छ। उनले भने, ‘प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर सङ्कलित आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरेका छौँ।’
नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाका सभापति रुद्रबहादुर रिमालले पर्वत रेडक्रसमा रहेको रक्तसञ्चार केन्द्रको भण्डारण क्षमता सीमित भएकाले बिहीबार ५० जनाबाट मात्र रक्त सङ्कलन गरिएको बताए। आवश्यकताअनुसार पठाइसकेपछि पुनः रक्तदान कार्यक्रम आयोजना गरिनेछ। रिमालले पर्वतमा सङ्कलन भएको रगत कास्की रेडक्रसमा पठाउने व्यवस्था मिलाइएको बताउँदै पोखरामा ठुलो मात्रामा रगत भण्डारण गर्ने क्षमता रहेकाले आवश्यक परेको स्थानमा छोटो दूरीमै रगत पठाउन सहज हुने बताए।
लायन्स क्लबहरूले विपद्का बेला तत्कालीन आवश्यकता पूरा गर्न उद्धार, रक्तदान र राहतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।
बाढीमा घाइतेको उपचारमा सहयोग गर्न पर्वतमा आकस्मिक रक्तदान
भदौ १२, २०८३




