पर्वत : गण्डकी प्रदेश सरकारले बाढी, पहिरो तथा विपद्मा परी मृत्यु भएका, बेपत्ता भएका तथा घाइते भएका प्रदेशवासीका परिवारलाई राहत तथा उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा चार करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। त्यसै गरी बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ। बाढी तथा पहिरोमा परी घाइते भएका प्रदेशका नागरिकलाई उपचार खर्चबापत ५० हजार रुपैयाँसम्म उपलब्ध गराइने प्रदेश सरकारले जनाएको छ।
मन्त्रिपरिषद् बैठकले भदौ १० गते रसुवामा आएको बाढीमा परी मृत्यु भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई काज किरिया खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ। यस्तै, सोही बाढीमा परी घाइते तथा बिरामी भएर पोखरा आइपुगेका गण्डकी प्रदेशका नागरिकलाई उनीहरूको घरसम्म पु¥याउन सवारी साधनको व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ।
प्रदेश सरकारले विपद्का कारण प्रभावित नागरिक तथा परिवारलाई तत्काल राहत र आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले यी निर्णय गरेको जनाएको छ।
बाढीमा मृत्यु र बेपत्ता भएका गण्डकीका परिवारलाई एक लाख र किरिया गर्न २५ हजार दिइने
भदौ १६, २०८३




