पर्वत : नेपाली हिन्दु महिलाहरूको महान् पर्व तीजको अवसरमा बुहारी ग्रुप अफ नेपालले आयोजना गरेको तीज विशेष फोटो प्रतियोगितामा पर्वतको कुश्माकी गीता तिवारी विजेता बनेकी छिन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाका तस्बिरहरू बुहारी ग्रुपको पेजबाट प्रकाशन गरिएको थियो । तीमध्ये भदौ १२ गते बेलुका ८ बजेसम्म जसको तस्बिर सबैभन्दा बढी सेयर सहित तस्बिरमा लाइक र कमेन्ट प्राप्त हुन्छन् उसैलाई विजेता बनाउने घोषणा गरिएको थियो ।
यही शर्तको आधारमा निर्धारित मितिसम्ममा सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा बढी पहुँचमा पुगेपछि कुश्माकी गीता तिवारी विजेता बनेकी हुन् । बुहारी ग्रुप अफ नेपालकी संयोजक लक्ष्मी तिवारीका अनुसार उनी एक हजार आठ सय ५३ अङ्क प्राप्त गर्दै प्रथम बनेकी हुन् । यस्तै एक हजार चार सय ६७ अङ्कसहित कुश्माकै सिता शर्मा द्वितीय र नौ सय एक अङ्कसहित काठमाण्डौंकी सरिना ठकुरी तृतीय बनेकी छन् । उनीहरूले पुरस्कार स्वरूप क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पाएका छन् ।
यस्तै, चौथोमा कञ्चनपुरकी गौरी महरा, पाँचौँमा पर्वतकी आकृति सुवेदी, छैटौँमा चितवनकी जमुना ओली, सातौँमा पर्वतकी सावित्री श्रेष्ठ, आठौँमा पर्वतकै निशु रोका, नवौँमा बागलुङकी अञ्जु शर्मा रिजाल र दशौँमा स्याङ्जाकी समीक्षा अर्याल छनोट भएका छन् । प्रतियोगितामा कुल दुई सय ३५ जना महिलाहरू सहभागी भएका थिए । उनीहरू उत्कृष्ट १० मा पर्दै आकर्षक पुरस्कार पाउने बुहारी ग्रुपले बताएको छ ।
यसैबिच, देश नै शोकमा रहेका बेला सामाजिक सञ्जालमा नाचगानका भिडियो राख्नु उपयुक्त नहुने भन्दै बुहारी ग्रुप अफ नेपालकै आयोजनामा राखिएको तीज गीत प्रतियोगिता भने तत्कालका लागि स्थगित भएको छ ।
ग्रुपले तीजको अवसरमा गीत गाएको भिडियो ह्वाट्सएपमार्फत पठाएर सहभागी हुने प्रतियोगिता आयोजना गर्ने तयारी गरेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिएको थियो । तर, देशमा विपद्का कारण ठुलो जनधनको क्षति भइरहेका बेला उत्सवमूलक सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गर्नु उचित नहुने निष्कर्षसहित प्रतियोगिता स्थगित गरिएको ग्रुपकी संयोजक लक्ष्मी तिवारीले बताइन् ।
‘हामीले तीजको अवसरमा गीत गाएको भिडियो ह्वाट्सएपमार्फत पठाउने र प्रथम हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार दिने गरी प्रतियोगिता आयोजना गरेका थियौँ । तर, अहिले देश नै शोकमा छ’, उनले भनिन्, ‘यस्तो अवस्थामा हामीले सामाजिक सञ्जालमा नाचगानका भिडियोहरू राख्नु उपयुक्त हुँदैन भन्ने लागेर प्रतियोगिता तत्कालका लागि स्थगित गरेका हौँ ।’
उनका अनुसार अहिलेको परिस्थितिमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मनोरञ्जनभन्दा मानवीय संवेदना र सहयोगलाई प्राथमिकता दिन आवश्यक भएकाले प्रतियोगिता स्थगित गरिएको हो ।
बुहारी ग्रुपको तीज विशेष फोटो प्रतियोगिताको विजेता बनिन तिवारी
भदौ १६, २०८३




