पर्वत : मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना फैलाउने उद्देश्यले पर्वतमा २०औँ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस प्रभातफेरी कार्यक्रमसहित मनाइएको छ ।
‘अबको गन्तव्य मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ दिवसका अवसरमा कुश्मा बजारमा प्रभातफेरी तथा सचेतनामूलक ¥याली आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरूले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध विभिन्न सन्देशमूलक नारा लेखिएका प्लेकार्ड बोकेर प्रभातफेरी गरेका थिए । मानव बेचबिखनको जोखिम, यसबाट पर्न सक्ने सामाजिक तथा मानवीय असर र यसको नियन्त्रणका लागि समुदाय स्तरबाट खेल्नुपर्ने भूमिकाबारे सचेतना फैलाउने उद्देश्यले ¥याली आयोजना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कुश्मा नगरपालिका–५ स्थित लोकतान्त्रिक चोक, दुर्लुङ चोक, साझा चोक, शिवालय चोकलगायत कुश्मा बजारका विभिन्न भित्री क्षेत्र परिक्रमा गरी सम्पन्न भएको थियो । ¥यालीमा सहभागीहरूले मानव बेचबिखन अन्त्य गर्न सामाजिक जागरण आवश्यक रहेको भन्दै सचेतनामूलक नारासहित बजार परिक्रमा गरेका थिए ।
मानव बेचबिखन तथा ओसारपसार सामाजिक अपराध मात्र नभई मानव अधिकारको गम्भीर उल्लङ्घनसमेत भएकाले यसको नियन्त्रणका लागि सरकारी निकायसँगै नागरिक समाज, विद्यालय, सञ्चार क्षेत्र, निजी क्षेत्र तथा समुदायको सामूहिक भूमिका आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो ।
विशेष गरी महिला तथा बालबालिका विभिन्न बहानामा बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूलाई सुरक्षित बनाउन परिवार र समुदाय स्तरमै सचेतना अभिवृद्धि गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । रोजगारी, शिक्षा तथा वैदेशिक रोजगारीको प्रलोभन देखाएर हुने मानव बेचबिखनका घटनाप्रति समेत नागरिकलाई सचेत रहन आग्रह गरिएको थियो ।
दिवसका अवसरमा आयोजित प्रभातफेरीले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानलाई समुदाय स्तरसम्म पु¥याउन र सम्भावित जोखिमबारे नागरिकलाई सचेत गराउन सहयोग पुगेको एकीकृत सेवा कार्यालय पर्वतका कार्यालय प्रमुख जीवन पौडेलले बताए ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुनी प्रयाससँगै समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले विशेष गरी महिला तथा बालबालिका विभिन्न प्रलोभन र बहानामा बेचबिखनको जोखिममा पर्न सक्ने भएकाले परिवार, विद्यालय, समुदाय र सरोकारवाला निकाय सबै सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । मानव बेचबिखनलाई नियन्त्रण गर्न घटना भएपछि मात्रै सक्रिय हुनेभन्दा पनि सम्भावित जोखिम पहिचान गरी सुरुदेखि नै रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको कार्यालय प्रमुख पौडेल बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजना, एकीकृत सेवा कार्यालय पर्वतको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय पर्वतको समन्वयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बि.क, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, सशस्त्र प्रहरी बल नेपाल २५ नं. गण हेडक्वार्टर पर्वतका सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्री, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलसहित सरकारी तथा गैरसरकारी सङ्घसंस्था, आमा समूह, उपभोक्ता मञ्च, सञ्चारकर्मी, सरकारी तथा निजी विद्यालयका प्रतिनिधि, होटेल व्यवसायी तथा सामुदायिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
मानव बेचबिखनविरुद्ध पर्वतमा प्रभातफेरी, ‘अबको गन्तव्य मानव बेचबिखनको अन्त्य’ भन्ने सन्देश
भदौ २०, २०८३




