पर्वत : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुश्मा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
जिल्लाको जलजला गाउँपालिका–७, नाग्लिवाङस्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरिएको हो । शिक्षा क्षेत्रको विकासमा सहयोग पु¥याउने र विद्यार्थीहरूको शैक्षिक पहुँचलाई थप सहज तथा प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका करिब १ सय ५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
वितरित सामग्रीहरूमा कापी, कलम, पेन्सिल, शार्पनर, ज्यामिति बक्स, रङ र इरेजर लगायतका अत्यावश्यक वस्तुहरू रहेका थिए । शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद रेग्मीले सिटिजन लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गरे । उनले भने, “सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोगले हाम्रा विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पार्नेछ । निजी क्षेत्र र शैक्षिक संस्थाबीचको यस्तो सहकार्यले समग्र समाजको विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।”
कार्यक्रममा उपस्थित अतिथिहरूले शिक्षामा निजी क्षेत्रको योगदान अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रति थप प्रेरणा र उत्साह जगाउने धारणा राखेका थिए । उनीहरूले शिक्षाको उज्यालो अभियानमा कम्पनी सदैव हातेमालो गर्न तत्पर रहेको समेत स्पष्ट पारे ।
सो अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख छबि पौडेल, कुश्मा शाखा प्रमुख पुनम शर्मा, सिनियर एजेन्सी म्यानेजर पूर्णकला शर्मा, तथा अभिकर्ताहरू देवी शर्मा र पूर्णकला नेपालीको विशेष उपस्थिति थियो । उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी र स्थानीय अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सामाजिक सेवामार्फत शिक्षा क्षेत्रमा पु¥याएको यस योगदानले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कुश्मा शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
जेष्ठ १३, २०८३




