सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

कुश्माका झन्डै साढे ३ सयको जनाको छातीको एक्स–रे, १७ जनाको खकार परीक्षण हुने

जेष्ठ १८, २०८३

पर्वत : कुश्मा नगरपालिकाका बासिन्दालाई लक्षित गरी कुश्मामा आयोजना भएको छातीको रोग सम्बन्धी खोज पडताल शिविरमा झन्डै साढे ३ सय जनाको परीक्षण गरिएको छ ।

आइतबार कुश्मा बहुमुखी क्याम्पसमा आयोजना भएको ए.आइ.एक्स–रेद्वारा विशेष गरी क्षयरोगमा आधारित छातीको एक्स–रेको निःशुल्क शिविरमा ३ सय ३५ जनाको स्वास्थ्य परीक्षण गरिएको हो । कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख तथा शिविरका संयोजक यामप्रसाद शर्माका अनुसार क्षयरोगका शङ्कास्पद बिरामीहरूको खोज पडताल गरी उनीहरूको थप उपचार प्रक्रियामा केन्द्रित हुने गरी आयोजना भएको शिविरमा १७ जना शङ्कास्पदहरू भेटिएका छन् ।

आइतबार नै उनीहरूको खकारको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । नमुना परीक्षणको नतिजा आएपछि मात्रै उनीहरूमा क्षयरोग भए÷नभएको यकिन हुने र सोही अनुसार उपचार सुरु गरिने शर्माले बताए ।

नगरपालिकाको आयोजनामा भएको शिविरमा प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले समन्वय गरेका थिए । प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराबाट आएको सन्तोष पौडेलको नेतृत्वमा आएको मेडिकल अधिकृत अपिल पोख्रेल, रेडियोग्राफर प्रवीण श्रेष्ठ, ल्याब टेक्निसियन राजेन्द्र रानाभाट, जनस्वास्थ्य अधिकृत अनिल खनाल र ए.आई. उपकरणका सफ्टवेयर इन्जिनियर समुन्द्र बास्तोलाको टोलीले इच्छुक तथा बिरामीहरूको स्वास्थ्य परीक्षण गरेको थियो ।

टोलीको नेतृत्व गरेका पौडेलका स्वास्थ्यकर्मी पौडेलका अनुसार क्षयरोगका बिरामीहरू पत्ता लगाउने विधिहरू धेरै भए पनि प्रभावकारी विधि छातीको एक्स–रे रहेको बताए । शङ्कास्पद खकारका नमुनाहरूको परीक्षण बागलुङमा गरिने र सोमबारसम्म तिनीहरूको रिपोर्ट प्राप्त भइसक्ने उनको भनाइ छ ।

कुश्मा नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूले ग्रामीण क्षेत्रहरूमा क्षयरोगका चुनौती, अवस्था तथा जाँच गर्नुपर्ने व्यक्तिहरूसँग गरेको परामर्शको आधारमा नगरपालिकाको अनुरोधमा एक दिने शिविरको आयोजना भएको हो। नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर अघिल्लो वर्षमा पनि यस्तै शिविरको आयोजना गरेर परीक्षण गरिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । ग्रामीण क्षेत्रमा रहेका बासिन्दाहरूले प्रारम्भिक चरणकै अवस्थामा रोगको परीक्षण नगरेको हुन सक्ने, विभिन्न बाध्यताले समयमै स्वास्थ्य संस्थामा नपुग्ने अवस्था भएको भए शिविरले उनीहरूलाई लाभ हुने भएकोले यस वर्ष पनि शिविरको आयोजना गरिएको उनको भनाइ छ ।

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ६ का वडाध्यक्ष ईश्वर गिरी, नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, प्रशासकीय अधिकृत ध्रुवराज पौडेलले लगायत पनि शिविरमा सहभागी भए । सकेसम्म धेरै जनाको स्वास्थ्य परीक्षण गरेर क्षयरोगको जोखिम रहेकाहरूको परीक्षण गरेर स्वस्थ नगरवासीको अभियानमा जोड दिइएको उनीहरूले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive