बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

नगरप्रमुखको सुबिधा सहित बाढी पीडितका लागि फलेवासले ३७ लाख दिने

भदौ १७, २०८३

पर्वत : गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएकाहरूप्रति फलेवास नगरपालिकाले शोक प्रस्ताव पारित गर्दै उक्त बाढी प्रभावितहरूका लागि करिब ३७ लाख राहत रकम पठाउने निर्णय गरेको छ ।
बाढी प्रभावितहरूका लागि नगरप्रमुख गंगाधर तिवारीले एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् । आफूले पाउने सुविधाबापतको सम्पूर्ण रकमबाट नगरका विभिन्न विद्यालयमा अक्षयकोष स्थापना तथा बिपन्न नागरिकहरूको सेवामा खर्च गर्दै आएका तिवारीले यसपालि भोटेकोशीमा आएको बाढी प्रभावितको राहतका लागि एक महिनाको सुविधा प्रदान गर्ने घोषणा गरेका हुन् । तिवारीले आफूले पाउने सुविधा बापतको सम्पूर्ण रकम अक्षयकोषका रूपमा वितरण गर्दै आइरहेका छन् ।
यस्तै मङ्गलवार बसेको चालु वर्षको तेस्रो कार्यपालिका बैठकले भोटेकोशी बाढी प्रभावितहरूलाई करिब ३७ लाख रुपैयाँ राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले गरेको निर्णय अनुसार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बैठकका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँले बताए । उनका अनुसार फलेवासमा कार्यरत सम्पूर्ण कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरूको दुईदेखि सात दिनसम्मको पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न लागिएको हो । त्यसै गरी वडा सदस्यदेखि नगरप्रमुख सम्मको समेत दुई हजार देखि ४० हजारका दरले रकम कट्टा गरी राहत स्वरूप पठाउन लागिएको हो ।
त्यस्तै नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले उक्त कोषमा १० हजार सहयोग गरेकी छिन् । कार्यपालिका सदस्यहरूबाट प्रति व्यक्ति पाँच हजार रुपैयाँ र वडा सदस्यहरूबाट दुई हजारका दरले रकम कट्टा हुनेछ । त्यसै गरी नगरपालिका र मातहतका कार्यालयहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू समेत श्रेणीविहीन कर्मचारीहरूको दुई दिन, चौथो र पाचौं तहमा कार्यरत कर्मचारीहरूको पाँच दिनको तलब कट्टा गरी राहत कोषमा पठाउने निर्णय भएको छ । यस्तै, छैटौँ, सातौँ र आठौँ तहमा कार्यरत कर्मचारीहरूको सात दिन बराबरको तलब बाढी प्रभावितहरूलाई पठाइनेछ ।
विद्यालय सहयोगी, विद्यालय सहजकर्ता र विद्यालय कर्मचारीहरूको दुई दिन, प्राथमिक तृतीय र द्वितीय श्रेणी तथा निमावि तृतीय श्रेणीका शिक्षकहरूको पाँच दिन र प्रा.वि प्रथम, निमावि द्वितीय र मा.वि तहको सबै श्रेणीका शिक्षकहरूको सात दिन बराबरको तलब गरी करिब ३७ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने नगरपालिकाले जनाएको छ । उक्त रकम भदौ महिनाको सेवा सुविधा तथा पारिश्रमिकबाट कट्टा गरी राहत कोषमा एकमुष्ट जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत चापागाईँले बताए ।
उक्त बाढीमा परी मृत्यु भएका नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकको परिवारलाई काज किरिया खर्चबापत प्रति मृतकको परिवारलाई ५० हजार रुपैयाँका दरले र घाइते भएका व्यक्तिहरूलाई उपचार खर्चबापत केही रकम समेत प्रदान गर्ने निर्णय भएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive