पर्वत : विद्यालयहरूमा घटस्थापनादेखि सुरु भएको दशैँ बिदा १५ दिनसम्म कायम रहन्छ। लामो बिदामा रहँदा उनीहरूमा पाठ्यक्रमभित्रको सिकाइको अभ्यास कम हुने गर्छ। दशैँ मनाउन गाउँ पुगेका बालबालिकाहरुले ग्रामीण क्षेत्रको भोगाइको अनुभव गर्न पाए पनि पाठ्यक्रमका कुरा चटक्कै छाड्दा सिकाइमा केही असर पुग्न सक्छ।
तर एकीकृत सेवा कार्यालय पर्वतले भने दशैँ बिदामा रहेका बालबालिकाहरूको अध्ययनमा कमी हुन नदिनको लागि गृहकार्य दिएको छ। कार्यालय प्रमुख जीवन पौडेलका अनुसार विद्यार्थीहरूले फुर्सदको समयमा सिर्जनात्मक लेखाइ र चित्रहरू बनाएर समय उपयोग गर्न पाउने भएका छन्।
विद्यार्थीमा अन्तर्निहित प्रतिभाको पहिचान, सिर्जनात्मक सोचको विकास तथा लेखन र कलामार्फत आफ्ना विचार अभिव्यक्त गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बिदा पश्चात् कार्तिक १७ गते जिल्ला स्तरीय सिर्जनात्मक लेखन र चित्रकला प्रतियोगिता आयोजना गर्न लागिएको कार्यालयले जनाएको छ। विद्यालयमा छनोट हुँदै स्थानीय तहमा प्रतिस्पर्धा गरेर विजेता बनेका विद्यार्थीहरू जिल्ला स्तरीय प्रतियोगितामा भिड्ने छन्। सात वटै स्थानीय तहबाट सिर्जनात्मक लेखन र चित्रकला विधामा उत्कृष्ट एक–एक जना विद्यार्थी सहभागी हुनेछन्।
सिर्जनात्मक लेखन प्रतियोगिताका लागि विकास, अर्थतन्त्र, उद्योग, कृषि, पर्यटन, सुशासन, सामाजिक समस्या, वातावरण, संस्कृति, शिक्षा, विज्ञान तथा प्रविधिलगायत विविध क्षेत्र समेटिएका ३६ वटा विषय निर्धारण गरिएका छन्। विद्यार्थीले गण्डकी प्रदेशको विकासका सम्भावना र चुनौती, विकासका पूर्वाधारको अवस्था, समृद्ध नेपाली अर्थतन्त्रका आधार, उत्पादनशील उद्योगको पुनर्जागरण, जलविद्युत् उत्पादनका सम्भावना तथा चुनौती र कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरणजस्ता आर्थिक विकाससँग सम्बन्धित विषयमा आफ्ना विचार प्रस्तुत गर्न सक्नेछन्।
त्यसै गरी, साना तथा मझौला उद्योग र आयआर्जन, गण्डकी प्रदेशमा पर्यटन उद्योगको सम्भावना तथा चुनौती, वैदेशिक व्यापारका सम्भावना र चुनौती तथा वैदेशिक रोजगारीको अवस्था र चुनौती पनि लेखनका विषयमा समेटिएका छन्। यी विषयले विद्यार्थीलाई प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि र स्थानीय स्रोतसाधनको उपयोगबारे सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको कार्यालय प्रमुख पौडेलले बताए।
राजनीतिक तथा सामाजिक पक्षअन्तर्गत नेपालको संविधान र नागरिकको कर्तव्य, सङ्घीय संरचना र दिगोपनका चुनौती, गण्डकी प्रदेशमा बसाइसराइको अवस्था, सुशासन र विकास प्रक्रियामा यसको प्रभाव, सुशासन कायम गर्न नागरिकको भूमिका तथा सामाजिक समस्याहरू र समाधानका उपाय समावेश गरिएका छन्। छिटो विवाहका कारण उत्पन्न हुने भविष्यका चुनौती, विपद्का कारण तथा असर र न्यूनीकरणका उपाय, सांस्कृतिक विविधता र संरक्षणका चुनौती, नेपाली समाजको विशेषता तथा अनेकतामा एकता, धार्मिक सहिष्णुता र हाम्रो कर्तव्यजस्ता विषयमा पनि विद्यार्थीले आफ्नो दृष्टिकोण प्रस्तुत गर्न पाउनेछन्।
त्यस्तै, विकास प्रक्रियामा सामाजिक सङ्घसंस्थाको भूमिका, नेपालको विकास र रूपान्तरणमा सहिदहरूको योगदान, साइबर अपराध नियन्त्रणमा नागरिक र सुरक्षा निकायको भूमिका, नसर्ने रोगका चुनौती तथा स्वस्थ जीवनका लागि योग र ध्यानलाई पनि लेखनको विषय बनाइएको छ। हाम्रा धार्मिक तथा सांस्कृतिक सम्पदा र आफ्नो जिम्मेवारी, ज्येष्ठ नागरिकप्रति व्यक्ति तथा सरकारको भूमिका र वातावरण संरक्षणमा आफ्नो दायित्वजस्ता विषयले विद्यार्थीमा सामाजिक उत्तरदायित्व र नागरिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने छ।
शैक्षिक तथा प्रविधिसम्बन्धी विषयमा विद्यालयमा उपलब्ध प्रयोगशाला र प्रयोगको अवस्था, सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, विद्यालय शिक्षामा परीक्षा प्रणाली र नतिजा प्रकाशन, गुणस्तरीय शिक्षामा अभिभावकको भूमिका, विकास प्रक्रियामा विज्ञान तथा प्रविधिको प्रयोग तथा सृजनशील विद्यार्थी, शिक्षक र गुणस्तरीय शिक्षालाई समावेश गरिएको छ। यी विषयले विद्यार्थीलाई आफ्नो विद्यालयको शैक्षिक अवस्था विश्लेषण गर्न, सिकाइमा देखिएका चुनौती पहिचान गर्न र सुधारका उपाय प्रस्तुत गर्न अवसर दिनेछन्।
प्रतियोगितामा सहभागी विद्यार्थीले निर्धारण गरिएका विषयमध्ये चिट्ठा प्रक्रियाबाट छनोट भएको शीर्षकमा लेख तयार गर्नुपर्नेछ। मूल्याङ्कन समितिका संयोजकले प्रतियोगिता सुरु हुनुभन्दा पाँच मिनेटअघि सबै प्रतियोगीले देख्ने गरी शीर्षक निर्धारण गर्ने व्यवस्था गरिएको छ। लेखनका लागि दुई घण्टाको समय दिइनेछ। विषयवस्तु र सान्दर्भिकता, संरचना र क्रमबद्धता, विश्लेषण तथा तर्क, मौलिकता र सृजनशीलता, भाषा र अभिव्यक्ति तथा निष्कर्षका आधारमा कुल १०० अङ्कमा मूल्याङ्कन हुने छ।
सिर्जनात्मक लेखनसँगै सञ्चालन हुने चित्रकला प्रतियोगितामा विद्यार्थीले निर्धारित मूल विषयमा आधारित रहेर आफूलाई उपयुक्त लागेको माध्यमबाट चित्र बनाउन सक्नेछन्। चित्र बनाउन दुई घण्टाको समय दिइनेछ । चित्रको शिल्प, मौलिकता, रङ तथा चित्र संयोजन, शीर्षकसँगको सान्दर्भिकता र माध्यम छनोटका आधारमा समान २०–२० अङ्क प्रदान गरिनेछ। चित्र बनाउन आवश्यक कागज वा क्यानभास, रङलगायतका सामग्री प्रतियोगी आफैँले ल्याउनुपर्नेछ।
‘दशैँ बिदालाई नियमित गृहकार्यमा मात्रै सीमित नराखी सिर्जनात्मक अभ्यास, प्रतिभा पहिचान र व्यावहारिक सिकाइसँग जोड्ने यस कार्यक्रमले विद्यार्थीमा लेखनकला, कल्पनाशीलता, विश्लेषणात्मक क्षमता, कलात्मक अभिव्यक्ति र सामाजिक चेतना विकास गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ’, कार्यालय प्रमुख पौडेलले भने, ‘स्थानीय तह र विद्यालयबिचको समन्वयबाट जिल्लामा लुकेर रहेका प्रतिभालाई पहिचान गरी उनीहरूलाई थप अवसर र प्रोत्साहन प्रदान गर्न सकिन्छ भन्ने लागेको छ। विद्यालयले दिएको गृहकार्य बाहेक हामीले दिएको कामले फरक सिकाई र फरक आकर्षण दिन सक्छ।’
दुवै विधामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा सर्वोत्कृष्ट हुने विद्यार्थीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजना हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने अवसरसमेत प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीको नाम दर्ता गर्ने अन्तिम आगामी कात्तिक १७ गते तोकिएको छ। स्थानीय तहबाट छनोट भएका विद्यार्थीको विवरण कार्यालयको इमेलमा पठाउन सक्नेछन्।
दशैँ बिदामा बसेका बालबालिकालाई एकीकृत सेवा कार्यालयको गृहकार्य
कार्तिक २, २०८३




