आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026

देवीस्थानमा सुरु भयो भलिबल प्रतियोगिता, उपसचिव क्षेत्रीद्धारा उदघाटन

मंसिर ७, २०८३

पर्वत : शान्तिचौर यूवा क्लबको आयोजनामा पर्वतको फलेवास नगरपालिका ६ देवीस्थानमा ४ दिने वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
देवीस्थानमा रहेका बिभिन्न क्लब तथा समूहहरुबीच प्रतिस्पर्धा हुने गरी प्रतियोगिताको आयोजना भएको हो । करीब १५ वटा टोलीबीच प्रतिस्पर्धा हुने गरी आयोजना भएको प्रतियोगिताको नेपाल सरकारका उपसचिव राजेन्द्रबहादुर क्षेत्रीले उद्घाटन गरेका छन् ।
सो अवसरमा बोल्दै क्षेत्रीले देवीस्थान सहित पर्वतका युवाहरुले युवा क्लबहरुमार्फत गरिरहेको सकारात्मक र रचनात्मक कामले समाजलाई असल अभ्यासको बाटोमा डो¥याइरहेको बताए । भौतिक विकासका कामहरु सन्तोषजनक रुपमा भइरहेको बताउँदै उनले अब स्वदेशमा नै रहेका युवाहरु देशमा टिक्न सक्ने खालको उद्यमको विकास हुनुपर्ने धारणा राखे । खेलका माध्यमबाट व्यक्तिमा सकारात्मक सोच, सामूहिक भावना र स्वस्थ नागरिक उत्पादन हुने भएकोले क्लबले युवाहरुको पक्षमा काम गरेको प्रमुख अतिथि क्षेत्रीको भनाइ छ ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताबाट जिल्ला प्रदेश हुँदै राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन हुन सक्ने उनको भनाइ छ । फलेवासमा रहेको रंगशालालाई प्रदेशको दोस्रो ठूलो रंगशालाको रुपमा विकास गर्न टड्कारो आवश्यकता रहेको भन्दै क्षेत्रीले त्यसका लागि पनि आवश्यक पहल भइरहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमिति सदस्य शिव शर्मा अधिकारीले युवा क्लबले सामाजिक एकताको पक्षमा काम गरेको देख्दा खुसी लागेको बताए । सोही अवसरमा उनले प्रतियोगिताका लागि आर्थिक सहयोग समेत प्रदान गरे । यस्तै, वडाध्यक्ष नवीनकुमार श्रेष्ठले क्लबले खेल र अन्य क्षमताको विकास गर्न गरेको प्रयासको प्रशंसा गरे ।
क्लबका अध्यक्ष सूर्य कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य अर्जुन कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कृष्ण अखेलीले गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय बन्ने टोलीले पुरस्कार स्वरुप क्रमशः ८३ हजार, ४२ हजार, २२ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । सोही अवसरमा देवीस्थान डान्स आइडल पनि आयोजना गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive