क्यालीफोर्निया : अमेरिकास्थित गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएको विवादकाबीच समानान्तर समितिका सदस्यहरूलाई अलग मार्ग रोज्ने विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गरिएको छ ।
एनआरएनए, नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालीफोर्निया अमेरिकाका अध्यक्ष माधव मरासिनीले गैर आवासीय नेपाली संघ, बालुवाटार काठमाडौंसँग अलग मार्ग रोज्ने विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गरेका हुन् । मरासिनीले जारी गरेको धारणा अनुसार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकालाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का केही व्यक्तिहरूले “दुहुनो गाई” जस्तो व्यवहार गरिरहेको आरोप लगाएका छन् । उनले अमेरिकामा रहेका सदस्यहरूको आर्थिक योगदान केवल काठमाडौंस्थित केन्द्रीय कार्यालयका कर्मचारी पाल्नका लागि मात्र प्रयोग हुनु उचित नभएको बताएका छन् ।
उनले कर्मचारी संरचना र खर्च व्यवस्थापनमाथि पुनः समीक्षा आवश्यक रहेको उल्लेख गर्दै कर्मचारी कटौती गर्न नसकिने भए त्यसको औचित्य स्पष्ट हुनुपर्ने बताएका छन् । मरासिनीले संस्था सुदृढीकरण र समुदाय सशक्तीकरणका नाममा सकारात्मक पहलहरूलाई सहयोग गर्नुको सट्टा निरन्तर विवाद सिर्जना भइरहेको दाबी गरेका छन् । उनका अनुसार समानान्तर समितिसँग वार्ताको बहानामा मात्र समस्या समाधान नहुने भन्दै अमेरिकामा सञ्चालन हुने संस्थाहरू अमेरिकाकै कानून, नियम र वैधानिक प्रक्रियाअनुसार चल्नुपर्ने बताएका छन् ।
अध्यक्ष मरासिनीले गैर आवासीय नेपाली संघ बालुवाटार काठमाडौंबाट यस्तै गतिविधि निरन्तर भइरहे अन्तर्राष्ट्रिय स्तरमा समेत विषय उठाउन बाध्य हुने चेतावनी दिएका छन् । आवश्यक परे संयुक्त राष्ट्रसंघ (यूएन) को मुख्यालयसम्म औपचारिक पत्राचार गरिने उनले बताएका छन् ।
एनआरएनए अमेरिकाभित्रको विवादबारे अध्यक्ष मरासिनीको चेतावनी
जेष्ठ १४, २०८३




