आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

पत्रकार महासंघ पर्वतको १४ औँ साधारण सभा : तीन जना पुरस्कृत, ६ जनालाई सम्मान

जेष्ठ १७, २०८३

पर्वत : एशियाकै सबैभन्दा ठूलो शिलाका रूपमा परिचित पर्वतको महाशिला गाउँपालिका–५ स्थित महाशिलामा नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४औँ साधारण सभा सम्पन्न भएको छ ।
महाशिलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने उद्देश्यले यस वर्षको साधारण सभा सोही स्थलमा आयोजना गरिएको हो । साधारण सभाको अवसरमा जिल्लाका तीन जना पत्रकारलाई ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ भने पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ६ जना अग्रज पत्रकार सम्मानित भएका छन् ।
सिर्जनशील पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश गिरी तथा गोरखापत्र दैनिकका संवाददाता प्रनिश गिरी सम्मानित भएका हुन् । पुरस्कृत पत्रकारहरूलाई नगद १२ हजार २ सय २२ रुपैयाँ, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो । महासंघले हरेक वर्ष उत्कृष्ट पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ पर्वत शाखाका संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरूलाई समेत सम्मान गरिएको छ । पत्रकारिता तथा प्रेस स्वतन्त्रताको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै संस्थापक अध्यक्ष भोलानाथ शर्मा तथा पूर्व अध्यक्षहरू ओमप्रसाद शर्मा, यामबहादुर केसी, दुर्गाप्रसाद शर्मा, छविलाल तिवारी र सन्तोष थापालाई सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताइन । पर्यटन विकासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव नहुने उल्लेख गर्दै उहाँले नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास र विस्तारमा जोड दिनुपर्ने आवश्यकता उनले औँल्याएकी छिन् ।
मन्त्री रिमालले पर्याप्त सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेका धेरै पर्यटकीय स्थलहरू रहेको बताउँदै तिनको पहिचान र प्रवद्र्धनमा स्थानीय सरकारहरू सक्रिय हुनुपर्ने धारणा व्यक्त गरिन । संघीय सरकारले सरकारी विज्ञापन कटौती गरेर सञ्चार क्षेत्रलाई समस्यामा पार्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले गण्डकी प्रदेश सरकार भने पत्रकार तथा सञ्चार क्षेत्रको पक्षमा रहेको बताइन् । सञ्चार क्षेत्रलाई कुनै पनि रूपमा निषेध गर्न नहुने उनको भनाइ छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसाल, महाशिला क्षेत्र विकास समितिका अध्यक्ष राजु पौडेल, प्रेस काउन्सिल नेपाल सम्परीक्षण समिति सदस्य हरिओम शर्मा लामिछाने, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि. पौडेल तथा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमलगायतको पनि सहभागिता थियो ।
नेपाल पत्रकार महासंघ पर्वत शाखाका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रञ्जना खत्रीले गरिन भने सञ्चालन सचिव साजन परियारले गरेका थिए ।
पत्रकारहरूको महाशिला भ्रमण तथा सोही स्थलमा सम्पन्न साधारण सभाले महाशिला क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रचार–प्रसारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive