शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

गणतन्त्र दिवसमा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

जेष्ठ १६, २०८३

पर्वत : १९ औँ गणतन्त्र दिवसको अवसर पारेर कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक तथा दैनिक प्रयोगका सामग्री हस्तान्तरण गरिएको छ । उक्त सामग्रीहरू एकीकृत सेवा कार्यालय, पर्वतको सहयोगमा खरिद गरी विद्यालयलाई प्रदान गरिएको हो ।
आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल, जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.क., एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेल तथा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि. पौडेल लगायत विभिन्न सुरक्षा निकायका प्रमुख एवं अन्य अतिथिहरूले संयुक्त रूपमा विद्यालयलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्री तथा दैनिक जीवनमा उपयोगी सामग्री उपलब्ध गराइएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले समावेशी शिक्षाको प्रवद्र्धन तथा सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी र प्रेरणादायी हुने धारणा व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापकले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययनलाई थप सहज र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले समावेशी शिक्षा तथा सामाजिक उत्तरदायित्वप्रति समुदायको प्रतिबद्धतालाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive