शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

आज आगामी वर्षको बजेट सार्वजनिक हुँदै

जेष्ठ १५, २०८३

काठमाडौं : अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट आज सार्वजनिक गर्दै छ।

अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवका लागि खर्च तथा व्ययको अनुमानसहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आएका छन्।  आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ।

बजेटमा बर्सौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित दु्रत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजीलगायतको घोषणा गर्ने सरकारको तयारी छ ।

त्यस्तै निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढाउनेलगायतका घोषणा पनि बजेटमार्फत गर्ने तयारी छ ।

उपभोग र लगानी बढाउँदै बढीमा सात वर्षभित्र एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। बजेटको आकार २० खर्ब नाघ्ने अनुमान गरिएको छ।

अर्थमन्त्री वाग्लेले संसद्मा आयव्ययको अनुमान समावेश हुने विनियोजन विधेयकसहित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुने छ।

नेपालको संविधान, २०७२ अनुसार हरेक वर्ष जेठ १५ गते आगामी आवको आयव्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ।

संसद्मा बजेट प्रस्तुत गर्ने अघिल्लो दिन बिहीबार अर्थमन्त्री डाक्टर वाग्लेले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive