पर्वत : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि ग्लोबल पर्वत समाजले तीन लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
समाजले एक विज्ञप्ति जारी गर्दै बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना सहित सहयोगको प्रदान गरेको हो । समाजले विपद्को समयमा आफूले सक्दो सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको जनाएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित सबैलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउन समाजले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
समाजले विपद्को यस घडीमा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ । सहयोग रकमले पीडितको राहत, उद्धार तथा पुनः स्थापनामा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । ग्लोबल पर्वत समाजका अध्यक्ष दधि आचार्य र महासचिव कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा मानवीय सेवा र संवेदनालाई समाजको महत्त्वपूर्ण दायित्वका रूपमा लिँदै आगामी दिनमा समेत सामाजिक कार्यमा सक्रिय रहने उल्लेख छ ।
रसुवाको भोटेकोसीमा आएको बाढीपछि उद्धार, खोजी तथा राहतका लागि विभिन्न सङ्घसंस्था र समुदायबाट सहयोग जुट्ने क्रम जारी छ ।
रसुवा बाढीपीडितका लागि ग्लोबल पर्वत समाजद्वारा ३ लाख २५ हजार सहयोग
भदौ १४, २०८३




