पर्वत : पर्वतको मोदी गाउँपालिका–६ रातामाटामा अविरल वर्षापछि पहिरो जाँदा दुई घर जोखिममा परेका छन् ।
सोमबार राति परेको अविरल वर्षाका कारण रातामाटा निवासी अर्जुन लामिछानेको घरको आँगनमा पहिरो गएको हो । पहिरोका कारण अर्जुन लामिछाने र होमबहादुर लामिछानेको घर जोखिममा परेको मोदी गाउँपालिकाका उपाध्यक्ष बीमल लामिछानेले जानकारी दिएका छन् ।
घटनाको जानकारी प्राप्त भएपछि गाउँपालिकाले प्राविधिक टोलीसहित घटनास्थलको स्थलगत निरीक्षण तथा पहिरोको अनुगमन गरेको छ । अनुगमनका क्रममा सम्भावित जोखिम न्यूनीकरण तथा पहिरो रोकथामका लागि अपनाउनुपर्ने आवश्यक उपायबारे प्रभावित परिवारसँग छलफलसमेत गरिएको उपाध्यक्ष लामिछानेले बताएका छन् ।
वर्षाका कारण पहिरोको जोखिम बढ्दै गएकाले प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक सावधानी अपनाउन गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिका आफ्ना नागरिकको भौतिक सम्पत्तिमा हुन सक्ने क्षति न्यूनीकरण तथा आवश्यक संरक्षणका लागि प्रतिबद्ध रहेको उपाध्यक्ष लामिछानेको भनाइ छ ।
मोदी गाउँपालिका–६ रातामाटामा पहिरो, दुई घर जोखिममा
भदौ १६, २०८३




