बिहि, भदौ १८, २०८३
Thu, September 3, 2026

मोदी गाउँपालिकामा पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता गर्न आग्रह

भदौ १८, २०८३

पर्वत : मोदी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने तथा विभिन्न कारणले हालसम्म जन्मदर्ता हुन नसकेका पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता गराउन अभिभावक तथा परिवारका सदस्यलाई आग्रह गरेको छ । गाउँपालिकाले जन्मदर्ता प्रत्येक बालबालिकाको पहिचान र कानुनी अधिकारसँग जोडिएको महत्वपूर्ण विषय भएकाले जन्मदर्ता गराउनु सम्बन्धित व्यक्तिको कानुनी दायित्वसमेत रहेको जनाएको हो ।
नेपालको संविधानले प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक सुनिश्चित गरेको तथा बालबालिकासम्बन्धी ऐन, २०७५ ले समेत जन्मदर्ताको अधिकारलाई स्पष्ट गरेको गाउँपालिकाले जनाएको छ । प्रचलित कानुनअनुसार बालबालिका जन्मिएपछि बाबु वा आमाले जन्मदर्ता गराउनुपर्ने व्यवस्था रहेकाले हालसम्म जन्मदर्ता नभएका बालबालिकाको जन्मदर्ता तत्काल गराउन गाउँपालिकाले अनुरोध गरेको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ ले जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ताका लागि तोकिएको अवधिभित्र सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा सूचना दिनुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार मोदी गाउँपालिकाअन्तर्गतका आठवटै वडामा कुनै पनि कारणले जन्मदर्ताको नैसर्गिक अधिकारबाट वञ्चित रहेका पाँच वर्षमुनिका बालबालिकाका हकमा अभिभावक वा कानुनबमोजिम सूचना दिन योग्य परिवारका सदस्यले जन्मदर्ता गराउन सक्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी जन्मदर्ता गराउन आग्रह गरेको छ । व्यक्तिगत घटना दर्ताका क्रममा कुनै समस्या वा अन्योल भएमा गाउँ कार्यपालिकाको कार्यालयमा समेत सम्पर्क गर्न सकिने जनाएको छ ।
मोदी गाउँपालिकाले बालबालिकाको पहिचान तथा राज्यबाट प्राप्त हुने विभिन्न सेवासुविधाका लागि जन्मदर्ता महत्वपूर्ण भएकाले सम्बन्धित अभिभावकलाई तोकिएको समयभित्रै वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive