पर्वत : राष्ट्रिय बाल दिवसको अवसरमा विपद्बाट प्रभावित बालबालिकालाई सकारात्मक सन्देश, हौसला र उज्ज्वल भविष्यप्रति प्रेरणा प्रदान गर्ने उद्देश्यले पर्वतमा जिल्ला स्तरीय कविता प्रतियोगिता आयोजना हुने भएको छ ।
एकीकृत सेवा कार्यालय, पर्वतको आयोजनामा हुने प्रतियोगितामार्फत पर्वत जिल्लाका बालबालिकाले कविता सिर्जना तथा वाचनका माध्यमबाट विपद्बाट प्रभावित बालबालिकाप्रति सहयोग, साहस, आशा र सद्भाव व्यक्त गर्नुका साथै समग्र बालबालिकाको अधिकार र आवाजलाई साहित्य तथा सिर्जनाका माध्यमबाट प्रस्तुत गर्नेछन् ।
प्रतियोगिता २०८३ भाद्र २६ गते शुक्रवार बिहान ११ बजे एकीकृत सेवा कार्यालय, पर्वतको सभा हलमा सञ्चालन हुनेछ । प्रतियोगितामा कक्षा १ देखि १२ सम्म अध्ययनरत बालबालिकाले सहभागिता जनाउन सक्नेछन् । सहभागीले बाढीबाट प्रभावित बालबालिकाका लागि सकारात्मक सन्देश प्रवाह गर्ने तथा सहयोग, साहस, आशा, सपना, पुनर्निर्माण, शिक्षा र उज्ज्वल भविष्यसँगै समग्र बाल अधिकारका विषयमा आधारित कविता सिर्जना गरी वाचन गर्नुपर्ने छ ।
प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले सहभागी बालबालिकाको नामसहितको पत्र कार्यालयमा मेल गरेर वा कार्यालयको नम्बरमा ह्वाट्सएपमार्फत पठाउन सक्नेछन् । समूह दर्ताको अन्तिम मिति २०८३ भाद्र २४ गते तोकिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने बालबालिकालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने एकीकृत सेवा कार्यालयले बताएको छ ।




