आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026

प्रगति संस्कार बाल क्लबको वार्षिकोत्सव : पुस्कार र सम्मानसहित नाटक र नृत्य

मंसिर ७, २०८३

पर्वत : बालबालिकामा असल संस्कार, अनुशासन, सामाजिक भावना र सहकार्यको विकास गराउने उद्देश्यले स्थापित प्रगति संस्कार बाल क्लब कुश्माले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।
क्लबले शनिबार पर्वत उद्योग वाणिज्य संघको सभाहलमा वार्षिकोत्सवसँगै सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सामाजिक क्षेत्रमा विभिन्न योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गर्नुका साथै क्लबले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ । क्लबले अन्तरविद्यालयस्तरीय शिक्षक मैत्रीपूर्ण म्युजिकल चेयर, अभिभावक मैत्रीपूर्ण म्युजिकल चेयर, राष्ट्रसेवक मैत्रीपूर्ण म्युजिकल चेयर, क्रिकेट प्रतियोगिता, १०० मिटर दौड तथा डोरी नाघ्ने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरूलाई पुरस्कृत गरेको हो ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले बालबालिकाको हकहित र व्यक्तित्व विकासका लागि आफू सदैव सहयोग गर्न तयार रहेको बताइन् । आफ्नो मन्त्रालयले बालबालिकालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले बालबालिकासम्बन्धी कार्यक्रम तथा गतिविधिबारे मन्त्रालयको वेबसाइटमार्फत जानकारी लिन सकिने बताइन् । बालबालिकाको व्यक्तित्व विकासका लागि असल संस्कार, अनुशासन र सामाजिक व्यवहारको विकास सानै उमेरदेखि गर्नुपर्ने उनको भनाइ छ । बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक जीवन, सामाजिक उत्तरदायित्व र मानवीय मूल्य मान्यतासँग जोड्नुपर्ने उनको भनाइ छ । उनले भनिन, ‘बालबालिकाको भविष्य उज्ज्वल बनाउन पढाइसँगै असल संस्कार र व्यवहार सिकाउनु उत्तिकै आवश्यक छ । बालबालिकालाई असल नागरिक बनाउने जिम्मेवारी विद्यालयको मात्र होइन, परिवार र समग्र समाजको पनि हो ।’
कार्यक्रमका वक्ताहरूले क्लबले कुश्मा बजारमा केन्द्रित रहेर बालबालिकामा असल संस्कार र सकारात्मक अभ्यासको विकासका लागि गरिरहेको कामको प्रशंसा गर्दै यसको दायरा जिल्लाभर विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । बिदाको समयमा बालबालिकालाई एकै ठाउँमा भेला गराएर विभिन्न रचनात्मक तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउँदा उनीहरूमा सामाजिक व्यवहार, आत्मविश्वास र सामाजिकीकरणको विकास हुने उनीहरूको भनाइ छ । जिल्लाका अन्य विद्यालयमा समेत क्लब विस्तार गरी बालबालिकामा सकारात्मक सोच र व्यवहार विकास गर्ने अभियान सञ्चालन गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन् । बालबालिकामा असल संस्कार विकास गर्न विद्यालयको प्रयास मात्र पर्याप्त नहुने भन्दै वक्ताहरूले घरपरिवारबाटै यसको सुरुवात गर्नुपर्ने उनीहरुको भनाइ छ ।
कार्यक्रममा बालबालिकाहरूले विभिन्न सांस्कृतिक तथा सन्देशमूलक प्रस्तुति दिएका थिए । ट्राफिक नियमको पालना नगर्दा हुन सक्ने सडक दुर्घटना र त्यसले निर्दोष परिवारमा पार्ने प्रभावलाई समेटेर उनीहरूले नाटक मञ्चन गरेका थिए । त्यस्तै, असल संस्कारको महत्त्व बुझाउने तथा आफ्नै उमेर समूहका साथीहरूलाई मोबाइलको अत्यधिक प्रयोग र लतबाट टाढा रहन आग्रह गर्ने सन्देशसहित भजन र नृत्य प्रस्तुत गरेका थिए । बालबालिकाहरूको प्रस्तुतिमा उनीहरूका आमाहरूले समेत नृत्यमार्फत साथ दिएका थिए ।
सोही अवसरमा क्लबका अध्यक्ष प्रसिद्ध रेग्मीले आफ्नो कार्यकालमा क्लब तथा समाजका लागि विभिन्न योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरेका छन् । उनले बालबालिकाको समग्र व्यक्तित्व विकासका लागि संस्कार पहिलो आधार भएको उल्लेख गर्दै सानै उमेरदेखि सहकार्य, अनुशासन र असल आचरणको विकास गराउनुपर्ने बताए । उनले भने, ‘बालबालिकामा असल संस्कारको विकास नभएसम्म उनीहरूको व्यक्तित्व विकास पूर्ण हुन सक्दैन । त्यसैले सानै उमेरदेखि असल संस्कार, सहकार्य र सामाजिक जिम्मेवारीको भावना सिकाउनु आवश्यक छ ।’
यसैबीच, वार्षिकोत्सवकै अवसरमा अध्यक्ष रेग्मीले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका छन् । अध्ययनका क्रममा क्लबलाई आवश्यक समय दिन कठिन हुने भएपछि उनले सचिवको जिम्मेवारीमा रहेका एलिस गौतमलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पेटल, प्याब्सन नेपालका पूर्व केन्द्रीय सदस्य वसन्तकुमार कर्माचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय मानार्थ सदस्य हरिओम शर्मा लामिछाने तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईलगायतको सहभागिता रहेको थियो ।
क्लबका अध्यक्ष प्रसिद्ध रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका संरक्षक तथा शिक्षक रश्मी गौतमले गरेकी थिइन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive