मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

पोखरा–बागलुङ सडक अन्तर्गत पर्वतमा यात्रु सहायता कक्ष स्थापना

अशोज १५, २०७८

सरिता पौडेल
असोज १५, २०७८
पर्वत : नजिकिँदै गरेका चाडपर्वहरूलाई ध्यानमा राखेर मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्डलाई समेट्ने गरी पर्वत सदरमुकाम कुश्मा बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
कोभिड–१९ को प्रभाव कम हुँदै गएका कारण सवारीको ओहोरदोहोर बढ्दै गएको तथा चाडबाडमा आउजाउ गर्नेहरू पनि बढ्ने भएकाले त्यसको व्यवस्थापनमा सहयोग गर्न सवारीको बढी चाप हुने कुश्माको शिवालय चोकमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए। कक्षमा २४ सै घण्टा प्रहरी रहने भएकाले यात्राको क्रममा कुनै पनि समस्या आएमा नागरिक वा यातायात सञ्चालक दुवै पक्षलाई परेका समस्या समाधानमा सजिलो हुने उनको भनाई छ। चाडबाडको बेलामा जिल्लालाई सुरक्षित राख्नको लागि जिल्ला प्रहरी कार्यालय पर्वतले बनाएको सुरक्षा रणनीति अन्तर्गत रहेर सहायता कक्ष स्थापना गरिएको डिएसपी बुढाथोकीले बताए।
चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक सवारीमा हुनसक्ने यात्रुको भिडभाड, बढी भाडा लिने, सवारीको क्षमताभन्दा बढी यात्रु चढाउने, टिकटमा कालोबजारी गर्ने, लगायतका सवारी र यात्रु सम्बन्धी विभिन्न समस्या तथा गुनासोलाई समाधान गर्ने गरी सहायता कक्षबाट सहयोग हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक प्रेम श्रेष्ठले बताए। ‘सहायता कक्षमा ट्राफिक प्रहरी सहित यातायात व्यवसायीका प्रतिनिधि पनि रहनुहुन्छ। यात्राका क्रममा आएका समस्याको समाधान गर्नकै लागि सहायता कक्ष स्थापना गरिएको हो’ उनले भने, ‘यो बेलामा दुर्घटनाको सम्भावना पनि बढी हुन्छ, क्षमताभन्दा बढी यात्री वा सामान राख्ने, भाडा बढी लिने, यात्रामा सामान हराउने तथा लुटपाट हुन सक्ने लगायतका समस्या बढी हुन्छन, त्यो हुन नदिनका लागि पनि सहायता कक्षले सहयोग गर्छ।’
कोभिड–१९ को संक्रमणपूर्व चाडबाडको बेलामा यात्री तथा यातायातका साधनहरूको ओहोरदोहोर धेरै हुने भएका कारण जिल्लाका प्रमुख ठाउँहरू हुवास, वारी बेनी, डिमुवा लगायतका ठाउँमा पनि सहायता कक्ष स्थापना गर्ने गरिएको थियो। अहिले तत्कालै सवारीको भिडभाड धेरै नभएको तथा ग्रामीण क्षेत्रमा आउजाउ गर्ने सवारीहरू पनि शिवालयचोकबाट नै छुट्ने भएका कारण अहिले सुरुमा कुश्मामा मात्रै सहायता कक्ष स्थापना गरिएको हो। अब क्रमशः धौलागिरिको प्रमुख नाका डिमुवामा पनि सहायता कक्ष राख्ने ट्राफिक प्रहरी प्रमुख श्रेष्ठको भनाई छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive