चैत २, २०७८
पर्वत : शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, पर्वतको आयोजना र कुश्मा नगरपालिकास्थित पर्वत, कृष्णागण्डकी र जनज्योती सामुदायिक सिकाइ केन्द्रसँगको सहकार्यमा वैकल्पिक शिक्षाको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरुका बारेमा सरोकारवालाहरुको सहभागितामा एक दिवसीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।
पर्वत : शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, पर्वतको आयोजना र कुश्मा नगरपालिकास्थित पर्वत, कृष्णागण्डकी र जनज्योती सामुदायिक सिकाइ केन्द्रसँगको सहकार्यमा वैकल्पिक शिक्षाको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरुका बारेमा सरोकारवालाहरुको सहभागितामा एक दिवसीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।
वैकल्पिक शिक्षा अन्तरगत सामुदायिक सिकाइ केन्द्रहरुको प्रभावकारी सञ्चालन हुनुपर्ने कुरामा सकारात्मक दवाब सिर्जना गर्ने र सम्बन्धित पक्षहरुलाई झक्झकाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
छलफल कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ७ का अध्यक्ष सुभाषचन्द्र पौडेलले शिक्षाको मुलधारमा नजोडिएकाहरुलाई शिक्षासँग जोडनका लागि वैकल्पिक शिक्षाको अवधारणा आएको बताएका थिए । उनले केही आधारहरु पूरा गरेर जिल्ला र कुश्मा नगरपालिका साक्षर घोषणा भएको भएपनि अनौपचारिक शिक्षाको क्षेत्रमा काम गर्न अझै बाँकी रहेकाले आफूहरु सामुदायिक सिकाइ केन्द्रहरुको स्तर बृद्धि गर्न आवश्यक पर्ने सबै प्रकारका सहयोग गर्न उत्सुक रहेको प्रतिबद्धता ब्यक्त गरे । उनले स्थानीय तहको आगामी निर्वाचनमा शिक्षासहित नगरपालिकाको सर्वाङ्गिण विकासका क्षेत्रमा काम गर्न सक्षम नेतृत्व चयन गर्न पनि अनुरोध गरे ।
कुश्मा नगरपालिका वडा नं. २ का अध्यक्ष यदुनाथ शर्मा बास्तोलाले सामुदायिक सिकाइ केन्द्रहरुलाई बहुआयामिक र बहुपक्षिय सिकाइ थलोका रुपमा विकास गर्नुपर्दछ भन्ने मान्यताका आधारमा आफूहरुले आफ्नो वडामा सञ्चालनमा रहेको सिकाइ केन्द्रलाई सहयोग गरिरहेको बताए । उनले सिकाइ केन्द्रलाई नयाँ सन्दर्भमा नयाँ ढंगले नै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको तथ्यमा जोड दिए ।
छलफल कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका उपाध्यक्ष राजेन्द्र पहाडीले वैकल्पिक शिक्षा ः वर्तमान अवस्था, समस्या र समाधानका उपायहरु विषयमा विषयगत अवधारणापत्र प्रस्तुत गरेका थिए भने कृष्णागण्डकी सिकाइ केन्द्र कुश्माकी परिचालिका गंगाकुमारी शर्माले कुश्मा नगरपालिका भित्र सञ्चालनमा रहेका तीनवटै सिकाइ केन्द्रहरुले हालसम्म सञ्चालन गरेका गतिविधिहरु, कोभिड १९ ले सिकाइ केन्द्र संचालनमा पारेका प्रभाव, विद्यमान समस्याहरु र समाधानका उपायहरुका बारेमा अनुभवकेन्द्रीत प्रस्तुती राखेकी थिइन् ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत दिपक सुवेदीले पर्वत जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भैसकेको सन्दर्भमा सामुदायिक सिकाइ केन्द्रहरुलाई पनि बदलिँदो आवश्यकता र सन्दर्भअनुरुप सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए । स्थानीय सरकार सञ्चालन ऐनले सिकाइ केन्द्रहरुको सञ्चालन तथा ब्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारहरुलाई दिएका कारणले स्थानीय सरकारहरु यसका लागि जिम्मेवार हुनुपर्ने भएपनि सामुदायिक सिकाइ केन्द्रहरु पनि जिम्मेवार बनेर आफ्ना गतिविधिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए । कोभिड १९ को प्रभाव विस्तारै कम हुँदै गएकाले अब सामुदायिक सिकाइ केन्द्रहरुले पनि आजसम्मको कामको निर्मम समीक्षा गरेर योजना बनाएर नयाँ शिराबाट कार्यको थालनी गर्नुपर्ने खाँचो रहेको कुरामा शिक्षा अधिकृत सुवेदीले जोड दिए । सामुदायिक सिकाइ केन्द्रहरुको प्रभावकारी सञ्चालन गर्नेगरी बन्ने कार्ययोजनामा नगर शिक्षा शाखाको सदैब सकारात्मक सहयोग रहने उहाँले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गरिरहनुभएका कृष्णागण्डकी सिकाइ केन्द्र कुश्माका अध्यक्ष तथा समाजसेवी लोकनाथ आचार्यले समाजमा पछि परेका भनिएको महिला दिदीबहिनीहरुको शिक्षा, चेतना, संगठन तथा नेतृत्व विकासका हेतु स्थापित भएका सिकाइ केन्द्रहरुको सुसञ्चालनका लागि स्थानीय सरकारहरु बढी जिम्मेवार बन्नुपर्ने र केन्द्रका कर्मचारीको रुपमा रहेका परिचालकको न्यून पारिश्रमिक बृद्धि गर्नुपर्ने माग गर्नुभयो ।
छलफल कार्यक्रममा शैक्षिक अभियन्ता तथा नारायण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पृथ्वीनारायण शर्माले सिकेका कुरा ब्यवहारमा लागू गर्न अघि सर्नुपर्ने र सिक्नका लागि इच्छाशक्तिलाई बलियो बनाइरहनुपर्ने कुरामा जोड दिनुभयो । गैसस महासंघका केन्द्रीय सदस्य जगन्नाथ शर्माले सामुदायिक सिकाइ केन्द्रहरु अपांगमैत्री हुनुपर्ने र समावेशी हिसाबले सञ्चालन गर्नुपर्ने खाँचो औंल्याउनुभयो । नेत्रहीन संघ पर्वतका सल्लाहकार हरिदत्त शर्माले लोकतन्त्रको सुन्दर पक्ष नै समावेशिता, स्वतन्त्रता र स्वीकार्यता भएकाले हाम्रा सिकाइ केन्द्रअहरुले पनि यस मर्मलाई आत्मसाथ गरेर आफ्ना गतिविधिहरु अघि बढाउनुपर्ने तर्क गर्नुभयो ।
छलफल कार्यक्रममा नागरिक समाज सञ्जाल पर्वतका संयोजक मानकुमारी गिरीले महिलाहरुको क्षमता तथा नेतृत्व विकासका लागि सामुदायिक सिकाइ केन्द्रहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई सिपमूलक तालिम उपलब्ध गराएर आयआर्जन गर्न सक्ने बनाउने तर्फपनि सिकाइ केन्द्रहरुले ध्यानदिनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ७ का वडा सदस्य निलराज पुरी, एनसिई पर्वतका सदस्य एकनारायण चालिसे, फुलराज शर्मा लामिछाने, सिकाइ केन्द्रका सरस्वती पौडेल, इश्वरी नेपाली, ज्ञानु पौडेल, सिता बानिया केसी, पार्वती चापागाईँलगायतले आ–आफ्नो विचार राख्नुभएको थियो ।
एनसिई नेपाल पर्वतका संयोजक यज्ञ प्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता समाजसेवी लोकनाथ आचार्य र स्वागत मन्तब्य जनज्योती सिकाइ केन्द्रका परिचालिका बालकुमारी शर्माले गर्नुभएको छलफल कार्यक्रममा हालै सम्पन्न गैसस महासंघको महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका अधिकारकर्मी तथा एनसिई पर्वतका सक्रिय सदस्य जगन्नाथ शर्मालाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।