सरिता पौडेल
चैत ४, २०७८
पर्वत : पाका पुस्ताको अनुभव नयाँ पुस्तामा सार्ने तथा ज्येष्ठ नागरिकहरु भेला आपसी कुरा गर्दै समय व्यतित गर्न सकुन भनरे फलेवास नगरपालिका–३ शंकरपोखरीको रुग्दीमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गरिएको छ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको करिब नौ लाख बजेटमा बनेको भवनको निर्माणकार्य पूरा भएपछि बिहीवार फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले उद्घाटन गरेका छन्। सो अवसरमा बोल्दै उनले ज्येष्ठ नागरिक भवनमा ज्येष्ठ नागरिक मात्रै भेला हुने नभई उनीहरुको साथमा यूवाहरु पनि बस्नुपर्ने र पाको पुस्ताको अनुभव सुन्नुपर्ने बताए। ज्येष्ठ नागरिकहरु अनुभव र ज्ञानका स्रोत भएकाले उनीहरुलाई सम्मान गर्दै उनीहरुको अनुभवलाई पछिल्ला पुस्तामा स्थानान्तरण गर्दै लैजानुपर्ने नगर प्रमुख शर्माको भनाई छ।
‘पाको पुस्ताका ज्येष्ठ नागरिक भनेका हाम्रो समाजका लागि अनुभव र ज्ञानका स्रोत हुनुहुन्छ। उहाँहरुबाट हामीले धेरै कुरा सिक्न सक्छौँ र त्यौ ज्ञानलाई पछिल्लो पुस्तामा स्थानान्तरण गर्दै लगिनुपर्छ,’ उनले भने, ‘ज्येष्ठ नागरिक भवनमा ज्येष्ठ नागरिकमात्रै बस्ने भनेको होईन, त्यहाँ पाका बुबाआमासँगै हामी सबै बस्ने हो। गफ गर्ने, भजन गाउने, कुरा गर्ने र सिक्ने। उहाँहरुलाई खुसी राख्ने हो।’ ज्येष्ठ नागरिकलाई वेवास्ता गर्दा त्यसको फल नमिठो हुने भएकाले उनीहरुलाई समाजका गहनाका रुपमा राख्नुपर्ने नगरप्रमुख शर्मा बताउँछन् ।
सो अवसरमा बोल्दै शंकरपोखरीका वडाध्यक्ष अर्जुबहादुर कार्कीले ज्येष्ठ नागरिक खुसी हुन सकेमा मात्रै पछिल्लो पुस्ताका नागरिक पनि खुसी हुन सक्ने भएकाले ज्येष्ठ नागरिकमैत्री वातावरण निर्मँण गर्नुपर्ने बताए। बुढेसकालले च्याप्दै जाँदा उनीहरु परनिर्भर हुने र आफ्ना चहानाहरु आफैले पूरा गर्न नसक्ने भएकाले उनीहरुको खुसीमा विशेष चनाखो हुुनपर्ने उनको सुझाव छ। अर्को प्रसङ्गमा उनले स्थानीय तहमा जनप्रतिनिधि आएसँगै जनताका कामहरु सजिलै भइरहेको बताए। तर कानुनी अधिकार र तोकिएका मापदण्डका कारण नागरिकले जे माग राख्छन ती सबै पूरा हुन सम्भव नरहेको वडाध्यक्ष कार्कीको भनाई छ।
यस्तै तरुण दल शंकरपोखरीका अध्यक्ष सतिश रेग्मीले स्थानीय तहले जनताको आवश्यकतामा ध्यान दिँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताए। नाली, पहिरो लगायतका कारण गाउँ गाउँमा बनाइएका सडकमा समस्याहरु देखिएकाले समयमै मर्मत गरी नागरिकलाई सहज सेवा दिनुपर्ने उनको माग थियो। आफूले चाहेको वा कुनै विशेष ठाउँमा मात्रै सेवा दिएर कुनै ठाउँलाई छायाँमा पार्ने काम नगरपालिकाबाट हुन नहुने पनि अध्यक्ष रेग्मीले सुझाए।
भवन निर्माण समितिका अध्यक्ष बुद्धि सागर रेग्मीले नौ लाखको लागतमा बनेको भवनले ज्येष्ठ नागरिकहरुलाई सहज वातावरण बनाउने बताए। समय व्यतित गर्नको लागि तथा धार्मिक कुरामा संलग्न हुनका लागि पनि दिवा सेवा केन्द्र उपयोगी हुने उनको भनाई छ। केन्द्रको निरन्तरता र थप व्यवस्थापनको लागि नगरपालिकाले समय समयमा हेरचाह तथा उपयुक्त सहयोग गर्नुपर्ने अध्यक्ष रेग्मीको भनाई छ।
सोही अवसरमा फलेवास नगरपालिकाको तर्फबाट रुग्दी तीन जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो। दीर्घायुको कामना सहित ९४ वर्षिया भिमकुमारी रेग्मी, ८८ वर्षिय नरबहादुर भण्डारी र ८६ वर्षिया चन्द्रकली रेग्मीलाई नगरप्रमुख शर्माले दोसल्ला ओढाई सम्मान गरेका हुन्। नगरप्रमुख शर्माले ज्येष्ठ नागरिक भवनमा आउने ज्येष्ठ नागरिकका लागि भजन किर्तनका बाजागाजा उपलब्ध गराउने घोषणा पनि सोही अवसरमा गरेका छन्।
निर्माण समितिका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्व्य वडा सदस्य निर्मला कुमारी शर्माले गरेकी थिईन्। कार्यक्रमको सञ्चालन लोक तथा दोहोरी गायक सूदीप क्षेत्रीले गरेका थिए।