बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

पर्वतमा तीन सय बढी ग्राहकको विद्युत् लाइन काटेर ४८ लाख असुल

चैत्र ७, २०७८

पर्वत : नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले महसुल नबुझाएका ग्राहकहरूबाट ४८ लाख रुपैयाँ असुल गरेको छ।

मिटर रिडिङ गरेको ६० औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाएका ग्राहकलाई सूचनामार्फत विद्युत् महसुल बुझाउन कार्यालयले सूचना जारी गरेको थियो।

तर पटक–पटक सूचना जारी गर्दा पनि महसुल बुझाउन अटेरी गरेपछि पर्वत वितरण केन्द्रले ६०औँ दिनसम्म पनि महसुल नबुझाएका ग्राहकहरूको विद्युत् लाइन जुनसुकै समयमा पनि काट्न सुरु गरेको थियो।

कार्यालय प्रमुख शिव नारायण गोशलीका अनुसार केही महिना अगाडिदेखि सुरु गरिएको यो अभियानअन्तर्गत फागुन मसान्तसम्म असुल गर्न बाँकी रहेकोमध्ये ४८ लाख २६ हजार रुपैयाँ असुल गरिएको छ। उक्त रकम असुलीका लागि तीन सय पाँचजना ग्राहकहरूको लाइन काटिएको थियो।

‘समयमा नै विद्युत् महसुल नबुझाउनु भएका तीन सय पाँच जनाको लाइन काटिएको थियो। फागुनको मसान्तसम्म ४८ लाख २६ हजार रुपैयाँ असुल गरिएको छ,’ उनले भने, ‘अझै पनि ग्राहकहरुलाई समयमै महसुल बुझाएर छुट सुविधा लिनुहुन अनुरोध गरेका छौँ। तर नियमानुसार गर्नुभएन भने हामी विद्युत् लाइन काट्न बाध्य हुनेछौँ।’

कार्यालय प्रमुख गोशलीले विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ को विनियम ८ को उपविनियम २ मा मिटर रिडिङ गरेको ३१ औँ दिनदेखि ४० औँ दिनसम्म विद्युत् महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्ने र ४० औँ दिनपछि महसुल बुझाएमा थप २५ प्रतिशत दस्तुर लाग्ने बताए।

यस्तै, विनियमावलीको विनियम १० मा मिटर रिडिङ गरेको ६० औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिने व्यवस्था रहेअनुसार पर्वतमा पनि सोही नियममा टेकेर बाँकी रहेको महसुल असुल गरिएको उनको भनाइ छ।

पर्वत वितरण केन्द्रले ६० औँ दिनभन्दा बढी समय हुँदा पनि विद्युत् महसुल नबुझाएकाहरूको विद्युत् लाइन दैनिक रूपमा काट्दै आइरहेको छ। लाइन काटिएपछि महसुल बुझाएमा पुनः जडान गरिने तथा महसुल नबुझाउँदासम्म अँध्यारोमा नै बस्नुपर्ने बाध्यता छ।

यही बाध्यताका कारण केन्द्र छोटो अवधिमा पनि धेरै बक्यौता असुल गर्न सकेको हो। लाइन काटिएर पनि बक्यौता नतिरेमा त्यस्ता ग्राहकहरूलाई कालो सूचीमा राखेर कारबाही गर्ने कार्यालय प्रमुख गोशली बताउँछन्।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म लाइन काटिएका तीन सयपाँच जनामध्ये दुई सय ५३ जनाले बक्यौता तिरेकाले उनीहरूको लागि पुन विद्युत् जडान गरिएको छ। तर, लाइन काटिएकामध्ये ५२ जनाले अझै पनि बक्यौता नतिरेका कारण उनीहरूको लागि विद्युत् आपूर्ति दिएको छैन।

उनीहरूलाई पनि बक्यौता तिर्नको लागि ताकेता गरिएको र अटेर गरेमा कालो सूचीमा राखेर कारबाही गरिने गोशलीको भनाइ छ।

थाहाखबर डट कमबाट साभार गरिएको

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive