वैशाख २, २०७९
पर्वत : समाजसेवी स्वर्गीय डिल्लीराम आचार्य र उनकी पत्नी सरस्वतीको स्मृतिमा पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ।
आचार्य दम्पतीका दुई छोराहरु गणेश आचार्य र गंगाधर आचार्यले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सघाउने उद्धेश्यले पाँच लाख पाँच सय ५५ रुपैयाँको स्थापना गरिएको हो। अक्षयकोष स्थापनाकर्ताहरुले अक्षयकोषमा रहने उक्त रकम चेकमार्फत् शुक्रवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तबहादुर सिके, सदस्य कमलनाथ पोख्रेल र प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेललाई हस्तान्तरण गरेका छन्।
रकम बुभ्mदै समितिका अध्यक्ष सिकेले कोषको व्यवस्थापनको लागि अक्षयकोष स्थापनाकर्ताहरुको सहभागितामा बिधान बनाएर मापदण्ड निर्धारण गर्ने बताए। विद्यालय सबैको सझा मन्दिर भएकाले समाजमा हुने विशेष कार्यक्रम वा अवसरहरुको मौका पारेर सहयोग गर्ने गरेमा पूण्य प्राप्ती हुने बताए। ‘विद्यालय सबैको साझा मन्दिर हो, अरु ठाउँमा गरिएको जस्तै विद्यालयमा गरिएको सहयोग उच्च हुन्छ। त्यसबाट दातालाई मोक्ष प्राप्ती हुन्छ,’ उनले भने, ‘हामीले नै स्थापना गरेका विद्यालयलाई हामीले नै सहयोग गर्ने हो। सामुदायिक विद्यालयको गुणस्तर कायम गर्न समुदायकै भूमिका रहन्छ। त्यसैको एउटा स्वरुप अक्षयकोष स्थापना गर्नु पनि हो।’
अक्षयकोषको व्याजबाट आउने रकमले विद्यालयले मनाउने हरेक वर्षको वार्षिकोत्सवमा तीन जना छात्रा र दुई जना छात्रलाई सहयोग गर्ने गरी अक्षयकोषको स्थापना गरिएको अक्षयकोष स्थापनाकर्ता गणेश आचार्यले बताए। दिवङ्गत भएका बुबाको सम्झनामा विद्यालयमा हरेक वर्ष छात्रावृत्ति वितरण गर्दा स्वर्गीय बुबाको आत्माले शान्ति पाउने उनको भनाई छ। ‘सप्ताह लगाएर लाखौँ रुपैयाँ सक्न सातै दिन लाग्ला, तर विद्यालयमा अक्षयकोष राखियो भने सधैँका लागि बुबाको स्मरण हुने छ। उहाँको आत्माले शान्ति पाउने छ,’ उनले भने, ‘कोही एक जनालाई सहयोग गर्नुभन्दा विद्यालयमा सहयोग गरेपछि त्यसबाट धेरै जना लाभान्वित हुन्छन्। सम्भव भएमा पछि यो कोषलाई अझै बढाउने प्रयास पनि गर्ने छौँ।’
निजामति सेवाबाट अवकास पाएका डिल्लीराजको २०७८ वैशाख २७ गते कोभिड–१९ सङ्क्रमणका कारण निधन भएको थियो। जागिरे जीवनबाट अवकास लिएपछि सामाजिक सेवामा सक्रिय रहेका आचार्यको ६७ वर्षको उमेरमा निधन भएको थियो।
बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024