पर्वतको महाशिला गाउँपालिका ६ फलामखानीमा नेपाली काँग्रेसको वडा कार्यालय उद्घाटन गरिएको छ । नेपाली काँग्रेस वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभयो । जोशीले जिल्लाभर काँग्रेसको वडा भवनहरु बन्दै आएको बताउँदै यसले काँग्रेसको संगठनमा बल मिलेको बताउनुभयो ।
अवका सबै निर्वाचनमा काँग्रेस दुई तिहाई मत ल्याएर नेतृत्वमा पुग्ने बताउँदै जोशीले भन्नुभयो,‘ लेखेर राख्नुस अब काँग्रेसलाई कसैले हराउन सक्दैन । जनताको मतलाई हामीले अवमुल्यन गर्दैनौँ ।’ अब विकासको काम काँग्रेसले गर्ने बताउँदै जोशीले कम्यूनिष्ठहरुको विश्वास नगर्न फलामखानीबासीलाई आग्रह गर्नुभयो । उहाँले जनतालाई झुठा कुरा सुनाएर भोट माग्ने दिनको अन्त्य भएको बताउनुभयो । घरघरमा ग्याँसको पाईप, जिल्ला जिल्लामा रेल, गाउँगाउँमा रोजगारी दिने नारा दिएर एमालेले वहुमत ल्याएपनि उसको नक्कली चरित्र अहिले उदांगो भएको जोशीले बताउनुभयो । दलित, महिला, जनजाती, अल्पसंख्यक समूदायको हितमा नेपाली काँग्रेसले सदियौँ देखि साथ र सहयोग गर्दै आएको भन्दै नेता जोशीले आगामी चुनावमा फलामखानीका बासिन्दाको जीवनस्तर उकास्ने जनप्रतिनिधी छान्न अनुरोध गर्नुभयो । ‘तपाईहरुले परिवर्तन र विकास खोजेको हो भने प्रश्न गर्नुहोस’ ‘तीन पटक कम्यूनिष्ठका उम्मेदवार जिताउनुभयो । उनीहरुले के के काम गरे भनेर तपाईहरुले प्रश्न सोध्ने बेला भएको छ ।’
एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि पनि तानशाह लाद्ने बाटो ढुकेर बसेको दाबी गर्दै नेता जोशीले उनलाई परास्त नगरे फेरि पनि तानाशाही र प्रतिगमनको शासन कायमै रहने बताउनुभयो । कार्यक्रममा जिल्ला कार्यसमिति उपसभापति शिवप्रसाद सुबेदीले नेपाली काँग्रेसका कार्यकर्ताहरु सजग र सचेत भएर निर्वाचनमा होमिने र वहुमत ल्याएर सासन चलाउने बताउनुभयो ।
महाधिबेशन प्रतिनिधी तथा जिल्ला सदस्य शिव शर्मा अधिकारीले केपी शर्मा ओलीको दबदबा पराजित गर्न गठबन्धनमा आबद्ध उम्मेदवारलाई जिताउन अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश प्रतिनिधी मेघमाया गुरुङ, माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य क्षेत्रवहादुर क्षेत्री, महाशिला गाउँपालिकाका सचिव द्रोणराज पौडेल, स्याङजाको अर्जुनचौपारी गाउँपालिका ५ का वडाध्यक्ष ख्यामनारायाण खनाल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको स्वागत नेपाल शिक्षक संघ महाशिलाका पूर्व अध्यक्ष भीमवहादुर क्षेत्रीले गर्नुभयो । फलामखानीका वडा सभापति कर्णवहादुर नेपालीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षक चन्द्रवहादुर क्षेत्रीले गर्नुभएको थियो ।