चैत ३०, २०७८
पर्वत : व्यक्तिगत घट्ना दर्ता गरी विवरणहरुलाई अद्यावधिक गराईराख्न पर्वतको पैयूँ गाउँपालिकाले ‘घट्ना दर्ता सप्ताह’ मनाउन सुरु गरेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आयोजनामा २०७९ वैशाख एक गतेदेखि सात गतेसम्म देशैभरि नै व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिए अनुसार पैयूँ गाउँपालिकाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण सेवा इकाईले पूर्व सचेतना स्वरुप बुधबारदेखि कार्यक्रम सुरु गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार सप्ताहको अवधिमा पैयूँ गाउँपालिकाका सबै वडाहरुमा जन्म, मृत्यू, बसाईँसराईँ, विवाह दर्ता, सम्बन्ध बिच्छेद र गुनासो दर्ता जस्ता व्यक्तिगत घटना दर्तालाई अनिवार्य गरेर अभियानलाई स्पताहव्यापी रुपमा मनाउन लागिएको छ। ‘यो एक हप्ताको सप्ताह त अभियानको प्रचार र सचेतनाका लागि हो। व्यक्तिगत घटनाहरु दर्ता गर्नु नागरिकको कर्तव्य हो। यो अभियानले समयमा नै घटना दर्ता गराउनको लागि प्रोत्सहान गर्ने छ,’ उनले भने, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि पनि व्यक्तिगत घटनाहरु दर्ता गराएको हुनुपर्छ।’

गाउँपालिकाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण सेवा इकाईका एमआइएस अपरेटर मुकुन्द गौतमका अनुसार बुधबार प्रभातफेरि कार्यक्रमको आयोजना गरेर अभियानको सुरुवात गरिएको हो। उक्त प्रभातफेरि कार्यक्रममा गाउँपालिका प्रमुख खगेन्द्र प्रसाद तिवारी, उपप्रमुख जसमती गुरुङ, प्रमुख प्रशासकीय अधिकृत केशव लामिछाने लगायतको सहभागिता रहेको थियो।
पैयूँ गाउँपालिकाले यस अगाडिदेखि नै व्यक्तिगत घट्ना दर्तामा विशेष चासो दिँदै आएको छ। कागजका पानमा उतार्ने गरिएको प्रथालाई निरुत्साहित गर्दै अनलाईनमा नै सिधै अद्यावधिक गर्ने गरी पैयूँका वडामा घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि कार्यहरु पनि पूर्ण रुपमा अनलाईनमा भइरहेका छन्।




